स्टम्पमा लाग्यो, बत्ति बल्यो, तैपनि नटआउट ! (भिडियोसहित)

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा एउटा गज्जबकै घटना भयो ।
आइतबार कोलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल राजस्थानको जयपुरमा भयो । खेलको चौथो ओभरमा राजस्थान रोयल्सका बलर धवल कुलकर्णी बलिङका लागि आए । सो समयमा कोलकत्ता नाइट राइडर्सका ब्याट्सम्यान क्रिस लिनको ब्याटिङ गर्ने पालो थियो ।
कुलकर्णीले चौथो ओभरको दोश्रो बल बलिङ गरे । कुलकर्णीको बल क्रिस लिनको लेग स्टम्पलाई छोएर गयो । जसको गज्जबको आवाज पनि आएको थियो । स्टम्पमा बल लागेको आवाज यसरी आएको थियो की ब्याट्सम्यान क्रिस लिन पनि आउट भएको भन्ठानेर केही पाइला अघि बढीसकेका थिए तर त्यहाँ उनी आउट भएका थिएनन् ।
कुलकर्णीले बलिङ गरेको तीव्र गतिको बलले लेग स्टम्पलाई छोयो, स्टम्पमा छोएसँगै त्यहाँको बत्ति पनि बल्यो तर स्टम्पको बेल भने झरेन । जसकारण क्रिस लिन आउट भएनन् । हेर्नुहोस् भिडियोः
आइतबार भएको खेलमा कोलकत्ता नाइट राइडर्स ८ विकेटले विजयी भयो । राजस्थानले दिएको १ सय ३९ रनको लक्ष्य कोलकत्ताले १३ दशमलव ५ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । कोलकत्ताका लागि क्रिस लिनले सर्वाधिक ५० रन बनाए । यस्तै सुनिल नराइन ४७ रनमा आउट हुँदा रविन उथप्पा २६ र सुबमन गिल ६ रनमा नटआउट रहे ।