घुस प्रकरणप्रति प्रदेश २ को ध्यानाकर्षण

सप्तरी । भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीहरुको घुस बिना कामै नगर्ने प्रवृतिप्रति प्रदेश २ सरकारको ध्यान केन्द्रीत भएको छ । सेवाग्राहीले गुनासो गरिरहेकै वेला हिजो (सोमबार) मात्रै एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुस रकमसहित पक्राउ गरेपछि प्रदेश सरकारको ध्यान केन्द्रीत भएको हो ।
मंगलबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह नेतृत्वको टोलीले कार्यालयको निरीक्षण गर्नुभएको छ । घुस लिएर काम गर्ने प्रवृति मौलाएको विषयमा कर्मचारीहरुलाई सचेत गराउँदै मन्त्री साहले संघीय सरकारको वेवस्ताका कारण कर्मचारीको पनि अभाव देखिएको बताउनुभयो ।
मन्त्री साहले कर्मचारी अभावका कारण सेवाग्राहीलाई सास्ती खेप्नुपरेको भन्दै कर्मचारी परिपूर्ति गर्न आफूले तत्काल संघीयसमक्ष कुरा राख्ने बताउनुभयो । कार्यालयमा यसअघि गत फागुन ५ गते पनि अख्तियारले ३ हजार घुस रकमसहित एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको थियो ।