काठमाडौं । राजधानीबाट प्रकाशित अखबारहरुले फरक–फरक विषयलाई प्राथमिकता दिएर समाचार छापेका छन् ।
बुधबार जनतासमाचार डटकममा मजदुर दिवसका कार्यक्रमहरु, राष्ट्रपति भ्रमण छोट्याएर चीनबाट फर्किएको, एकल महिलाको जग्गा हडपेको लगायतका अन्तर्राष्ट्रिय, राजनीतिक, सामाजिक, आर्थिक, मनोरञ्जनात्मक समाचारहरु प्रकाशित भए ।
नागरिक दैनिकले हरिसिद्धिको चार सय २० रोपनी जग्गा एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ र जीतबहादुर श्रेष्ठले हिनामिना गरेको समाचार छापेको छ । यस्तै नेकपाको पोलिटब्युरो गठन भएको र भागबन्डामा सहमति भएको समाचार पनि आजको नागरिक दैनिकले छापेको छ । समाचारमा दाहाल ४९, ओली ३८, नेपाल ३६, थापा १०, गौतम ७, श्रेष्ठ ७ जना गरि भागवण्डा मिलाएको उल्लेख छ । त्यसैगरी बझाङमा रक्सीसँग यार्सागुम्बा साट्ने गरेको समाचारले पनि पत्रिकाको पहिलो पृष्ठमा स्थान पाएको छ ।
‘१ पैसामै १७ उपकरण’ शीर्षकको समाचार कान्तिपुर दैनिकले छापेको छ । राष्ट्रिय चिकित्सा विज्ञान परिषद्मा सस्तोमा टेन्डर पारी बजारमा नपाइएको भन्दै महंगोमा सामान किन्ने गरिएको समाचारमा उल्लेख छ । यस्तै सिभिल सहकारी वित्तीय जोखिममा रहेको समाचारमा साढे १९ करोड धितो राखेर ७ अर्ब ऋण लिएको उल्लेख गरिएको छ ।
नयाँ पत्रिका दैनिकले सिंहदरबारभित्रकै .जग्गा अतिक्रमणमा परेको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । समाचारमा सर्वोच्च सचिवालयकै ४६ रोपनी जग्गा मिचिएको र फिर्ता गराउन २०५२ मै प्रतिवेदन तयार भएता पनि सरकार मौन रहेको समाचार पत्रिकामा प्रकाशित छ । यस्तै मध्यसहरमा टुकुचा खोला नै गायब भएको समाचारलाई पनि पत्रिकाले प्राथमिकताका साथ छापेको छ । समाचारमा नारायणहिटीभित्र खोला भएता पनि बाहिर आउँदा खोला नै हराएको प्रसङ्गलाई पनि समेटिएको छ । राष्ट्रपतिको चीन भ्रमणमा जाँदा हवाइयात्रुले सास्ती पाएको कुरा त हामी सबैलाई थाहा नै छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको नेपाल फिर्ता हुने समयमा पनि दुईवटा अन्तर्राष्ट्रिय उडानहरु फिर्ता भएको नयाँपत्रिकाले छापेको छ । यस्तै म्याग्दीमा दलित प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको घरमा कुटिएको प्रसङ्ग समेटिएको छ । दलित भएर मगरको घरमा पस्ने भन्दै उृनीमाथि कुटपिट भएको हो ।
भूमाफियाको बिगविगी शीर्षकमा राजधानी दैनिकमा छापिएको समाचारमा बालुवाटार प्रकरण बिर्साउने गरी जानकी मन्दिर अतिक्रमणमा परेको प्रसङ्ग समेटिएको छ । जानकी मन्दिरको जग्गामा व्यक्तिगत घर र सटर बनाई भाडामा लगाउने गरेको, मन्दिरको आधिकारिक श्रेस्तानै गायब भएको, सरकारभन्दा मन्दिरका महन्थ र भूमाफिया शक्तिशाली भएको र अनाधिकृत कागज बनाई बेचेको जग्गामा महन्थको हस्ताक्षर भएको पत्रिकामा उल्लेख छ । यस्तै सरकारको नीति तथा कार्यक्रम पराम्परागतभन्दा पनि एक्सनमा आधारित हुने भएको समाचार पनि आजको राजधानीमा छापिएको छ । त्यसैगरी मेडिकल कलेजको चर्को शुल्कको कुरा केहीसमययता व्यापक चर्चामा आएता पनि शुल्क फिर्तासम्बन्धी सहमति कार्यान्वयनमा नआएको कुरा पनि समाचारमा छापिएको छ ।
‘बर्खे बालीलाई छैन मल’ शीर्षकको समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ । समाचारमा डेढ लाख मेट्रिक टन मल आवश्यक भएकोमा १८ हजार मेट्रिक टन मौज्दात रहेको र खरिद प्रक्रियामा अर्थ मन्त्रालयको शर्त बाधक भएको समाचारमा उल्लेख छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा कर्मचारी र संरचनाको अभावमा काम गर्न अप्ठ्यारो भएको समाचार अन्नपूर्ण पोस्ट्को अड्डामा अन्नपूर्ण स्तम्भमा छापिएको छ । गुठी जग्गाको मुआब्जा सरकारले नै नतिरेको समाचारलाई पनि पत्रिकाले पहिलो पृष्ठको कर्नरमा छापेको छ ।