भ्याटमा बहुदर सम्भव छ, तर अर्थमन्त्रीले झूठ बोल्नु भयो । चैत्र १९ गतेको एक कार्यक्रममा अर्थमन्त्रीले भ्याटमा वहुदर सम्भव नरहेको बताउनु भयो । उहाँले यस सम्वन्धमा माग उठाएर समय खेर नफाल्न पनि उद्योग व्यवसायीहरुलाई भन्नु भयो । तर के भ्याटमा बहुदर सम्भव नरहेको र यसले अर्थतन्त्रलाई नकारात्मक असर गर्ने हो ?
विल्कुलै होइन । भ्याटमा बहुदर सम्भव छ र आवश्यक पनि छ । भ्याटमा बहुदर लागू गर्दा अर्थतन्त्रलाई नकारात्मक असर पर्ने होइन । वरु भ्याटमा एउटै दर राख्ने कांग्रेसको नीतिलाई निरन्तरता दिने वर्तमान अर्थमन्त्रीको सोच नै आर्थिक विकासमा वाधक वनेको छ ।
अहिले भ्याटको दर सबै उद्योग व्यवसायमा १३ प्रतिशत छ । यसले देशमा कुन आर्थिक क्षेत्रको विकासलाई प्राथमिकता दिने भन्ने विषयमा सरकारको नीति नेपाली कांग्रेस र पंच सरकारको जस्तै रहेको देखाउँछ ।
सबैलाई एउटै भ्याट दर लगाउनुको अर्थ अकूत नाफा प्राप्त हुने सजिलो व्यवसायमा मात्र लगानी केन्द्रित हुन प्रोत्साहन दिनु हो । यो भनेको विदेशवाट सस्तो वस्तु आयात गरी महंगोमा बेच्ने व्यापार मात्र नेपालमा फस्टाउन थाल्ने हुन्छ । अहिले यही भैरहेको छ ।
भ्याट दर एउटै लागू गरिरहनु भनेको दलाल तथा नोकरशाही पूँजीवादलाई प्रोत्साहित गरिरहनु हो र देशको आर्थिक क्रान्तिको ढोका बन्द गर्नु हो
आयात व्यापारमा अधिक नाफा र सजिलो हुनेछ । त्यहीकारणले यो व्यवसाय फस्टाएको छ । यसले देशको अर्थतन्त्र धरासायी हुदैछ । व्यापार घाटाले सीमा नाघि सकेको छ । देशलाई चाहिने उद्योग धरासायी हुँदैछ । सरकारले एउटै भ्याद दर लागू गरेर रोजगारीको अवसर वृद्धि गर्ने उद्योग धरासायी बनाउने र थप उद्योग स्थापना गर्न दुरुसाहित गर्ने काम भइरहेको छ ।
भ्याट दर एउटै लागू गरिरहनु भनेको दलाल तथा नोकरशाही पूँजीवादलाई प्रोत्साहित गरिरहनु हो र देशको आर्थिक क्रान्तिको ढोका बन्द गर्नु हो ।
भारतमा भ्याट जस्तै जिएसटी करको दर फरक फरक छ । अर्थमन्त्रीले भारतमा फरक दर हटाएर एउटै वनाउन खोजेको प्रसंगलाई उदाहरण दिएर नेपालमा पनि एउटै दर गर्नु नै ठिक हो भन्ने तर्क गरेका छन् । तर चीनमा भ्याट दर फरक उद्योग व्यवसायलाई फरक दर गरेको र त्यसवाट आर्थिक क्रान्तिलाई ठूलो टेवा पुगेको उदाहरण भने लृकाएका छन् । यो भनेको अर्थमन्त्रीको आर्थिक विकास विरोधीे चालवाजी हो ।
नेपालको तीब्र आर्थिक विकासकोलागि आयात व्यापारमा भ्याट बढाउनु पर्दछ । तर रोजगारी दिने तथा आर्थिक विकासको लागि आवश्यक सबै उद्योगहरुमा भ्याट नै खारेज गरिनु पर्दछ । निर्यात गरिने वस्तु र कृषि उपजमा कांग्रेस सरकार कै बेला भ्याट छुट थियो । कम्युनिष्ट भनिएको सरकारले वास्तविक औद्योगिक क्रान्तिकोलागि नेपाल मै वितरण हुने वस्तु उत्पादन गर्ने उद्योगका लागि भ्याट छुट गर्ने घोषणा गर्नु पर्ने हो । यसले रोजगारी श्रृजना र आयात प्रतिस्थापनमा ठूलो सहयोग हुन्थ्यो । तर अर्थमन्त्री कांग्रेस कै बाटोमा हिँडिरहनु भएकोछ । (श्रेष्ठ पूर्वमन्त्री हुनुहुन्छ)