काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटीका अध्यक्ष र सचिवको नामावली केहीबेरमा सार्वजनिक हुँदैछ । नेकपाले आइतबार राति टुंग्याएको ७७ जिल्ला अध्यक्ष र सचिवको नाम कम्युनिष्ट पार्टी स्थपना दिवसको अवसरमा प्रज्ञा भवनमा आयोजित कार्यक्रमबाट सार्वजनिक गर्न लागेको हो ।
नेकपा सचिवालयले पूर्वएमालेले ४५ र माओवादीले ३२ जिल्लामा नेतृत्व पाउने गरी भागबन्डा गरेको छ । एमाले र माओवादी पक्षका साविक जिल्ला कमिटी प्रमुखलाई नै अध्यक्ष र सचिव बनाउने मापदण्ड बनाइएको थियो । ७७ वटै जिल्लामा एउटै मापदण्डका आधारमा नेतृत्व टुंग्याइएको हाे ।
एमालेले नेतृत्व पाएका जिल्लामा साविक प्रमुखलाई अध्यक्ष र माओवादीको प्रमुखलाई सचिव तोकिएको छ । माओवादीले नेतृत्व पाएका जिल्लामा माओवादीकै साविक प्रमुख अध्यक्ष र एमालेका प्रमुखलाई सचिव बनाइएको छ ।
सचिवालय बैठकले चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने प्रस्ताव गरेको छ । स्थापना दिवसलगत्तै मंगलबार बस्ने सचिवालय बैठकबाट पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ ।
पोलिटब्युरोमा पूर्वएमालेबाट ८२ र माओवादीबाट ६५ जना रहने तयारी छ । तत्कालीन माओवादीबाट ९९ सदस्यीय सचिवालयका नेतामध्ये वरिष्ठतामा अगाडि रहेका नेता पोलिटब्युरोमा समेटिनेछन् । एमालेबाट तत्कालीन पोलिटब्युरो सदस्य ६२ जना समेटिनेछन् । एमाले पक्षले अपुग १९ पोलिटव्युरो पार्टीमा योगदान र कार्य दक्षताको आधारमा केन्द्रीय सदस्यबाट छान्ने भएको छ ।
सचिवालय बैठकले भूगोलबाहेकका प्रवास कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका तीन जिल्लासँगै २२ जनसंगठनको एकीकरण भने टुंग्याउन बाँकी छ । एकताको बाँकी काम जेठ ३ गते अर्थात् मदन आश्रित स्मृति दिवस अगावै टुंगिने स्रोतले जनाएको छ । एमाले र माओवादी केन्द्रले गत वर्ष पनि मदन आश्रित स्मृति पारेर केन्द्रमा एकता घोषणा गरेका थिए ।
जनता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपाले सोमबार प्रज्ञा भवनमा आयोजना गरेकाे कार्यक्रम जनता टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएकाे छ । नेकपाले अपरान्ह १२ बजेदेखि कार्यक्रम आयोजना गरेको छ ।