काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरुले राष्ट्रपतिको चीन भ्रमणका क्रममा समकक्षी सि जिनफिङसँग भेटवार्ता भएको समाचार लगायत अन्य फरक–फरक विषयबस्तुलाई प्राथमिकताका साथ छापेको छ ।
सोमबार जनतासमाचार डटकममा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सि जिनफिङसँग शिष्टाचार भेट गरेको, नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल अमेरिका भ्रमणमा गएको, संसद बैठक सञ्चालन भएको र त्यसमा नेताहरुको राखेका धारणा लगायत राजनीतिक, सामाजिक, अन्तर्राष्ट्रिय, खेलकुद लगायतका समाचारहरु प्रकाशित भएको थियो ।
कान्तिपुर दैनिकले ‘चीनसँग पारवहन प्रोटोकलमा हस्ताक्षर’ शीर्षकमा नेपाल र चीनका राष्ट्रपतिको तस्बिरसहितको समाचार छापेको छ । यस्तै बालुवाटारको जग्गा प्रकरणको समाचार छापेको कान्तिपुरले सरकारी जग्गा जान्दाजान्दै एनआरएनद्वारा खरिद भएको समाचारलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ । यस्तै तनहुँको ब्यास नगरपालिकाको आदिकवि भानुभक्त क्याम्पस सेनेटरी न्यापकिन प्याड भेन्टिङ मेसिन जडान गरिएको समाचारलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । समाचारमा २ रुपैयाँ उक्त प्याड भेन्टिङ मेसिनमा खसालेपछि एउटा सेनेटरी प्याड निस्कने उल्लेख गरिएको छ । त्यसैगरी सांसदहरुले आफूखुसी १० करोड रुपैयाँ खर्च गर्न पाउनुपर्ने भन्दै बजेट निर्माणको क्रममा दबाब दिन खोजेको समाचार कर्नरमा छापिएको छ ।
नागरिक दैनिकले ‘नेकपामा बदनामीको चिन्ता’ शीर्षकमा समाचार छापेको छ । समाचारमा तीन शीर्ष नेता माधव कुमार नेपाल, बामदेव गौतम र ईश्वर पोखरेलको भनाइलाई पनि राखिएको छ भने संसदमा बिपक्षी दलका नेता शेरबहादुर देउवाले भूमाफियाको कर्तुत ढाक्न सरकार तल्लीन रहेको भन्ने भनाइ पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सि जिनफिङबीचको भेटको तस्बिरसहितको समाचार पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । त्यसैगरी काभ्रे बेथानचोक गाउँपालिका वडा नं. ५ का अध्यक्ष खजेन्चीबहादुर लामाले आफ्नो तलबसुबिधाको पैसाले गाउँका वृद्धहरुलाई २ लाख रुपैयाँको लौरो किनेर बाँडेको समाचार पनि तस्बिरसहित पहिलो पृष्ठमा छ ।
‘गतिहीन र भद्रगोल छन् स्वास्थ्यका परिषद्’ शीर्षकमा राजधानी दैनिकले समाचार छापेको छ । समाचामार सरकार मातहत रहेका यस्ता परिषद्हरुको काम प्रभावकारी नहुँदा जनताको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै स्वास्थ्य क्षेत्रको सुधारले पनि गति लिन नसकेको उल्ले गरिएको छ । यस्तै चिनियाँ राष्ट्रपति सि जिनफिङ नेपाल भ्रमण गर्न आतुर रहेको समाचारलाई राजधानीले पहिलो पृष्ठमा छापेको छ । एनजीओलाई कारबाही गर्न सरकार हच्किएको समाचार पनि राजधानीले पहिलो पृष्ठमा छापेको छ । समाचारमा एनजीओले सरकारलाई पत्तै नदिइ ६ अर्ब ३८ करोड खर्च गरेको भएता पनि त्यस्ता संस्थाहरुको खोजतलास गरी कारबाही गर्नए सरकारले बेवास्ता गरेको उल्लेख गरिएको छ । यस्तै ‘विप्लवप्रति लचक बन्दै सरकार !’ शीर्षकको समाचार पनि आजको राजधानी दैनिकको पहिलो पृष्ठमा छ ।
गोरखापत्र दैनिकले ‘नेपाल र चीनबीच ऐतिहासिक सम्झौता, व्यापार पारवहनका लागि बाटो खुल्यो’ शीर्षकमा तस्बिरसहित समाचार छापेको छ । पारवहन सम्झौतामा नेपालले आफूलाई सहज हुने चीनको कुनै पनि बन्दरगाह प्रयोग गर्न पाउने र बन्दरगाहसम्मको पँहुचका लागि छिटो र उपयुक्त रुट प्रयोग गर्न दिन पनि चिनियाँ पक्ष सहमत भएको उल्लेख गरिएको छ । यस्तै संसद्को चौथो अधिवेशन शुरु भएको र यो अधिवेशनमा तीन दर्जनभन्दा बढी बिधेयक पेस हुने समाचार पनि गोरखापत्र दैनिकले लेखेको छ ।
गौतमबुद्ध विमानस्थल भ्रमण वर्षसँगै सञ्चालनमा आउने कारोबार दैनिकमा समाचार छ । समाचारमा विमानस्थल निर्माण बुटवल महनगरपालिकाको असहयोग रहेको उल्लेख छ । संघीयताले फेर्न सकेन उद्योगको काठमाडौं मोह शीर्षकको समाचारमा काठमाडौंमा सबैभन्दा धेरै उद्योग दर्ता भएको विषय समेटिएको छ । त्यसैगरी अरुण तेश्रो जलविद्युत् आयोजनामा मुआब्जाको ४५ प्रतिशत रकम घरजग्गाामा पर्ने भएको समाचार कारोबार दैनिकले छापेको छ ।
नयाँ पत्रिका दैनिकले ‘बालुवाटार जग्गामा मुछिए देउवा’ शीर्षकको समाचार पहिलो पृष्ठमा छापेको छ । समाचारमा देउवा नेतृत्वको तत्कालीन गृह मन्त्रालयले अध्ययनविना मालपोतलाई पत्र पठाउँदा बालुवाटारको १ सय १३ रोपनी जग्गा व्यक्तिका नाममा गएको उल्लेख गरिएको छ । नेपाल र चीनको राष्ट्रपतिको भेटवार्तामा पारवहन प्रोटोकलसहित सात सम्झौतामा हस्ताक्षर भएको समाचार छापेको नयाँ पत्रिका दैनिकले पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । समाचारमा अप्ठ्यारो सडकमा डराएर ओर्लिदा दुलहा–दुलही भने जोगिएको विषयलाई पनि समाचार समेटिएको छ । त्यसैगरी ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीन मेसिन एकैसाथ बिग्रिँदा अप्रेसन नै रोकिएको समाचार पनि पत्रिकाले छापेको छ । समाचारमा उपकरण रर चिकित्सकको निगरानी गर्न सरकारी अस्पतालमा सिसी क्यामेरा राखिने र त्यसको निगरानी गृहमन्त्रालयका उच्च अधिकारीहरुले जहाँ बसेर पनि हेर्न सक्नेसमेत उल्लेख गरिएको छ ।