काभ्रे । कोशीपारी पिछडिएको छ । सडक सञ्जाल सबै गाँउमा पुगेको छैन । तर स्थानीय तहको निर्वाचनपछि कोशीपारीको भुम्लु गाउँपालिकाको सबै गाँउहरुमा बस सेवा विस्तार भएको छ ।
सडक निर्माण शुरु गरेको २५ बर्षपछि काभ्रेको भुम्लु गाँउपालिकाको सिलामे, सापिङ, सिम्थली र बेखसिम्लेसम्म राजधानी काठमाडौंबाट सिधै यातायात पुगेको छ । स्थानीय तहको निर्वाचनमा गाँउपालिका अध्यक्ष गुमानध्वज कुँवरले सिलामे, सापिङ, सिम्थली र बेखसिम्लेसम्म निर्वाचित भएको दुई वर्षभित्रमा सार्वजनिक यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
‘मैले निर्वाचनको समयमा बोलेको कुराहरु यतिबेला पुरा हुँदै गएको छ’ अध्यक्ष कुँवरले भन्नुभयो, ‘मेरो गाँउपालिकाको मात्रै हैन छिमेकी जिल्ला सिन्धुपाल्चोक र रामेछापका स्थानीयलाई समेत सडक निर्माण भएसँगै टेवा पुग्नेछ ।’ गाँउपालिकाले यो वर्षमात्रै सो सडकको स्तरोन्नतीको लागि ५ लाख रकम विनियोजन गरेको थियो । साविकको गाविस भएको बखतमा करोडौं रुपैयाँ सडकमा लागेको अध्यक्ष कुँवरले बताउनुभयो ।
२०५२ सालमा तत्कालिन गाँउ विकास समितिका अध्यक्ष देवीबहादुर पन्तले दोलालघाट पारिपट्टीबाट सडक खन्दा सापिङ पुग्न १८ किलोमिटर छोटो हुने देखेर कटान शुरु गर्नुभएको थियो । दोलालघाट, सल्ले, चौवास गुराँसे सडकको भर पर्दै आएका स्थानीयहरुले सोमबारबाट अरनिको यातायात सेवा समितिले दैनिक दुईओटा बस सञ्चालनमा ल्याएको छ । दोलालघाटमा गाँउपालिका अध्यक्ष कुँवरले रिवन काटेर बस सेवाको सुभारम्भ गर्नुभएको छ ।
कोशीपारीमा दैनिक अरनिको यातायात सेवा समितिले ४३ ओटा बसहरु सञ्चालन गरेकोमा रुटमा अझ व्यवस्थित रुपमा थप गाडीहरु सञ्चालन गरिने समितिका अध्यक्ष चित्रबहादुर कँुवरले बताउनुभयो । काभ्रेको विकट गाँउपालिकाको रुपमा रहेको भुम्लु गाँउपालिकाले स्थानीय तहको निर्वाचनपछि क्रमशः आफूलाई सफल बनाउने चरणमा अघि बढेको छ । यातायात सेवा शुरु भएसँगै त्यहाँका स्थानीयमा उर्जा थपिएको छ ।