नेपाली कांग्रेसका अधिकाँश जिल्ला सभापतिले महासमितिको निर्णय अनुसार पार्टी अघि बढ्न नसककोे आरोप लगाउँदै विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान चलाउने चेतावनी दिएका छन् । केही सभापति महासमितिको निर्णय कार्यान्वयन नहुँदा नेतृत्वप्रति असन्तुष्ट छन् । नेतृत्वप्रति रुष्ट बनेका केही सभापतिले भेला नै गरेर महासमितिको निर्णय कार्यान्वयनको लागि दबाब दिएका छन् । प्रस्तुत छ, यही पेरिफेरीमा नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जनता समाचार डटकमको लागि नरेश न्यौपानेसँग गर्नुभएको संक्षिप्त कुराकानी :
कांग्रेस जिल्ला सभापतिहरुको भेलाले के के निर्णय गर्यो ?
हामीले पार्टी सभापति र वरिष्ठ नेताज्यूहरुले महासमितिको वैठकमा जनाएका प्रतिवद्धताको कार्यान्वयन चाहेका थियौं । तर आफैले जनाएका प्रतिवद्धतालाई नेताहरुले बिर्सिएपछि हामी जिल्लाका सभापतिहरु पुनः भेला गर्न बाध्य भएका हौं । हामीले केन्द्रीय सदस्यहरु पनि महाधिवेशनमा सहभागी हुन बुथबाटै निवाृचित भएर आउनुपर्ने र समानुपातिक आरक्षण कोटामा मनोनित गर्दा निरन्तर रुपले एकपटकसम्म मात्रै गर्नुपर्ने विषयलाई उठाएका छौं । पार्टीका भातृसंगठन भताभुङ्ग अवस्थामा छन् । भातृसंगठनको समयमै अधिवेशन गरेर नेतृत्व निर्माण गर्नुपर्छ भनेका छौं । सभापतिहरुको हेटौंडा भेलाले अघिल्लो वर्ष नै माग गरेको प्रशिक्षण वर्ष अब आगामी वर्षलाई बनाइयोस् भनेर नेतृत्वको ध्यान आकर्षण गराएको छ । त्यस्तै, पार्टीले सरकारविरुद्ध देशभर जागरण अभियान सञ्चालन गरोस् भनेर सुझाव दिएका छौं ।
तर तपाईहरुको यो भेला, पार्टीका एकपक्षीय सभापतिको मात्रै भयो भनिदैछ नि ?
त्यस्तो होइन । हामीले देशैभरिका सभापतिहरुको भावनालाई समेटेर निर्णय गरेका छौं । विशेष कारणवश भेलामा आउन नसकेका सभापतिहरुको भनाइ पनि यिनै हुन् । हामीलाई पक्ष, विपक्ष वा कुनै गुटको सरोकार छैन । केवल पार्टीको विधानमा जे छ, त्यसको कार्यान्वयन गर्नुपर्छ भन्ने हो । देशभरका सबै सभापतिहरुको धारणा पनि यही हो । उहाँहरु आफ्नो जिल्लाको कार्यक्रममै व्यस्त भएकोले सबैजनाको सहभागिता हुन नसकेको हो ।
महाधिवेशनको पूर्व तयारी त होइन ?
यो भेला त्यस्तो होइन । बरु आगामी महाधिवेशनलाई समयमै सम्पन्न गर्न, हामीले उठाएका विषयलाई विधानमा समावेश गर्न र समयमै क्रियाशील सदस्यताको वितरण गरेर महाधिवेशनको शीघ्र तयारी गर्न पार्टी नेतृत्वलाई सचेत पार्ने उद्देश्यले आयोजना गरिएको हो ।
तर पार्टी नेतृत्वले यहाँहरुले उठाइरहेको विषयलाई खास्सै चासोे लिएको देखिदैन ?
त्यही भएर त हामीले भेला बोलाउनुपरेको हो । नेतृत्वको चाकडीमा व्यस्त दुई चार जना व्यक्तिहरुले पार्टी सञ्चालन गर्न खोज्दा यस्तो अवस्था उत्पन्न भएको हो । देशभरिका जिल्ला सभापतिले दिएका सुझावलाई बेवास्ता गर्दा पार्टीभित्र सभापति शेरबहादुर देउवाको लोकप्रियता खस्किँदै गएको छ छ । नेताको चाकडीमा रमाउनेहरुले नेपाली कांग्रेस बिगारेका छन् । हामी पार्टी सपार्न चाहन्छौं ।
नेतृत्वले यहाँहरुको मागलाई बेवास्ता गर्यो भने के गर्नुहुन्छ ?
५६ जिल्लाका सभापतिहरुकोे फागुन २१ गतेको भेलाले महासमितिको भावनालाई समेट्न लिखित आग्रह गरेको छ । आजसम्म पनि निर्णय नसच्याइएपछि विशेष महाधिवेशनको माग गरिने अल्टिमेटम दिएका छौं । फेरि पनि पार्टीमा विशेष महाधिवेशनको माग गर्नु नपरोस् भन्ने कुरामा हामी सचेत छौं । २३ चैतमा बस्ने केन्द्रीय समितिको बैठकले निर्णय सच्याउने छ भन्ने अपेक्षा छ । तर फेरि पनि हाम्रा मागलाई बेवास्ता गरियो भने ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर पार्टी विधान बमोजिम विशेष महाधिवेशनको माग गरिनेछ ।