खेम बम
काठमाडौं । भारतमा लोकसभा चुनावको सरगर्मी छ । विभिन्न पार्टीले आआफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । जनमत आफ्नो पोल्टामा पार्न कसरत गरिरहेका छन् । केही पार्टीका घोषणापत्र नागरिकलाई चकित पार्ने छन् । निर्वाचन जिते घर–घरमा रक्सी, मासु फ्रिमा उपलब्ध गराउनेसम्मका । नेपालमा यो विषय नौलो भए पनि भारतमा यसको खासै विरोध देखिन्न ।
भारतमा १७ औँ लोकसभा निर्वाचन ७ चरणमा हुने छ । अप्रिल ११ गतेदेखि शुरु हुने निर्वाचन मे १९ सम्म चल्नेछ । अप्रिल ११ अर्थात् बिहीबारदेखि पहिलो चरणमा मतदान हुँदैछ । २० राज्यका ९१ सिटका लागि मतदान हुनेछ । अप्रिल १८ मा १३ राज्यका ९७ सिटका लागि दोस्रो चरणको मतदान हुनेछ भने अप्रिल २३ मा १४ राज्यका १ सय १५ सिटका लागि मतदान हुँदैछ । चौथो चरणमा अप्रिल २९ का दिन ९ राज्यका ७१ सिटका लागि मतदान हुनेछ । मे ६ मा ७ राज्यमा ५१ सिटका लागि मतदान हुनेछ । मे १२ र मे १९ मा हुने छैठौँ र सातौँ चरणमा क्रमशः ७ र ८ राज्यका ५९–५९ सिटका लागि मतदाताले भोट खसाल्ने छन् । ५ सय ४३ सिटका लागि हुने मतदानका लागि करिब ९० करोड योग्यता पुगेका मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
सीमामा कडाइः
लोकसभा निर्वाचन मिति नजिकिँदा भारतले सीमा नाकामा कडाइ गरेको छ । नेपाल–भारत आवतजावतमा चेकजाँच कडा गरिएको छ । नेपाल–भारत सिमाना क्षेत्र नजिकका निर्वाचन क्षेत्रहरुमा नेपालका मानिसले महत्वपूर्ण भूमिका निभाउँछन् । नेपालका धेरै मानिस महाराजगञ्ज, सिद्धार्थनगर र गोरखपुरमा बस्छन् । भारतका नागरिक बनिसकेका उनीहरुको नेपालमा समेत व्यवसाय छ । उनीहरुका परिवार नेपालमा पनि बस्छन् । नेपाल–भारत सीमाना वारपार बस्ने मानिसबीच ‘रोटी र बेटी (अन्न र विवाह) सम्बन्ध’ हुन्छ भन्ने भनाइ पुरानो हो । तर पछिल्लो समय दुई देशका नागरिकलाई चुनावले पनि जोड्ने गरेको छ ।
भारतमा हुने लोकसभा चुनाव, विधानसभा निर्वाचनदेखि स्थानीय ‘पञ्चायतको छनौट’मा पनि दोहोरो नागरिकता लिनेले महत्वपूर्ण भूमिका निभाउँछन् । यो समूहले छिमेकी देशमा बसेर भारतमा हुने निर्वाचनलाई प्रभावित गर्छन् । हालको लोकससभा चुनावका लागि आफ्नो पक्षमा भोट लिन केही उम्मेदवारले आफ्ना नातेदारमार्फत नेपालमा रहेका आफ्ना मतदातासँग सम्पर्क शुरु गरिसकेका छन् । चुनावसम्म उम्मेदवार पनि कुनै न कुनै हिसाबमा तिनको सम्पर्कमा पुग्छन् ।
को–को लड्दैनन् चुनावः
आसन्न लोकसभा निर्वाचनमा भारतीय राजनीतिमा ठूला हस्ती मानिएका केही नेताहरु यसपटक उम्मेदवार नबन्ने भएका छन् । उनीहरु स्वेच्छाले नै निर्वाचनमा सहभागी नहुने भएका हुन् । राजनीतिक माहोल बुझेर उनीहरुले यसपटक उम्मेदवारी नदिएको हुनसक्ने अनुमान छ । उम्मेदवारी नदिनेमा राष्ट्रवादी कांग्रेसका प्रमुख शरद पवार, लोक जनशक्ति पार्टीका रामविलास पासवान, वर्तमान विदेशमन्त्री सुषमा स्वराज, उमा भारतीले चुनाव नलड्ने भएका हुन् ।
कस्तो छ भाजपाको स्थितिः
दक्षिण एसियाका आठै मुलुकमा यतिबेला आआफ्नै विशेषताको लोकतान्त्रिक शासन पद्धति छ । हालै बंगलादेश, माल्दिभ्स, भुटान र पाकिस्तानमा निर्वाचनपश्चात् सरकार गठन भएका छन् । नेपालमा बहुमतीय सरकार गठन भएको वर्षदिन पुगेको छ भने श्रीलंका अर्को निर्वाचनको तयारीमा छ । अफगानिस्तानमा पनि निर्वाचित सरकार छ । आगामी चार–पाँच वर्षका लागि दक्षिण एसियामा राजनीतिक स्थिरता छ । दक्षिण एसियाको सबैभन्दा ठूलो देश भारतको निर्वाचनको चर्चा र चासो सबैतिर छ ।
यसले भारतको राजनीति मात्र होइन, दक्षिण एसियाका अन्य देशभित्रको आन्तरिक राजनीतिक शक्ति सन्तुलन र समग्र दक्षिण एसियाको भूराजनीतिमा नै तरंग ल्याएको छ । लोकसभा निर्वाचनमा ९० करोड भारतीय मतदाताले मत खसाल्नेछन् । युरोपको पूरै जनसंख्याभन्दा पनि यो संख्या बढी हो । भारतमा चैत २८ देखि जेठ ५ सम्म सात चरणमा लोकसभा निर्वाचन तय भएको छ भने जेठ ९ गते निर्वाचन परिणाम घोषणा हुनेछ । सात चरणमा सम्पन्न हुने ६ हप्ते कार्यतालिका आइसकेको छ । अघिल्लोपटकको निर्वाचनमा ३९ अर्ब रुपैयाँ खर्च भएको थियो । भारतमा करिब डेढ करोड नयाँ मतदाता छन् ।
प्रधानमन्त्री मोदीको अवस्थाः
भाजपाको निर्वाचनस्थितिको विषयलाई लिएर विभिन्न मुलुकमा बहस हुन थालेको छ । प्रतिपक्षी भारतीय कंग्रेसले यसपटक भाजपालाई टक्कर दिने देखिएको छ । भाजपाको बहुमत नआए वा भाजपाको सत्तारुढ गठबन्धनले सरकार बनाउन नसक्ने भए आगामी सत्ता समीकरण कस्तो बन्ला ? यो विषयसमेत पेचिलो बन्दै गएको छ ।
चर्चाको केन्द्रमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी छन् । भाजपा एक्लै वा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले बहुमत प्राप्त गरे प्रधानमन्त्री नरेन्द्र मोदी दोहोरिने पक्का देखिन्छ । तर, कंग्रेससहित विपक्षीको एकीकृत प्रगतिशील गठबन्धन (युपिए)ले सरकार निर्माण गर्ने अवस्था आए प्रधानमन्त्रीका उम्मेदवार अझै तय भएको छैन । तीनजना नेता प्रधानमन्त्रीका लागि दाबेदार देखिन्छन्, राहुल गान्धी, ममता बनर्जी र मायावती । युपिएमा क्षेत्रीय दल हावी भएको अवस्थामा मायावती प्रधानमन्त्रीका बलियो उम्मेदवार हुने छिन् । सन् २०१६ को सर्जिकल स्ट्राइकले युपीमा भाजपाले विजय हात पा¥यो, भाजपा यतिबेला बालाकोटमा गरिएको एयर स्ट्राइकलाई भोटमा परिणत गर्ने प्रयत्नमा छ ।
भाजपाका चुनौतिः
भाजपाले अघिल्लो निर्वाचनमा दुई सय ८२ सिट प्राप्त गरेको थियो । भाजपाले पाकिस्तानसँगको एयर स्ट्राइक, राममन्दिर निर्माण, सरकारले पाँच वर्षमा गरेका मध्यमवर्गीय र निम्नवर्गीय जनतालक्षित कामको प्रचारबाजी तीव्र पारेको छ । पाकिस्तानमा गरेको एयर स्ट्राइकले सिर्जना गरेको राजनीतिक माहोलले एक महिनासम्म भाजपालाई लाभप्रद हुने देखिन्छ । निर्वाचन आयोगले चुनावको मिति घोषणा गर्ने बेलासम्म सबै सञ्चारमाध्यम मोदीको चार वर्षमा भएको भनिएका प्रगतिको फेहरिस्तले रंगिएका छन् । अहिले उत्तर प्रदेशमा सबैको ध्यान खिचिएको छ । समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धन अनि भाजपाविरोधी मुस्लिम सेन्टिमेन्ट भाजपाका लागि चुनौति बनेको छ ।
कंग्रेसको स्थिति कस्तो छ ?
भारतको पूर्व, पश्चिम, उत्तर, दक्षिण र उत्तरपश्चिम ५ वटै प्रदेशमा न भाजपाको न त कंग्रेसको स्थिति सुविधाजनक छ । दक्षिणका ४ राज्य तामिलनाडु, आन्ध्र प्रदेश, तेलंगाना, केरला र कर्णाटकमा यी राष्ट्रिय पार्टीको भूमिका दोस्रो स्थानमा छ । दुवैले स्थानीय दललाई सघाएका छन् । पूर्वी क्षेत्रको स्थिति पनि त्यस्तै हो । पश्चिम बंगालमा ममता बनर्जी र उडिसामा नवीन पटनायकको एकछत्र राजनीतिक जगजगी छ । पश्चिमी राज्य महाराष्ट्र र गुजरातमा दुवै राष्ट्रिय दल निर्वाचनमा प्रत्यक्ष लड्दैछन् तर त्यहाँ भाजपाको तुलनामा कंग्रेसको स्थिति यसपटक मजबुत देखिएको छ । उत्तर पूर्वका ८ राज्यसँग कुल २५ सिट छ, जबकी आसाम एक्लैको १४ सिट छ भने बाँकी ७ वटा राज्यमा कसैको १ कसैको २ सिट मात्र छ ।
नेपालसित जोडिएको सिक्किममा विधानसभाको ३२ सिट भएर पनि लोकसभाको लागि मात्र १ सिट पाएको छ । हिमाली राज्य त्यहाँ दशकौँदेखि प्रान्तीय दलले नै सरकार चलाउँदै आएको छ, राष्ट्रिय पार्टी कंग्रेस र भाजपाको अस्तित्व नाममात्रको छ । अहिलेसम्मको सरगर्मी हेर्दा मोदी हुन् वा राहुल गान्धी दुवै सरकार गठन गर्ने सहज पोजिसनमा देखिँदैनन् । विभिन्न कारण देखाइ प्रान्तीय राजनीतिका खेलाडी, जसले भाजपाको सरकारलाई समर्थन दिँदै आएका थिए, तर अहिले पछि हट्दैछन् ।
विगतको भन्दा अबको निर्वाचनको परिदृश्य भिन्न छ । गत निर्वाचनमा कंग्रेसको स्थिति कमजोर थियो । प्रान्तीय पार्टीहरु आपसमा लडेर छिन्नभिन्न भएका थिए । अहिले स्थिति सुध्रिएको छ । तर नतिजा कुर्नैपर्छ ।