दैवी प्रकोप प्रभावितलाई मन्त्रीको १ महिनाको तलव

रञ्जन भण्डारी
महोत्तरी । प्रदेश नम्बर २ स्थित उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्त्री र राज्यमन्त्रीको एक–एक महिनाको तलव दैवी प्रकोप प्रभावितको राहतको लागि दिने भएको छ ।
मन्त्रालयको मंगलवार बसेको वैठकले मुख्यमन्त्री राहत कोषमा एक एक महिनाको तलव रकम जम्मा गर्ने निर्णय गरेको हो ।
मन्त्री राम नरेश राय र राज्यमन्त्री सुरेश मण्डलको तलव बारा, पर्सा र रौतहतका दैवीप्रकोप प्रभावितलाई दिईने मन्त्रालयले निर्णय गरेको छ । त्यस्तै मन्त्रालय मातहतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले समेत चैत्र महिनाबाट कम्तीमा तिन दिनको तलब उक्त खातामा जम्मा गर्नेछन ।
जनताकर्मीसंग कुरा गर्दै राज्यमन्त्री सुरेश मण्डलले प्रदेश सरकार निरन्तर पिडितको सहयोगको लागि प्रतिवद्ध रहेको बताउनु भयो । उहाले प्रभावित वस्तीहरुको पुनःनिर्माणकै लागि समेत लाग्ने काठमा ९० प्रतिशत सहुलित दिने निर्णय गरिएको बताउनु भयो । बाँकि १० प्रतिशत रकम समेत पिडितबाट नभई अन्य क्षेत्रबाट बन्दोवस्त गर्ने उहाँले बताउनु भयो । साथै प्रदेश २ का जनतामा परेको यो विपदको घडीमा साथ दिन उहाँले सबैलाई आव्हान समेत गर्नुभएको छ ।
चैत्र १७ गते आईतवार राती करिव ८ बजे आएको हावाहुरी (भुमरी)मा परि हालसम्म २८ जनाको मृत्यु भैसकेको छ ।