काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका त्यागी नेता हर्कबहादुर शाहीको निधन भएको छ । लामो समयदेखि उपचारार्थ उहाँको मंगलबार धापासीस्थित निवासमा निधन भएको हो ।
शाही विभिन्न शारीरिक समस्याले लामो समयदेखि ग्राण्डी अस्पतालमा उपचारार्थ रहनुभएको थियो । केही समयदेखि डक्टरको सल्लाह अनुसार उहाँ आराम गरिरहनुभएको थियो ।शाहीको जन्मथलो पश्चिम दैलेख हो । उहाँलेले आफ्नो जीवनकालभरी कम्युनिष्ट आन्दोलनलाई निश्वार्थ सहयोग गर्नुभयो ।
शाही दैलेखको कम्युनिष्ट पार्टीका संस्थापक नेताका रुपमा समेत चिनिनुहुन्छ । उहाँको ७३ वर्षको उमेरमा निधन भएको बताइएको छ । शाही पछिल्लो समय मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) पार्टीमा आवद्ध रहनुभएको थियो ।
क्रान्तिकारी माओवादीको पोलिटव्यूरो सदस्यका रुपमा सामाजिक व्यवस्था परिवर्तनको आन्दोलनमा शाहीले योगदान गर्दै आउनुभयो । नेता शाहीको मृत्युको खबर पाए लगत्तै क्रान्तिकारी माओवादीका महासचिव किरणलगायतका नेता, कार्यकर्ताहरुले शोकाकुल परिवारजनसँग भेटघाट गरेका थिए ।
नेता शाहीको निधनले क्रान्तिकारी आन्दोलनमा अपुरणिय क्षति पुगेको भन्दै महासचिव किरणले शोकाकुल परिवाजन र पार्टी पंक्तिमा परेको पीडालाई शक्तिमा बदल्दै मृतक शाहीले देखेको साम्यवादी लक्ष्यमा अविचलितभै अघि बढ्नुपर्ने बताउनुभयो । महासचिव किरणले निरन्तर क्रान्तिको बाटोबाट नेता शाहीले देखेको सपना पुरा गर्न सकिने भन्दै मृतक प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन तथा पार्टी पंक्तिमा समवेदना व्यक्त गर्नुभएको छ ।
बुधबार क्रान्तिकारी माओवादीको ललितपुरको कुपण्डोल स्थित प्रदेश नम्बर तीनको कार्यालयमा पार्टीले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, कम्युनिस्ट अन्दोलनका अग्रज व्यक्तत्व, सामाजिक अभियन्ता, पत्रकारहरुको उपस्थिति थियो । मृतक शाहीको पार्थिव शरिरमा महासचिव किरणले पार्टीको झण्डा ओढाएर बिदाई गर्नुभएको छ ।
शाहीको पार्थिव शरिरलाई आजै दिउँसो करिब तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ।