लोकेन्द्रप्रसाद जोशी
दार्चुला । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ ओटा आङ्गिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् ।
२०७४ असोज २ गते नेपाल सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका दरबन्दी स्वीकृत गरेको थियो । दरबन्दी अनुसार १४ वटै क्याम्पसमा कार्यरत ३ सय ३४ प्राध्यापक तथा कर्मचारीले श्रावण महिनादेखीको नियुक्तिपत्र पाएपनि तलब भने पाएका छैनन् ।
नियुक्ती पाएको साढे नौ महिना बितेपनि अहिलेसम्म तलब पाउन नसकेको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राद्यापक रमेशचन्द्र जोशीले जानकारी दिनुभयो । विश्वविद्यालय अन्तर्गत स्नातक तह प्रथम वर्षको परिक्षा समेत अन्तिम चरणमा पुगेको छ । परिक्षा सकिए लगत्तै तलब नपाए प्राध्यापक कर्मचारीहरु आन्दोलित हुने उपप्राद्यापक जोशीले जानकारी दिनुभयो ।
विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीपनका कारण प्राध्यापक र कर्मचारीले अहिलेसम्म तलब पाउन नसकेको प्राध्यापक कर्मचारीको गुनासो छ । ‘प्राध्यापक तथा कर्मचारीले ९ महीनासम्म पनि तलब नपाउँदा विश्वविद्यालयले कुनै चासो दिएको छैन’, दार्चुला बहुमुखी क्याम्पस खलंगाका प्राध्यापक संघ क्याम्पस इकाई समिति सभापती करनसिह साउँदले भन्नुभयो, ‘क्याम्पसले पेश्कीबापतको रकम दिएपनि विश्वविद्यालयबाट पाउँनुपर्ने तलब अहिलेसम्म पाएका छैनौ ।’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ सभापती उत्तमबहादुर थापाले समेत तलब नपाउँदा प्राध्यापक कर्मचारीहरुले लामो समयदेखी समस्या भोग्नुपरेको भन्दै तलब निकासाको माग गर्नुभयो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अधिकांश समय आन्दोलन, तालाबन्दी हुने गरेका कारण शैक्षिक वातावरण खल्बलिएको छ । चैत महिनामा विश्वविद्यालयको कायम–मुकायम उपकूलपतिको नियुक्ति विज्ञान तथा प्रविधि संकायका डीन पुर्णबहादुर चन्दले पाएपछि चैत २७ गतेदेखी नै नेबिसंघले तालाबन्दी गरेकाले कार्यसम्पादन हुन सकेको छैन् । विश्वविद्यालयका उपकूलपति भुषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टले आर्थिक, नैतीक र प्रशासनिक अनियमितता गरेको आरोप लागेपछि कूलपतिले सिनेट बाट सफाई नहुन्जेल सम्मका लागि तीन महिना अघि पदबाट हटाउनुभएको छ । सिनेट बैठक बसाल्नुका साथै नियमित कार्यसम्पादनका लागि प्रधानमन्त्री कार्यालयले गत महिना कायम–मुकायम उपकूलपतिमा डा.पुर्णबहादुर चन्द र रजिस्ट्रारमा डा.गोविन्द बिष्टलाई नियुक्त गरेको छ ।
‘विश्वविद्यालय अनुदान आयोगबाट यसअघिनै तलब बापतको रकम आइसकेको छ’, कायममुकायम रजिष्टार बिष्टले भन्नुभयो, ‘आफुहरुले नियुक्ती पाएको केहि दिनमै क्याम्पसमा तालाबन्दी भएका कारण आर्थिक फाइल हेर्न पाएका छैनौं, तालाबन्दी खुलेपछि तलब निकासा लगायत बिषयमा छलफल गर्ने तयारी छ ।’
सुदूरपश्चिम प्रदेशका दार्चुला बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस, गोठलापानी बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, बैतडीको पाटन बहुमुखी क्याम्पस, बैतडीकै मणिलेक क्याम्पस मेलौली, बझाङको जयपृथ्वी बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बाजुराको बडिमालिका क्याम्पस, अछाम बयलपाटाको त्रिवेणी जनता बहुमुखी क्याम्पस, डडेल्धुराको बहुमुखी क्याम्पस जोगबुढा, डोटीको सीताराम बहुमुखी क्याम्पस, डोटीकै सेतीमहाकाली बहुमुखी क्याम्पस, कैलालीको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस र टीकापुर बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले श्रावणदेखीको तलब पाएका छैनन् ।
विश्वविद्यालय अन्तर्गत कुल पाचँसय बढी प्राध्यापक, कर्मचारी कार्यरत रहेका छन् ।