काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित राष्ट्रिय दैनिकले फरक–फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् ।
शुक्रवार जनतासमाचार डटकममा अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रपतिको नेपाली सम्बोधन, जिउँदै जलाइएकी कन्चनको निधन, सरकारको एक्लो प्रयासले समृद्धि सम्भव छैन’, कर्णाली प्रिमियर लिगमा आर्मीको जित, यसरी मारिए श्रीलंका बम आक्रमणका मुख्य योजनाकार लगायतका राजनीतिक, समाजिक, अन्तर्राष्ट्रिय तथा मनोरञ्जनात्मक समाचार प्रकाशित भएका थिए ।
गोरखापत्र दैनिकले प्रथम पृष्ठमा ‘आफ्नै भविष्य खोज्दै नेपालको मौसम भविष्यवाणी’ शिर्ष समाचार राख्दै मौसम सम्बन्धि समाचार प्रकाशित गरेको छ । गएको चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडोपछि मौसमी भविष्यवाण्ी र पूर्वचेतावनीमा नेपाल कति कमजोर छ भन्ने कुरा स्पष्ट भएको छ । समाचार अनुसार छिमेकी मुलुकले आफ्ना विकाश कार्यक्रमका लागि एक वर्षअघि नै मौसमको पूर्वानुमान गर्न सक्षम भइसक्दा पनि नेपाल अझै जनशक्ति र प्रविधिका हिसाबले पुरातन र चुनौतिपूर्ण अवस्थामा रहेको नेपाली मौसमविद्ले बताउने गरेका छन् ।
कान्तिपुर दैनिकमा ‘अख्तियारका चार पूर्वपदाधिकारीको मिलेमतो’ शिर्षकमा मुख्य पृष्ठमा समाचार प्रकाशित भएको छ । बालुवाटारको जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो एवं संलग्नताको प्रमाण फेला परेको छ । करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजुरीलाई अनुसन्धान नगरि असफल बनाएको समाचारमा उल्लेख छ ।
नागरिक दैनिकमा ‘सम्झौतामै किर्ते’ शिर्षकमा मुख्य समाचार प्रकाशित छ । राजधानीको खलामञ्च कब्जा गर्ने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग भएको सम्झौतामा बिर्तै भएको फेला परेको छ । समाचारमा उल्लेख भएअनुसार महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वेशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरितका संरचना निर्माण गर्न पाइने छैन’ भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा ‘पाइनेछ’ उल्लेख छ ।
‘तीरैतीर भीरैभीर’ शिर्षकमा अन्नपूर्ण पोष्ट् दैनिकले मुख्य समाचार प्रकाशित गरेको छ । गोरखाको चुमनुब्री गाउँपालिका ६ बिहिगाउँको भीरमा सदीयौंदेखि असुरक्षित आवतजावत भइरहेको छ । असुरक्षित आवतजावतका कारण पैदल यात्रुले सास्ती पाइरहेका छन् । धेरै पटक पर्खाल लगाइएको भएपनि बेलाबेलामा सुक्खा पहिरो झरिरहने गाउँपालिका ५ का वर्डा अध्यक्ष सोनाम ग्याल्जेनको भनाई छ ।
नयाँपत्रिका दैनिकमा ‘आशाको वर्ष २०७६’ शिर्षकमा प्रमुख समाचार छापिएको छ । आर्थिक वर्ष ०७६, ०७७ देशको १५ औं योजना कार्यान्वयनको पहिलो वर्ष हो । सरकारले १५ औं योजना अवधिभर आर्थिक वृद्धिदर औसत वार्षिक ९.२ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । २०७६ को सुरुमै नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण, भेरी बबई सुरुङको बे्रक थु्र र पोखरा अन्तराष्ट्रिय विमानस्थलको रन वे तयार लगायतका सरकारी तथा निजी क्षेत्रले सुरु गरेका ठुल्ठुला योजनाका कारण २०७६ आशाको वर्ष भएको समाचारमा उल्लेख गरिएको छ ।