बर्थ डे सेलिब्रेसनः कसिएको गाँठो फुक्छ कि ?

खेम बम
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता भएको करिब ११ महिना बितिसकेको छ । शीर्ष तहमा एकता मजबुद बन्दै गएपनि तल्ला तहमा अझै एकता प्रक्रिया टुंगिन सकेको छैन ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकतालाई छिटो टुंगोमा पुर्याउन कसरत जारी राखेका छन् । पछिल्लो समय कार्यकर्ता पंक्तिबाट शीर्ष नेतृत्वप्रति आलोचना बढ्दै गएपछि एकतालाई अन्तिम रुप दिन दुवै अध्यक्षले अनौपचारिक छलफल थालेका छन् । शीर्ष तहका सचिवालयका नेताहरुको विश्वास जितेर नेतृत्वलाई टुंग्याउन दुवै अध्यक्षबीच लबिङ भइरहेको छ ।

सचिवालय र स्थायी कमिटीको स्वीकृती विपरित एकता प्रक्रियालाई अगाडि बढाए केही शीर्षस्थ नेताले समानान्तर कमिटी घोषणा गर्ने चेतावनी दिनुभएको छ । सोही अनुरुप नेतृत्व लचिलो भएर निर्णय लिइरहेको नेकपाका नेता बताउँछन् ।
पटक–पटक गठन गरिएका एकता कार्यदल र अन्य समितिले पेश गरेको प्रतिवेदनमा सहमति नजुटेपछि अध्यक्षद्वयको जिम्मामा ठूलो चुनौति देखा परेको छ । नेताहरुको विश्वास जितेर तल्लो तहको कमिटीलाई एकताको अन्तिम चरणमा पुर्याउन अहिले अध्यक्ष नै अगाडि सरेको देखिन्छ । कम्युनिष्ट स्थापना दिवशको अगावै उपत्यका कमिटी घोषणा गर्ने तयारी रहेको नेकपा स्रोत बताउँछ । प्रदेश कमिटी बने लगत्तै जिल्ला, निर्वाचन क्षेत्र, नगर र गाउँ कमिटी पनि आ–आफ्नै ढंगले गठन भइसकेका छन् । तर प्रदेश कमिटीको शपथ नहुँदा तिनको घोषणा हुन ढिलाइ भइरहेको समेत स्रोत बताउँछ । नेकपाका अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवश आसपासमा सबै तहका कमिटी घोषणा भइसक्ने बताउँदै आउनु भएको छ ।
पोखरेलको बर्थ डे
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको आज जन्मदिन प्रधानमन्त्री निवास बालुवाटार मनाइयो । सोमबार बिहानै प्रधानमन्त्री ओलीले मन्त्री पोखरेललगायतका अन्य पार्टीका शीर्षस्थ नेताहरुलाई एकताकै बिषयमा छलफल गर्न बालुवाटार बोलाउने कार्यक्रम थियो । यहीँ अवसरमा ‘बर्थ डे’ समेत सँगै मनाइएको छ ।

उसो त अध्यक्ष ओलीले ‘बर्थ डे’ मनाउनकै निम्ति उपप्रधानमन्त्री पोखरेललाई बालुवाटार डाक्नु हुन्थ्यो, हुन्थेन तर आज बिशेष अवसरमा एकताका कसिला गाँठा फुकेकी भन्ने अनुमान गर्न सकिन्छ ।