पाल्दोर पिकको सामुहिक आरोहण

काठमाडौं । नौ कोरियन, पाँच नेपाली र दुई मंगोलियन संयुक्त आरोहण समूहले गणेश हिमाल अन्तर्गत पर्ने पाल्दोर पिकको आरोहण गर्ने भएका छन् ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल पर्वतारोहण संघ एनएमएले सिंगी लामाको नेतृत्वमा पाल्दोर पिक आरोहण गर्ने निश्चित भएको जानकारी दिएको छ । धादिङको पर्यटनका साथै पाल्दोर पिकको प्रबद्र्धनका लागि आरोहण निश्चित गरिएको संघको भनाई छ । पाल्दोर पिक खुलेको रजतजयन्तीको अवसरमा आरोहण हुन लागेको हो ।
अप्रिल ७ मा ९ कोरियाली र २ नेपाली गरी ११ जनाले १० दिनको प्याकेज बनाई काठमाडौंबाट यात्रा गर्नेछन् । उक्त टिम काठमाडौंबाट स्याफ्रुबेंसी, गत्लाङ, सोम्दाङ, रुबी भ्याली हुँदै ५ हजार ९ सय ३ मिटरको उचाइ रहेको पाल्दोर पिक पुग्नेछ ।
समूहले पाल्दोर पिकमा रहेका फोहोरहरु संकलन गरेर ल्याउने र नेपाल भ्रमण वर्ष २०२० को झण्डासहितको लोगो पाल्दोर पिकमा फहराउने छ । एनएमएले खोलेका पिकहरुमध्ये पाल्दोर पिक राजधानीबाट सबैभन्दा नजिकै पर्ने र यातायात सुविधा पनि भएकाले यसैलाई छनोट गरिएको एनएमएले जनाएको छ ।