काठमाडौं । राजधानीबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक विषयका समाचारहरुलाई आफ्नो शिर्ष समाचारका रुपमा छापेका छन् ।
आइतबार जनतासमाचार डटकममा पुँजीगत खर्च बढाउन खानेपानी मन्त्रीको निर्देशन, भिक्षु अश्वघोषको राजकीय सम्मानका साथ अन्त्येष्टि, परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन र ललितपुरमा अन्तराष्ट्रिय व्यापार मेला’ लगायतका विभिन्न शिर्षकमा समाचार प्रकाशित भए ।
कान्तिपुर दैनिकले संसारभर आइतबार स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा सरकारी चिकित्सकको आन्दोलनका कारण एक लाख भन्दा बढी बिरामीले उपचार नपाएको समाचारलाई प्रमुख समाचारको रुपमा छापेको छ । चिकित्सकहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार आन्दोलनका कारण मुलुकभरका स्वास्थ्यसेवामा सेवा प्रभावित भएको हो । तर सरकारले भने वार्ताको कुनै पहल नगरेको समाचारमा उल्लेख छ ।
‘बिरामीको बिचल्ली’ शिर्षकमा अन्नपूर्ण पोष्ट दैनिकले पनि ‘स्वास्थ्यसेवामा सर्वव्यापी पहुँच’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइरहेका बेला मुलुकका सरकारी अस्पतालमा उल्टो अवस्था देखिएको समाचार प्राथमिताका साथ छापेको छ । समाचार अनुसार डाक्टरले अपरेसन गरिदेलान कि भन्ने आशामा ट्रमा सेन्टरमा भर्ना भएकी ४५ वर्षीया धनदेवी बलायर भोकै बसेर उपचारका लागि डाक्टर कुरिरहेको समाचार छ ।
राजधानी दैनिकले ‘ढिलो फैसला लेखनले न्याय पाउन ढिलाइ’ शिर्षकमा प्रकाशित गरेको प्रमुख समाचारमा ८ हजार मुद्दाको फैसला हुँदा पनि जनताले अनुभूत गर्न नपाएको विषय उल्लेख छ । समाचारमा फास्ट ट्रयाकबाट न्याय दिनुपर्ने माग उठिरहेको अवस्थामा गरिएका फैसला लेख्नै ढिला हुँदा न्यायको आशामा बसेका पीडितहरुले न्याय पाएको अनुभूती गर्न नसकेको विषय समेटिएको छ ।
नागरिक दैनिकले ‘मर्कामा सुदूरपश्चिम’, ‘नामसारी निर्णय खारेज गर्न सिफारिस’ र ‘नेकपा एकिकरणमा विवाद’ गरि छुट्टाछुट्टै शिर्षकमा उत्तिकै प्राथमिकताका साथ समाचारहरु प्रकाशित गरेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशको भागमा परेका आठजना मेडिकल अधिकृतमध्ये दुईजना प्रदेश र ६ जना स्थानिय तहमा समायोजन गरिएको, बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवनस र त्यसले चर्चेको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने सबै निर्णय मन्त्रिपरिषदबाट खारेज गर्न छानविन समितिले सरकारलाई सिफारिस गरेको र नेपाल कम्युनिष्ट पार्टी नेकपामा असन्तुष्ट पक्षसँग बेग्लाबेग्लै भेट गरेर शिर्ष नेतृत्वले विवाद समाधान गर्न पहल थालेका समाचारहरु समेटिएका छन् ।
नयाँ पत्रिका दैनिकले ‘सरकारी अस्पताल ठप्प, सरकार मौन’ शिर्षकमा आफ्नो मुलपृष्ठमा समाचार छापेको छ । समाचार अनुसार कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण दिनमा ४५ हजार बिरामी आउने देशैभरका सरकारी अस्पतालको बहिरंग सेवा तीन दिनदेखि अवरुद्द हुँदा पनि सरकार मौन देखिएको छ ।