काठमाडौं । यी लियाङ । एक जना चिनियाँ लेखक । जो पछिल्लो पाँच वर्ष नेपालमै छन् । २०७२ मा गएको महाविनासकारी भूकम्प पनि महसुस गरेका थिए उनले । त्यो पीडाबाट माथि उठिरहेको नेपालमा फेरि तराई मधेसको बारा पर्सामा हावाहुरीले कयौँको जीवन ढल्यो, कयौँको आश्रयस्थल भग्नावशेष बने, त्यहाँका पीडित प्रभावितलाई सहयोग मागे सामाजिक सञ्जालमा । केही दिनमै जुट्यो २ लाख रुपैयाँ । र, बुझाए गृहमन्त्री रामबहादुर थापालाई ।
यी नेपालसहित दक्षिण एसियामा रहेर क्रियाशील सिद्धहस्त चिनियाँ ट्राभल राइटर हुन् । उनले वि च्याट ब्लगमार्फत सहयोग जुटाएका हुन् । उनी लगानी सम्मेलनमा पनि सहभागी थिए । उनले पूर्वको विराटनगरदेखि पश्चिमको बर्दियासम्म तराई मधेसका विभिन्न भूगोल पनि घुमेका छन् । नेपाली रहनसहन र संस्कृतिलाई प्रेम गर्छन् ।
तराईमा हावाहुरीबाट ६ सय भन्दा बढी घाइते भएको खबरपछि यीले सहयोगको अपिल गरे । ‘मेरो मन पर्ने मिथिला संस्कृति र जानकी मन्दिर भएको प्रदेशमा हावाहुरीले कयौँको जनजीवन प्रभावित भयो, कयौँ घरबारविहीन भए, त्यहाँका जनजीवन फेरि सामान्य बनाउन केही सहयोग जुटाउन चाहन्छु,’ यी ले वि च्याटमा लेखे, ‘मसला सोडा, होली संस्कृति भएको बस्तीमा आएको वितण्डाबाट जनजीवन सामान्य बनाउन हामीले सहयोग गर्नु पर्छ ।’
यीको बुझाइ छ, ‘मिथिला सभ्यता यस्तो भूगोल हो, जहाँ प्रतिकुल मौसम हुँदा र गरिबीमा पिल्सिँदा पनि जनजीवन हाँसीखुशीमा रमाउन अभ्यस्त छ ।’ बारा पर्साका हावाहुरी पीडितलाई सहयोग गर्ने यी पहिलो चिनियाँ नागरिक हुन् । उनले चिनियाँ समुदायमा अपिल पनि गरेका छन् कि यस्तो बेला मिथिला बस्तीमा सहयोग जरुरी छ ।
तस्बिरः गृहमन्त्री रामबहादुर थापालाई रकम बुझाएपछि तस्बिर खिचाउँदै यी लियाङ (दायाँ) ।