काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरुले राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेको समाचारसहित फरक–फरक विषयलाई प्राथमिकता दिएर समाचार छापेको छ ।
बुधबार जनतासमाचार डटकममा राष्ट्रपति विद्यादेवी भण्डारी चीन जानुभएको, बिहानै आएको भूकम्पका अपडेट, डडेलधुरामा भएको सवारी दुर्घटना लगायत राजनीतिक, समाजिक, अन्तर्राष्ट्रिय, मनोरञ्जनात्मक समाचारहरु प्रकाशित भएका थिए ।
गोरखापत्र दैनिकले राष्ट्रपति भण्डारी सियान पुगेको समाचार तस्बिरसहित पहिलो पृष्ठमा छापेको छ । यस्तै महाभूकम्प गएको ४ वर्ष बितेको, निरन्तर आएको परकम्पले ठूलो भूकम्प आउने जोखिम नभएको भूगर्भविद्हरुले बताएका छन् । प्रधानमन्त्री केपी ओलीले एक वर्षमा पुनःनिर्माण सकिने बताउनुभएको प्रसङ्गलाई पनि समाचारमा जोडिएको छ । त्यसैगरी पत्रिकाले गोरखा बारपाकको तस्बिर छाप्दै ‘नयाँ स्वरुप र शैलीमा बस्ती’ शीर्षक दिएर समाचार छापेको छ ।
कान्तिपुर दैनिकले बालुवाटारको जग्गा बेच्न अख्तियारका पूर्व आयुक्त दीप बस्न्यातले भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव छँदा पर्ति, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेश गरेको समाचार पहिलो पृष्ठमा छापेको छ । कान्तिपुरले पहिलो पृष्ठमा भूकम्प आएपछिको बारपाक र अहिले पुनःनिर्माण भएपछिको बारपाकको तस्बिरसहित ४ वर्षमा ४५ हजार परकम्प शीर्षक दिएर समाचार छापेको छ ।
नयाँपत्रिका दैनिकले ‘भूकम्पले झस्काउँदै छ, समाजले बिर्सदैँ छ’ शीर्षकमा समाचार छापेको छ । समाचारमा असन क्षेत्रमा बनेको गगनचुम्बी घरको तस्बिर, पुनर्निर्माण भएको बारपाकको तस्बिर छापेर समाचार छापेको छ । यस्तै १० लाख स्मार्ट लाइसेन्सको ठेक्का हुँदै गरेको समाचार छापेको पत्रिकाले डडेलधुरामा भएको ६ जनाको मृत्यु भएको समाचार पनि प्रकाशित गरेको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले २०७२ मा आएको भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकको अहिलेको तस्बिर पहिलो पृष्ठमा छाप्दै ‘बन्यो बारपाक’ शीर्षक दिएर समाचार लेखेको छ । यस्तै भिसाको राजस्व उठाएर मासेको तर राज्यकोषमा दाखिला नगरेको समाचार पनि आजको अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ । त्यसैगरी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गौरिका सिंह एक्लैले ८ वटा स्वर्णपदक जितेको समाचार पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
‘४१ अर्बका पाइपलाइन प्रस्ताव’ शीर्षकमा कारोबार दैनिकमा छापिएको समाचारमा इन्धन आपूर्तीका लागि बिछ्याइएका पाइपलाइनबाट देशलाई वार्षिक १९ अर्ब बचत हुने उल्लेख गरेको छ । वित्त आयोगको काम अर्थ मन्त्रालयबाटै शीर्षकको समाचार छापेको पत्रिकाले जडिबुटी खेतीलाई सहुलियत कर्जा आवश्यक रहेको विषयलाई पनि समेटेको छ ।