बिस्केट जात्रा शुरु (फोटोफिचर)

नारायण थापा
भक्तपुर । नयाँवर्षको आगमनसँगै नौ दिनसम्म तान्त्रिक विधि अनुसार मनाइने प्रसिद्ध बिस्केट जात्रा बुधबारबाट शुरु भएको छ ।

आज साँझ भैरबको रथ तानेर शुरु भई बैशाख ५ गते साँझ पुनः भैरबकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरब र भद्रकालीको रथ निर्माण कार्य सम्पन्न भएको छ । जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न नगरपालिका, प्रहरी, प्रशासन र सरोकारवालाहरुले आवश्यक समन्वय गर्दै आवश्यक तयारी गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको बिस्केट जात्रा मर्यादित, शान्तिपूर्ण र अनुशासित रुपमा सम्पन्न गर्न सबै निकायको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक भूमिका खेल्ने बताउदै जात्रामा भएका विकृतिलाई हटाउँदै संस्कृतिलाई अगाडि बढाउन स्थानीय बासिन्दा सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिस्केट जात्राको व्यवस्थापन निकै चुनौतिपूर्ण रहेको बताउदै जात्रालाई शान्तिपूर्ण बनाउन सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले विगतका वर्षहरुमा भएका कमजोरीहरुलाई समिक्षा गर्दै आवश्यक सुरक्षा व्यबस्था मजबुद बनाउने बताउनुभयो ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सरोकारवाला निकायका व्यक्तिहरुले जात्रामा भैरबको रथ तान्न प्रयोग हुने मार्गको तयारी पुरा भएको छ । रथ लैजाने रुटमा अब्यस्थित रुपमा रहेका तारहरु व्यबस्थित गरिने, निर्माण सामग्रीहरु पन्छाएर व्यवस्थित गरिएको छ ।

