काठमाडौं । राजधानीबाट सोमबार प्रकाशित राष्ट्रिय दैनिकले फरक–फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् ।
आइतबार जनतासमाचार डटकम मा अदालतको आदेशले विकास अवरुद्ध, रहेनन् चर्चित संगीतकार बिजु बज्र,तीन अर्बको चिया निर्यात, मुलुक आर्थिक बृद्धिको दिशामा अघि बढिरहेको छ, प्रि–बजेटअघि नीति तथा कार्यक्रम नल्याउन कांग्रेसको चेतावनी र नेपाल बङ्गलादेश बैंक र एसियन लाईफ ईन्स्योरेन्सबिच सम्झौता लगायतका राजनीतिक, समाजिक तथा आर्थिक समाचार प्रकाशित भएका थिए ।
गोरखापत्र दैनिकले प्रधानमन्त्री केपी ओलीले ‘दोहोरो अङ्कको आर्थिक वृद्धिदर’ आवश्यक भन्नुभएको समाचारलाई प्रमुख समाचारको रुपमा प्रकाशित गरेको छ । राष्ट्रिय योजना आयोगको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय आकांक्षा प्राप्त हुने गरि योजना निर्माण र कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ । आयोगको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले अब कोही पनि नेपाली भोकै बस्नुपर्ने अवस्था अन्त्य हुने बताउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिदर आवश्यक रहेको औंल्याउनुभएको समाचार छ । यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआईले लगानीको ढोका खोलेको बताउनुभएको र सोमबारबाट संघीय संसद सुरु हुने समाचार प्रथम पृष्ठमा छापिएका छन् ।
कान्तिपुर दैनिकले ‘सडकले नास्यो ट्रेकिङ रुट’ र ‘एकै चालकले हजार किमि’ शिर्षकका समाचारलाई आफ्ना शिर्ष समाचार बनाएको छ । समाचार अनुसार पोखराको ट्रेकिङ भर्जिन गन्तव्य क्व्होंलासोथरमा सांसदकै पहलमा डोजर पुगेर मोटर बाटो बन्न थालेका कारण ट्रेकिङ रुट नासिँदै गएको र लामो दुरीका सवारी साधनमा दुई जना चालक हुनुपर्ने नियम २ वर्षअघि नै बनेपनि सुरपश्चिमसम्म पुग्ने गाडीहरुमा लागु नभएको र एकै चालकले हजार किमिसम्म ड्राइभिङ गर्ने गरेका कारण दुर्घटना हुने गरेको छ । यसैगरि आउने वर्ष ओलम्पिक यहाँ शिर्षक सहितका समाचारहरु पहिलो पृष्ठमा प्रकाशित छन् ।
नागरिक दैनिकमा ‘सरकारी जग्गामा भूमाफियाको रजाइँ’ देखिएको समाचार शिर्ष समाचारको रुपमा प्रकाशित छ । समाचारमा उल्लेख भए अनुसार राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनासहित बाँके र बर्दियाका करौंडौ मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी र लेखनदास लगायत १८ जना पुर्पक्षका लागि पक्राउ परेका छन् । यस्तै, प्राचिन मिथिलाको राजधानी जनकपुरको बिरख कुटी मन्दिरको जग्गामा निजी घर बनाएको पाइएको छ । माओवादी द्वन्द्वले खोसेको खुसी १७ वर्षपछि फर्कियो लगायतका समाचार पनि पहिलो पृष्ठमै समेटिएका छन् ।
राजधानी दैनिकले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ लगानीकर्तालाई ‘नेपालमा लगानी गर्नुस’ भनेर आग्रह गर्नुभएको समाचार प्राथमिकताका साथ प्रकाशित गरेको छ । चीनको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारीले आइतबार नेपाल चीन ट्रेड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै नेपालले समृद्ध मुलुक निर्माणका लागि विदेशी लगानिकर्ताका लागि उपयुक्त वातावरण तयार गरेको बताउनुभएको समाचार छ । यसैगरि सय स्थानीय तहले पठाए पदपूर्तिको पत्र, छात्रा शिक्षा कोषको बिजोग र कांग्रेसमा १२ सय उजुरी सहितका समाचार प्राथमिकताका साथ छापिएका छन् ।