काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।
जयपुरमा भएको खेलमा राजस्थानले रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गरेको छ । खेलसँगै राजस्थानले आईपीएलको यस संस्करणमा पहिलो जित दर्ता गरेको छ भने बैंग्लोरले अहिलेसम्म कुनै खेलमा पनि जित निकाल्न सकेको छैन ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । बैंग्लोरका लागि पार्थिव पटेल ६७, कप्तान विराट कोहली २३, एबी डीभिलर्स १३, सिमरन हेटमेयर १ रनमा आउट हुँदा मार्कस स्टोनिस ३१ र मोइन अली १८ रन नटआउट रहे । बलिङतर्फ राजस्थानका श्रेयस गोपाल एक्लैले तीन विकेट लिए भने अर्को एक विकेट जोफ्रा आर्चरले लिए ।
जवाफी ब्याटिङ मैदान उत्रिएको राजस्थानले १ बल बाँकी छँदै तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि कप्तान अजिन्के रहाने २२, जस बट्लर ५९ र स्टिभ स्मिथ ३८ रनमा आउट हुँदा राहुल त्रिपाठी र बेन स्टोक क्रमश ३४ र १ रन ल्याएर अविजित रहे । बलिङतर्फ बैंग्लोरका युजवेन्द्र चहलले दुई र मोहम्मद सिराजले एक विकेट लिए ।
४ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिएका राजस्थानका श्रेयस गोपाल प्लेयर अफ द म्याच घोषित भए ।
आजको खेल
प्रतियोगिता अन्तर्गत आज मुम्बई इंडियन्स र चेन्नाई सुपरकिंग्सबीचको खेल हुँदैछ । खेल नेपाली समय अनुसार राती सवा ८ बजे मुम्बइको वाङ्खडे स्टेडियममा हुनेछ । तीन खेल नै अपराजित रहेको चेन्नाई अंकतालिकको शीर्ष स्थानमा छ भने तीनमा एकमा जित र दुईमा हार बेहोरेको मुम्बई पुच्छारबाट दोश्रो स्थानमा छ ।