समाजवादको मेसिन बिग्रेको छः भूसाल (भिडियोसहित)

नजान्नेहरुका कारण संसार बिग्रेको होइन

घनश्याम भूसाल माक्र्सवादी दर्शनका ज्ञाता मात्रै होइनन्, आर्थिक विकास र सामाजिक रुपान्तरणका चिन्तक पनि हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति सदस्य भूसाल लेनिनवाद र कम्युनिष्ट विचारधारामाथि नै आलोचनात्मक दृष्टिकोण राख्नुहुन्छ । मुलुकमा कम्युनिष्टको भारी बहुमतको सरकार छ । नेकपाले ‘समृद्ध नेपाल सुखी नेपाली’ अवधारणा लिएको छ । सरकारले त्यसलाई पूरा गर्ने संकल्प गरेको छ । तर नेता भूसाल भने सरकार गम्भीर सैद्धान्तिक विचलनमा परेको धारणा राखिरहनु भएको छ । भूसालले बेलाबखत खबरदारीसमेत गर्दै आउनु भएको छ । नयाँ वर्षसँगै जनता टेलिभिजनको ‘द भ्यु विचार मन्थन’मा नेता भूसालले सरकारको एकवर्षे कार्यशैलीको मिहीन समीक्षा गर्नुभएको छ । पार्टी तथा सरकारको आगामी कार्यदिशाबारे भूसालको फरक धारणा छ । नेता भूसालले जनता टेलिभिजनमा व्यक्त गर्नुभएको धारणाका आधारमा जनता समाचार डटकमका नरेश न्यौपानेले तयार पार्नु भएको सामग्रीः


आठौँ महाधिवेशनदेखि केन्द्रीय समिति र स्थायी कमिटीमा निरन्तर यही विषय उठाउँदै आइरहेको छु कि, हामी कसरी बाँचेका छौँ ? विना हिच्किचाहट यसमा छलफल गरौँ, हामी कता जाँदैछौँ ? हामी समाजवाद ल्याउने सिटमा बसेका आफूलाई ड्राइभर भन्नेहरु आफैँ कति समाजवादी छौँ ? एकचोटी छलफल गरौँ । लोभ, कमजोरी वा समस्या सबैमा हुन्छन् तर प्रश्न कतिको हो भन्ने हो । दलाल पुँजीवादको चंगुलमा हामी को कति फसेका छौँ ? कमसेकम सत्य निरुपण गरौँ र मेलपिलाप गरौँ । मेलमिलाप भनेको अब नगरौँ भनेर कसम खाऔँ

यतिबेला तपार्ईंंको व्यस्तता के मा हो ?

यसको सामान्य जवाफ त सञ्चै छु भनेजस्तै हुन्छ । होइन एकजना सांसद र नेकपाको स्थायी कमिटी सदस्यका हिसाबले यही गरिरहेका छौँ भनेर भन्न सक्ने स्थितिमा छैनौँ । दुनियाँसामु छर्लङ्ग नै छ कि, गएको एक वर्षदेखि हामीले पार्टी एकता त टुंग्याउन सकिरहेका छैनौँ । यस हिसाबले हेर्दा राम्रो गरिराखेका पनि छैनौँ ।

यतिखेर नेकपाको प्रमुख समस्याचाहिँ के हो ? तपाईंहरु कामविहीन जस्तो पनि देखिनुहुन्छ ।

मेरो बुझाइमा यतिबेला हामी दृष्टिकोणको समस्यामा छौँ । हामीसँग अहिले दुईवटा दृष्टिकोण छन् अहिले र त्यसैमा केही अन्तविरोध देखिएका छन् । जस्तो अझैसम्म एकता किन टुंगिरहेको छैन भन्ने सन्दर्भमा हामीले अमूर्त जवाफ दिइरहेका छौँ । पहिलो तरिका वा दृष्टिकोण पार्टीले कुनै व्यक्तिलाई टिकट दिन्छ, चुनाव जितेर आएपछि सबै कुरा उसले गर्छ । सरकार बनाउने, राजनीतिक नियुक्ति कसलाई दिने, कसलाई पार्टीको राम्रो जिम्मेवारी दिने, कसलाई किनारा लगाइदिने, यो सबै उसैले गर्छ । अर्को तरिका वा दृष्टिकोण यो सामाजिक पक्ष हो र हामीले गर्ने हर कार्य सामाजिक हुन् है भन्ने दृष्टिकोण हो । जुन कमिटीको प्रक्रियामा, निर्णयमा वा अझ एजेण्डा निर्धारण गर्ने प्रक्रियामा देखिन्छ र सबै मान्छे यसमा उत्तिकै जिम्मेवार हुन्छन् । कोही अध्यक्ष, उपाध्यक्ष वा सदस्य हुने विषय कामको कार्यविभाजन मात्रै हो तर भूमिका सबैको उस्तै हो । आज नेकपा यो दुर्ईवटा दृष्टिकोणबीच संघर्ष गरिरहेको छ ।

आफूलाई कम्युनिष्ट र समाजवादी पार्टी भन्ने तर व्यवहारमा विल्कुल गैरसमाजवादी तौरतरिका अपनाउँदै नेकपा सञ्चालन भइरहेको छ भनिनु आफैँमा विरोधाभास छैन र ?

अँ, विरोधाभासपूर्ण हो तर अच्चम्मचाहिँ होइन । किनभने तपाईंकै अगाडि वास्तविकता देखिन्छ भने यो आश्चर्यको कुरै भएन । त्यसैले यो यथार्थ हो र हाम्रो अगाडि छ । १० महिनासम्म हामी हामीभित्रका समस्या समाधान गर्न नसकेर पार्टीलाई र पार्टीमार्फत मुलुकलाई जुन दिशा दिनुपर्ने हो, त्यो दिन सकिरहेका छैनौँ । हाम्रो एकताका कारणले मुलुकले नै मूल्य चुकाउनुपर्ने अवस्था राम्रो होइन । तर फेरि पनि वास्तविकता के हो भने हामीसँग दुईवटा दृष्टिकोण छन् । यसमा म पनि जिम्मेवार हुँला तर सबभन्दा बढी हाम्रा अध्यक्षद्वय जिम्मेवार हुनुहुन्छ । मूलतः देशको प्रधानमन्त्री कमरेड खड्गप्रसाद ओली जिम्मेवार हुनुहुन्छ ।

यसरी पार्टीमा देखिएको दृष्टिकोणको विरोधाभासबारे उहाँहरुसँग केही भन्नुहुन्न ? तपार्ईंं पनि त नेकपाको जिम्मेवार नेता हुनुहुन्छ ।

यो विषय पनि फेरि त्यहीँ ठोकिन्छ । जस्तो नियमित बैठक बस्छ, त्यहाँ सबैले आफ्ना धारणा राख्छन्, कमीकमजोरी र उपलब्धिको राम्ररी लेखाजोखा हुन्छ, कमजोरी हटाउने र उपलब्धिलाई संस्थागत गर्ने प्रयत्न गरिन्छ । र, संगठन गतिशील बन्दै जान्छ । यो संगठनको पहिलो तरिका हो । अर्को तरिका तपाईंलाई इच्छा लागेन, तपाईंलाई सजिलो नलागुन्जेल बैठक बोलाइँदैन र आफँै चलाउनोस्, यो अर्को तरिका हो । र, हामी यही तरिकाबाट चलिरहेका छौँ । गएको १० महिनामा स्थायी समितिको एउटा बैठक मुस्किलले बस्यो । यसैले भन्ने ठाउँ नै पनि पाइएन ।

यस्तो अवस्था किन आएको होला ? नेतृत्व विचार र दृष्टिकोणको प्रश्नमा यतिसम्म जानकार नहुने होला र ?

जानकार नभएर वा नजानेर मात्रै संसार बिग्रेको होइन । यसमा मान्छेहरु कहाँ उभिन्छन् भन्ने पाटोले ठूलो अर्थ राख्छ । जानकारी त त्यसपछिको कुरा हो ।

हामी पनि दलाल पुँजीवादको बर्चस्व भएको समाजका उपज हौँ । यसलाई समाजवादी बनाउने हाम्रो योजना हो । यसरी बनाउने भनेको पार्टीले हो र त्यो समाजका लागि सुधारगृह पनि हो । यो पार्टीले हामीलाई समाजवादी बनाउने हो । तर यतिखेर समाजवादको मेसिन बिग्रेको छ । समाजलाई समाजवादी बनाउने केन्द्र नै पार्टी हो । त्यो पार्टी आफैँ समाजवाद र समृद्धिको बाहक हुन्छ ।

तर प्रधानमन्त्रीले आफ्नो कोही पनि छैन, कसैका लागि केही गर्नु पनि छैन, त्यत्रो जेलनेल भोगियो यो बोनसमा पाएको जिन्दगी देशकै लागि अर्पण गर्ने हो भन्ने गर्नु भएको छ नि ?

जेल बसेका अरु पनि धेरै नेता हुनुहुन्छ । तर हामीसँग एउटा १३–१४ वर्ष जेल बसेको प्रधानमन्त्री पनि छ है भन्ने विषय गर्व गर्नु पर्ने र नयाँ हो र ? अनि यसले देशको जिन्दगीमा के फरक पार्छ ? जस्तो म किशोर वा विद्यार्थी छँदा २–३ वर्ष जेल बसेँ । यो मैले भन्दै हिँडुँ ? अर्थ राख्ला र ? मात्रै मैले आफ्ना त्यतिबेलाका प्रतिवद्धतामा प्रतिवद्ध रहँदा त्यो बेहोर्नुपर्यो । यो एउटा अनुभव मात्रै हो र यो भन्दा बढी राष्ट्रका लागि केही पनि होइन । दोस्रो नजानेर होइन । म कहाँ उभिन चाहन्छु ? यो निकै ठूलो प्रश्न हो । जस्तो, एउटा जमिनदारले शोषण गरिरहेको किसानको दुःख नबुझ्नुको कारण ऊ आफ्नो के गर्दा हित हुन्छ भन्दै सोचेर दृष्टिकोण बनाइरहेको हुन्छ ।

त्यसो भए पार्टीका दुर्ई अध्यक्ष उभिनुभएको ठाउँ के हो त ? तपाईंले भनिरहेको समाजवाद र उहाँहरुले भन्ने समाजवाद फरक हो र ?

यो आरोप प्रत्यारोपको विषय होइन । फेरि पनि यो दृष्टिकोणकै सवाल हो । तपाईंँ कहाँ बसेर हेर्दाखेरि आफ्नो हित देख्नुहुन्छ भन्ने प्रश्न हो । र, यो विचारधाराकै प्रश्न हो । मैले त हामीले काम पाएनौँ भन्ने साथीहरुलाई भन्ने गरेको छु, कमरेड प्रचण्ड पनि निष्क्रिय हुनुहुन्छ । उहाँलाई पनि पार्टीले तपाईंको यो काम हो भनेर लेखेर दिएको छैन । उहाँ हिँड्दै हुनुहुन्छ । सक्रिय जस्तो देखिनु भएको छ । उहाँपछि अर्को होला, म हुँला । अलि चर्चामा नभएका साथीहरु आफ्नो ठाउँमा आफैँ सक्रिय भइरहनुभएको होला । तर ७–८ लाख संगठित सदस्य रहेको पार्टीको यो फौजमा प्रधानमन्त्रीको उम्मेदारी दिन तत्कालीन नेकपा एमालेले उहाँलाई जिम्मेवारी दिएको हो । त्यसपछि कसैलाई जिम्मा दिएको छैन । त्यसैले हामी मात्रै होइन कमरेड प्रचण्ड पनि बेरोजगार हुनुहुन्छ ।

भनेपछि अब यो ठिकठाक हुन कहाँबाट शुरु गर्नु पर्ला ?

पहिला यो दृष्टिकोण टुंगिन्छ । कसरी टुंगिन्छ भन्ने कुरा हुन्छ । मैले माथि उल्लेख गरेकामध्ये कुन विचार, कुन दर्शन वा दृष्टिकोण बलशाली हुन्छ भन्नेमा निर्भर हुन्छ भन्ने लाग्छ ।

तर पार्टीको दस्तावेज त क्लियर लोकतान्त्रिक समाजवाद मान्ने भन्छ त फेरि ?

हो, बाहिरबाट हेर्दा त्यस्तै लाग्छ । र, कम्युनिष्ट पार्टी खुरुखुरु विधिमा गए हुन्छ भन्दा हुन्छ । तर आज हामीले सामना गरिरहेको चुनौती के हो ? विधिमा कताबाट जाने ? एकजना प्रधानमन्त्री । उसैले सरकार चलाउँछ । उसैले पार्टी चलाउँछ । नियुक्ति गर्छ । सांसदहरु बनाउँछ । नेता कार्यकर्तालाई जिम्मेवारी उसैले दिन्छ वा दिँदैन । यो एउटा तरिका हो । योबारे मलाई सोध्नुहुन्छ भने म यसमा असहमत हुन्छु । म यो तरिकाविरुद्धम छु । यस्तो हुदाँ हामी समाजवादतिर त के सुधारिएको पुँजीवादी व्यवस्थातर्फ पनि जान सक्दैनौँ ।

तपार्ईंंले यस्तो भन्दै आइरहेको धेरै भइसक्यो, एमालेभित्रै लामो समयदेखि यो मुद्दा उठाइरहनु भएको थियो । भनिरहने ? यसको निरुपण गर्नुपर्दैन ?

तपाईं यो कहिलेसम्म भनिरहनुहुन्छ, भन्नुहुन्छ भने, म यसको टुंगो नलागुञ्जेलसम्म भनिरहन्छु । व्यक्तिगतरुपमा भन्दा यदि अब यो पार्टी व्यक्तिले चलाउने हो र कमिटी, समूह र सामुहिकताको अर्थ छैन भन्ने कुराले नै जित्यो भने पनि म मेरो प्रतिवद्धताका आधारमा त्यो विचारको र दृष्टिकोणविरुद्ध जहिल्यै बोलिरहन्छु । म हारुँला फेरि पनि । यो विचार राख्ने हामी सबै हारौँला बरु । तर यो हाम्रो पार्टी र समाजकै प्रश्न हो । हाम्रो राजनीतिक जीवनको प्रश्न हो । हाम्रो दर्शनको प्रश्न हो । यसले मैले मात्रै लड्छु कि लड्दिनँ भन्ने प्रश्न पनि मुख्य होइन । म भागेँ भने पनि अर्को लडिरहन्छ । राजनीतिक जिन्दगीलाई पनि यसैगरी हेरिनुपर्छ ।

तर तपाईंहरुले पार्टीमा हस्तक्षेप गर्नसक्नु भएको देखिएन नि ?

हो, विगतका १० महिनादेखि पार्टीमा कसैले हस्तक्षेप गर्न सकिरहेको छैन । न कमरेड ओली अथवा त्यो विचार राख्ने साथीहरुले सक्नुभा’छ, न हामीले सकेका छौँ । टुंगो लागेको छैन ।

एउटा प्रवृत्तिले जितिरहेकोे छ भन्न त पाइएला नि ?

अध्यक्ष, अध्यक्ष र प्रधानमन्त्री पनि हुनुहुन्छ । देखिएको यतिमात्रै हो । नत्र पार्टी यसैगरी जान्छ भनेर पार्टीले निर्णय गरेको छैन ।

निर्णयविना पनि निरन्तर यस्तै चलिरह्यो भने त चलेकै मान्नुपर्यो नि ?

यो सधैँ त चल्दैन । केही समयसम्म चल्ने न हो यस्तो । यो टुंगो लाग्नुपर्छ र विधिमा जानुपर्छ । सामुहिकतामा जाउँ भन्ने पक्षले जित्नेछ वा यसैगरी हिँड्ने पक्ष हावी भइरहनेछ ।

तपाईंले भन्दै आएको लोेकतान्त्रिक संगठन प्रणाली कसरी सञ्चालन हुन्छ ?

अहिले जसरी चलिरहेका छौँ, वास्तवमा दुनियाँसामु भन्दा घोर नालायकी देखिएको छ । यतिको अप्रजातान्त्रिक पार्टीमा कहिल्यै थिएन । त्यो ठाउँमा हामी छौँ । हामीले हिजो अभ्यास गरिरहेको पार्टीमा नै अझै राम्रो लोकतान्त्रिकीकरणको आवश्यकता थियो । जस्तो म एक महिनाअघि जर्मनीको एउटा लेफ्ट पार्टीको कंग्रेसमा भाग लिन गएँ । त्यहाँ एउटा सामान्य निर्णयमा एकजनाले मात्रै असहमति जनायो भने पनि पार्टीले त्यसलाई एक वैध असहमतिका रुपमा बुझिन्छ र भोटिङ् हुन्छ । हरेकलाई त्यहाँ भोटिङमा लगिन्छ । त्यो प्रक्रियामा महिला, युवा र प्रौढ सबै उत्तिकै संलग्न गराइन्छन् । किनभने त्यो सामुहिक भए पनि व्यक्तिगत दायित्वको मुद्दा बनिदिन्छ । नेता र कार्यकर्तामा पनि कुनै फरक देखिँदैन । मात्रै के फरक देखिन्छ भने नेताले दृष्टि, व्याख्या, मुद्दा र चेतनाका हिसाबले सामान्य कार्यकर्ता भन्दा पर हेरेको हुन्छ । एजेण्डा सबैले राख्छन् र निर्णय सबैले गर्छन् ।

मान्छेहरु घनश्याम भूसाल सैद्धान्तिक कुरा मात्रै गर्छ, व्यवहारिक छैन भनेर टिप्पणी गर्छन्, यस्तै हो र ?

म अनेरास्ववियुबाट आएको हुँ । म हुँदाको अनेरास्ववियु जर्मनीको अघि मैले भनेको जस्तै अभ्यास गरेर आएको संगठन थियो । हामीले हरेक मुद्दालाई ठाउँ दियौँ, छलफल गर्यौँ र निर्णय गर्यौँ । मेरो मुद्दा पारित भएन भने पनि त्यसमा पर्याप्त छलफल भयो । चित्त नबुझेका विषयमा कालान्तरमा मेरो चित्त बुझ्दै जाने वा मेरा मुद्दामा अरुलाई आश्वस्त पार्दै बनाउँदै निर्णय गराउने परिपाटी थियो ।

तर तपाईंका अगाडि लेखेर पढेर लु सुन बन्ने वा नेतृत्व गरेर लेनिन बन्ने भन्ने प्रश्न त छ नि ?

तपार्ईंंलाई चार थान लु सुन बन र चार थान लेनिन बन भनेर हुँदैन–एक । अर्को यसरी छुट्याउने कुरा पनि गलत हो । मेरो भनाई बौद्धिकको क्रान्तिकारी पार्टी बनाउनुपर्छ भन्ने हो । त्यो भनेको कोही लेखेर साहित्य क्षेत्रमा, कोही संस्कृतिमा, कोही प्राविधिक, विज्ञान वा अरुमा लाग्लान्, यो फरक हुन सक्ला । तर त्यो सबैको कलेक्टिभ पक्ष के हो भने तिनीहरु जे गर्दैछन्, त्यो समाजका लागि गर्दैछु भन्ने चेतना, प्रतिवद्धता र विचारधाराका साथ हुनेछ । यस अर्थमा ल ुसुन र लेनिन बनाउने विषयचाहिँ बेठीक छ ।

आजको नेकपा र यसको नेतृत्वको सरकारले वर्गको हिसाबमा निम्नवर्गीय पक्षधरतालाई अंगाल्न सकिरहेको छैन, पार्टीको सिद्धान्तमा त तपाईंको पनि सहमति छ र तपाईंले गर्ने टिप्पणी सामान्य पार्टीगत र राजनीतिक विषय मात्रै हुन् भन्ने विश्लेषण पनि सुनिन्छ, के भन्नुहुन्छ ?

औपचारिकरुपमा पार्टीले तय गरेको सिद्धान्त त हामीले नै ल्याएकै हो । एकलाइनमा भन्दा हामीले जनवादी क्रान्ति पूरा गर्यौँ, अब हाम्रो यात्रा समाजवाद भयो, तर समाजवाद यसै आउँदैन । त्यसका लागि हामीले पर्याप्त पुँजी विकास गर्नुपर्छ । तर हामी कहाँको पुँजीमाथि दलाल पुँजीको नियन्त्रण छ । यसको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै जानुपर्छ । अनि मात्र समाजवादतर्फ जाने हो भन्ने राजनीतिक सिद्धान्त त हामीले नै तय गरेको हो । यसमा हाम्रो विमति हुँदैन । तर के पनि हो भने यो सिद्धान्त नै पार्टीव्यापी भएको छैन । हामीले एमालेमै यो निर्णय गरेका थियौँ तर दुर्भाग्य चार–पाँच वर्ष त्यो पार्टी चल्दा कसैले पनि पार्टीले के निर्णय गरेको थियो भन्ने ध्यानै दिएनन् । सिद्धान्तका आधारमा एउटा पनि योगदान भएन । माओवादीमा पनि त्यस्तै देखियो । १० महिनाअघि नेकपा बन्दा पनि यही पक्ष सिद्धान्त भनिएको छ । यसमा आज पनि खासै कसैको ध्यान देखिँदैन तर प्रमुख काम यसैमाथि छलफल गर्ने र त्योअनुरुपको संगठन बनाउने नै हो ।

दोस्रो, मैले नेपालमा श्रमिक र सिमान्त श्रमिक, मध्यम, पुँजीपति र दलाल पुँजीपतिसहित पाँच वर्ग छन् भनेको छु । साथै दलाल पुँजीवादले हाम्रो राज्यलाई यसरी जो गाँजेको छ, त्यो आजको आजै भएको होइन । नेकपाले जितेर भएको पनि होइन । पञ्चायतबाट शुरु भएको र कांग्रेसका पालामा बढेको यो समस्यामाथि हामीले पनि प्रश्न गरेनौँ । यसरी बुझ्दा ठीक होला ।

मुुलुकमा कम्युनिष्ट पार्टीको योगदानले जनवादी क्रान्ति सम्पन्न भयो तर समाजमा हावी चाहिँ दलाल पुँजीवाद भयो भनेर तपाईंहरुले नै आत्मभत्र्सना गरिरहनुभएको छ भनिन्छ नि ?

मैले जे भनिरहेको छु, त्यो सिद्धान्त र इतिहासको आडमा भनिरहेको छु । मलाइ तेरो कुरा यो कारणले गलत छ, कसैले अहिलेसम्म भनेको छैन । केवल विरोधका लागि विरोध गर्नेको तुकमा चासो राख्दिनँ । हामीले भनेको मात्रै के हो भने सामन्तवाद सकियो ।

आजका दिनमा समाजवादतर्फ हाम्रो यात्रा कति सम्भव देख्नुहुन्छ ?

एकदमै सम्भव छ । क्रान्तिबारे एकजना पूर्वीय संस्कृतिका ज्ञाता एजाज अहमदले क्रान्ति त न सफल हुन्छ न असफल हुन्छ भन्नुभएजस्तै यो त जारी रहने विषय हो । नेपालको सन्दर्भमा भन्ने हो भने त्यो सिमान्त श्रमजीवी वर्ग जो संगठित क्षेत्रमा छैन, श्रमजीवी वर्ग जो संगठित क्षेत्रमा छ र अर्को मध्यम वर्ग हाम्रो क्रान्तिको सहयोगी नै देखिन्छ । राष्ट्रिय पुँजीपति वर्ग पनि हाम्रो सहयोगी नै छ ।

पार्टीले असंगठित श्रमिक वर्गलाई संगठित गरेर समाजवादी ध्येयमा सहयोगी बनाउने कुनै पहल थालेको छ ?

गएको १० वर्षदेखि वा आठौँ महाधिवेशनदेखि नै हाम्रो प्रयत्न यसमा छलफल होस् भन्ने नै रह्यो । दुर्भाग्य, यो व्यक्तिगतरुपमा कसैले अहिले तपाईंले सोधेको जस्तो गरी उठाइरहेका छौँ । पार्टीमा कुनै छलफल चलाइएको छैन । पार्टीमा अन्तरविरोध बढेका छन्, व्यक्तिगत समस्या बढेका छन् र संगठनात्मक समस्या उठिरहेका पनि छन् । नेतामाथि अनेक प्रश्न उठिरहेका छन् । को जग्गामा छ, को के मा छ ? नयाँ विषय सिर्जना भइरहेका छन् ।

सरकारी जग्गासँगको संलग्नताबारे पार्टी महासचिवमाथि नै प्रश्न उठेको छ, चिनीवालाले प्रधानमन्त्रीलाई झुक्याउने जस्ता समस्या यसैका उपज हुन भन्न मिल्छ ?

घनश्याम भूसाल नकारात्मक कुरा मात्रै गर्छ भन्नेहरु पनि छन् । तर आठौँ महाधिवेशनदेखि केन्द्रीय समिति र स्थायी कमिटीमा निरन्तर यही विषय उठाउँदै आइरहेको छु कि, हामी कसरी बाँचेका छौँ ? विना हिच्किचाहट यसमा छलफल गरौँ, हामी कता जाँदैछौँ ? हामी समाजवाद ल्याउने सिटमा बसेका आफूलाई ड्राइभर भन्नेहरु आफैँ कति समाजवादी छौँ ? एकचोटी छलफल गरौँ । लोभ, कमजोरी वा समस्या सबैमा हुन्छन् तर प्रश्न कतिको हो भन्ने हो । दलाल पुँजीवादको चंगुलमा हामी को कति फसेका छौँ ? कमसेकम सत्य निरुपण गरौँ र मेलपिलाप गरौँ । मेलमिलाप भनेको अब नगरौँ भनेर कसम खाऔँ । यति मात्रै गर्न पाएदेखि ठीक बाटोमा तत्कालै लागिहाल्थ्यौँ । सैद्धान्तिकरुपमा हामीले धेरै ठूलो काम गरेका छौँ । व्यक्तिगतरुपमा अपार सम्भावना देख्छु । पहिलोपटक माक्र्सवादलाई अनुकुल व्याख्या गर्न सक्ने भएका छौँ । यो अत्यन्तै राम्रो हो । हाम्रो आन्तरिक लोकतन्त्र राम्रो बनाउने बित्तिकै हाम्रो आन्दोलन अजेय हुनेछ । मैले देख्ने क्षितिजसम्म यो अजेय छ तर यी प्रश्नमा छलफल नै नगरस् समृद्धिका कुरा गर्ने समस्या बढेको छ ।
जहाँ टेकेर हिँड्नुपर्नेछ, त्यसबारे छलफलसमेत छैन तर समृद्धि र समाजवादको गफ गरेको छ । यो दुनियाँलाई झुक्याउने विषय मात्रै हो ।

समाजवादको टोपी र दलाल पुँजीवादको जुत्ता भनेर तपाईंले एउटा टिप्पणी गर्नुहुन्छ नि, सरकारलाई कसरी हेर्ने त ?

समाजकै पाटो हो यो । यो समाज जस्तो छ, पार्टी जन्मेको पनि त्यहीँ हो । हामी पनि दलाल पुँजीवादको बर्चस्व भएको समाजका उपज हौँ । यसलाई समाजवादी बनाउने हाम्रो योजना हो । यसरी बनाउने भनेको पार्टीले हो र त्यो समाजका लागि सुधारगृह पनि हो । यो पार्टीले हामीलाई समाजवादी बनाउने हो । तर यतिखेर समाजवादको मेसिन बिग्रेको छ । समाजलाई समाजवादी बनाउने केन्द्र नै पार्टी हो । त्यो पार्टी आफैँ समाजवाद र समृद्धिको बाहक हुन्छ । यसलाई अझै मूर्त भन्दा त्यो पार्टी रोजगारी दिने पुँजी र राष्ट्रिय पुँजी निर्माणको बाहक हुनेछ । पार्टीको चरित्र यस्तो हुन्छ । यही बाटोबाट पार्टीले राज्यलाई समाजवादी बनाउँदै लैजान्छ । हामीले लेखेको पार्टीको डकुमेन्टमा पनि यही उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।