काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बालुवाटारको जग्गालाई लिएर सिंगो पार्टीविरुद्ध भ्रम फैलाउने काम भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले मंगलबार संसदीय दलको बैठकमा महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गा नहडपेको बताउनुभयो । प्रधानामन्त्रीले बालुवाटारको जग्गा किन्नका लागि महासचिव पौडेलले पदीय दुरुपयोग नगरेको उल्लेख गर्नुभयो ।
‘२०६१ सालमा राजाको शासनका बेला , हाम्रो सरकारको बेला होइन, जमिन किन्नुभएको रहेछ’ उहाँले भन्नुभयो, ‘धेरैले किनेपछि उहाँले पनि किन्नु भएछ । थाहा नपाएर किनबेच भएको हो, त्यो हड्पेकाे होइन । उहाँले बालुवाटार हडप्नु भएकाे छैन । त्यसमा अहिले मैले केही भनिहाल्नु आवश्यक छैन ।’
प्रधानमन्त्रीले सरकारी सम्पत्ति जुसुकैले हडपेको भएपनि सरकारले त्यो फिर्ता गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । बालुवाटारको जग्गा सरकारी पर्छ कि पर्दैन भन्ने समयक्रमले देखाउने भन्दै उहाँले सरकारले हडप भएका सबै सार्वजनिक जग्गा फिर्ता बताउनु भयो ।
‘ललिता निवासको बेचिएको भनिएको जग्गाको तथ्य अहिलेको सरकारले बाहिर ल्याएको हो’ उहाँले भन्नुभयो, ‘प्रतिपक्षहरु अहिले कुरै नबुझी उल्टै सरकारविरुद्ध बोलिरहेका छन् । सरकारी सम्पत्ति जहाँसुकै जोसुकैले हडप गरेको होस् । त्यो जमिन दृढतापूर्वक, कडाईका साथ फिर्ता ल्याइन्छ । फिर्ता ल्याउँदा कसलाई मर्का पर्छ हेरिने छैन ।’
प्रधानमन्त्रीले सरकार भ्रष्टाचारविरुद्ध अझै कडा रुपले प्रस्तुत हुने बताउनुभयो । ‘वाइड वडी प्रकरण छानविन हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यसमा दोषी ठहरिएकाहरुलाई कारबाही हुन्छ । भृकुटीमण्डप हामीले बेचेको हो ? रत्नपार्कमा हामीले टहरा ठड्याएको हो ? हामीले त्यहाँका टहरा भत्काएका छौ । सरकारी जमिन फिर्ता ल्याएका छौ ।’
प्रधानमन्त्रीले बम पड्काउने तथा आतंक फैलाउनेहरुमाथि लगाइएको प्रतिबन्ध फिता नहुने बताउनु भयो ।