भक्तपुर । नेकपा नेता नारायणकाजी श्रेष्ठले हरेक क्रान्तिले नयाँ रुपान्तरणको सिर्जना गर्ने बताउनुभएको छ ।
भक्तपुरको खरिपाटीमा मदन भण्डारी एसियाली विद्यालयले सञ्चालन गरेको २१ दिने शैक्षिक तालिमको उद्घाटन गर्दै नेता श्रेष्ठले कम्युनिष्ट नेतृत्वबाटै नेपालको तिव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव हुने बताउनुभयो ।
उहाँले समाजवाद उन्मुख कम्युनिष्ट पार्टीको बर्तमान नेतृत्वले मुलुकको समृद्धी र आर्थिक विकासको जिम्मेवारी लिएको उल्लेख गर्नुभयो । २१ दिने शैक्षिक तालिमको औचित्यबारे प्रष्ट पार्दै नेपाली क्रान्ती र यसबाट प्राप्त उपलब्धी एवं रुपान्तरणका अनुभवहरु तालिममा आदानप्रदान हुने जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा नेताहरु लिलामणि पोखरेल, राधा ज्ञवाली, शान्ता मानवी, शशि श्रेष्ठ, सुमन प्याकुरेल, सोम मिश्रलगायतले मदन भण्डारी एसियाली विद्यालय कम्युनिष्ट नीति, दर्शन र सिद्धान्त पढ्न, बुझ्न र जान्न पाउने साझा थलोका रुपमा स्थापना भएको बताउनुभयो ।
तालिममा अमेरिका, ब्राजिल, चीन, मोरक्को, मलेसिया, अर्जेन्टिना, इटली, भेनेजुयला, इन्डोनेसिया, पाकिस्तान, जाम्बिया, श्रीलंका, दक्षिण अफ्रिकालगायत १५ मुलुकका ५० जना सहभागि रहेको आयोजकले जनाएका छन् ।