जंगली जनावरको आतंक, एक्लै हिँड्नै मुस्किल

सुखिलाल चौधरी
उदयपुर । बढ्दो वन विनाशसँगै जंगली जनावरको बासस्थान डढेलोले मासिँदै जान थालेपछि जंगली जीवजन्तुहरु गाउँ पसेर आतंक मच्चाउन थालेका छन् । गएको एक महिनाभित्र जंगली जनावरको बासस्थान तथा आहार डढेलोले मासिन थालेपछि बाँदर, भालु, बदेल, हात्ती लगायतका जनावरहरु गाउँमा पसेर आतंक मचाउन थालेका हुन् ।
फागुन २८ गते कटारी नगरपालिका –१ बस्ने ७७ वर्षीय वृद्ध नैनबहादुर पहाडी नेवार घाँस काट्न जंगल गएको समयमा भालुको आक्रमणबाट घाइते भएका थिए । घर नजिकैको जंगलमा वृद्ध नेवारलाई भालुले आक्रमण गरेको थियो । उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भैरहेको छ ।
चैत ९ गते चौदण्डीगढी नगरपालिका– ५ सिवाईमा भालुको आक्रमणबाट स्थानीय २६ वर्षीय घुरन सदाय र अर्का २५ वर्षीय मनिस राई घाइते भएका थिए ।
‘एक्लै हिड्डुल गर्नैहुन्न झम्टिहाल्छ । बारीमा लगाएको खेती त नष्ट गर्यो, घरमा राखेको अन्न पनि लिएर जान्छ, वडा अध्यक्ष निरबहादुर आले मगरले भन्नुभयो, ‘भान्छामा पकाएर राखेको भातसमेत खाइदिने गरेकाले दिउँसै ढोका थुनेर बस्नु परेको छ ।’
डिभिजन वन कार्यालय गाईघाट प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार ६० भन्दा बढी सामुदायिक वन गरी करिव सात हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । वन्य जन्तु क्षतिपूर्ति राहत निर्देशिका २०७३ ले १४ प्रकारका वन्यजन्तुले क्षति पुर्याए वापत् किसानले राहत पाउने व्यवस्था नीतिगत रुपमै राखिएको भएपनि बाँदरको विषयमा कुनै व्यवस्था नरहेको डिभिजन प्रमुख आचार्यले बताउनुभयो ।
बाँदर नियन्त्रण रणनीतिबारे सुझावको लागि प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयले प्रभावित क्षेत्र तथा अन्य बाँदर नियन्त्रण सम्बन्धि सुझाव माग गरिएकोले यस कार्यालयले केही सुझाव पठाएको डिभिजन प्रमुख आचार्यले जानकारी दिनुभयो ।
बाँदर नियन्त्रण कार्ययोजना प्रदेश मन्त्रालयमा पेश
डिभिजन वन कार्यालय गाईघाटले प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयमा बाँदर नियन्त्रण कार्ययोजना पेश गरेको छ । कार्ययोजनामा बाँदर नियन्त्रणदेखि पड्का पडकाएर धपाउनेदखि समातेर निकुञ्ज र आरक्षणमा छोडनेसम्मको योजना रहेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर प्रसाद साहले बताउनुभयो । सूचना अधिकारी साहका अनुसार त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा बाँदरको बास स्थानलाई लक्षित गरेर बाँदरले मन पराउने विरुवा/घाँस रोपण तथा सम्वद्र्धन कार्यक्रम गर्न मन्त्रालयलाई पत्रचार गरेको बताउनुभयो ।

काठ तस्कर, वन्यजन्तुको चोरी निकासी गर्ने, नयाँ घास पलाउने भन्दै गाई गोठालाले वनमा डढेलो लगाउने गरेको उहाँको भनाइ छ । दुष्ट मनस्थितिका मानिसहरु चुरोट, विडीका पारखीहरुले चुरेट खाएर जताभावी जलेको चुरोट ठुटा फाल्ने गरेकोले जंगलमा डढेलोले जैविक विविधता नष्ट हुने, जंगली जीवजन्तु जलेर जानुको साथै जंगली जनावरको आहारसमेत नष्ट भएको छ ।