काठमाडौं । एकीकृत एमाले र माओवादी पार्टीमा ठूला नेताको रोजाइमा परेका पहिलो महासचिव विष्णुप्रसाद पौडेलले सोमबार तेस्रोपटक आफू ‘आठ आना’मा निर्दोष रहेको बताउनु भएको छ । उहाँले सायद थाहा पाउनु भएन, प्रधानमन्त्री केपी ओलीले पनि पौडेललाई ‘आठ आना’मा धेरै नउडाउनुस् भनिसक्नु भएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षले नै माउले चल्ला च्यापे झैँ छोप्दा पनि असुरक्षा अनुभूत भएछ महासचिवज्यूलाई । त्यसैले दुई विज्ञप्तिपछि तेस्रो पटक सोमबार उहाँले सरकारको ‘नीति तथा कार्यक्रम’मा समेत टिप्पणीक्रममा आफूलाई बालुवाटार कि कतातिरको आठ आनामा जोडियो, दोषी पाइए कारबाही भोग्न तयार छु भन्नुले आठ आनाले दुई तिहाइको पार्टी महासचिव निकै अप्ठेरोमा पर्नु भएको संकेत गर्छ । मञ्च पाए भने विषयबस्तु बाहिर गएर नेताहरु बोल्छन् भन्नेमा नीति तथा कार्यक्रममा समेत यस्तो बयान आएपछि थप शंका गरिरहन पनि परेन । हुन त महासचिवलाई अध्यक्षद्वयबाट दह्रो ‘रक्षाकवच’को आभाष नभएर पनि पटक पटक साबुन घस्नु परेको होला, पत्याउनेले रिठ्ठाजति पनि नठानेपछि कलियुगमा कसको के लाग्छ र ? हरेक महिना एउटा न एउटा पात्र खुइलिइरहेका बेला आठ आनामा महासचिव पनि खुल्याउने काममा पार्टीभित्रैबाट षड्यन्त्रको टोर्नाडो ल्याइयो कि भन्ने शंका उब्जिन गए महासचिवको कोपभाजनमा स्वयम् अध्यक्षहरु पर्नेमा संयोग मात्र हुने छैन । समीकरणको नयाँ रुद्रीपाठ शुरु हुन सक्छ !
बालुवाटार जग्गा प्रकरण स्वयम् प्रधानमन्त्री केपी ओलीको खोज हो, यसमा गौरव गर्नुपर्छ भन्ने अर्को एउटा ‘बुद्धिजीवी समूह’ पनि सतहमा देखिन्छन् । हो, प्रधानमन्त्रीले बालुवाटार हिनामिना प्रकरणमा गोप्यरुपमा समिति बनाउनु भयो । खोजबिन गर्नुभयो । त्यसमा दोषीहरु पनि भेट्टाउनु भयो । सर्प–भ्यागुता–बिच्छी चक्रमा दोषीहरु यस्तै परे त प्रधानमन्त्री के गरुन् ? जग्गा छाडिन्न । किन्नेहरु जोसुकै भए पनि उनीहरुको लालपूर्जाले काम गर्ने छैन अब । त्यसमा पनि स्वयम् प्रधानमन्त्रीले केही कारबाही हुन्न भनिसक्नु भएको छ । कारबाही यो भन्दा अरु के हुन्छ र ? आफूलाई बिपी कोइरालाको अशल चेला बताउने रामचन्द्र पौडेलले सत्तामा रहँदा भनेको सम्झौँ, सामान्य घटनामा नागरिकको ज्यान जाँदा बिपीले त्यतिखेर गृहमन्त्रीबाट राजीनामा दिएका थिए, यत्रो प्रकरणमा तपाईं मुछिनु भयो, बिपी चेलाले राजीनामा दिनु पर्दैन ? मिडिया बढ्ता नै थुतुनो चलाउने भएर रामचन्द्रलाई राजीनामा माग्ने हुँदा उहाँको सपाट उत्तर थियो, ‘यस्तो एउटा–एउटा घटनामा राजीनामा दिएर राजनीति उँभो लाग्छ ? किन दिनु राजीनामा ?’ बिपीले यो उत्तर सुन्न पाएनन् । हामीले सुनेर हास्नु न रुनु ? राजनीति र नैतिकताको भेटघाट हुँदैन भनेर विश्वलाई थाहा छ, २५ वर्षको राजनीतिक परिवर्तन हेरेपछि सबैभन्दा बढी ज्ञान नेपाली जनतामा छ, जो अब केही वर्षपछि सुखी नेपाली हुँदैछन्, न बिरामी पर्ने छन्, न कुनै रोग लाग्नेछ, स्वयम् आदित्य बाबाका चेलाहरुद्वारा प्रसारित हालसालैको वाणी हो यो ।
यो घोर कलियुग हो । यहाँ चिन्नेहरुले भन्दा बढी नचिन्नेहरुले गाली गर्छन् । भोट हाल्नेहरुले भन्दा बढी नहाल्नेहरुले चोट दिन्छन् । त्यसैले बेलाबेला स्वयम् पुष्पकमल दाहाललाई पनि सबै छाडेर जोगी बनौँ भन्ने वैराग्य नजागेर ‘जंगल जाउँजाउँ’ पो लाग्छ ! थाहा छैन, त्यो जंगलमा के छ, तीन–चार महिनामा दाहालले जंगल यादिनुहुन्छ । उहाँको पालाको जंगल नै कहाँ होला र अब, जबकि, बालुवाटार त जन्मदिनको केक झैँ टुक्रा भइसक्यो । राजतन्त्र फालियो, प्रदेश सरकार बन्यो, अब जंगल के का लागि जाने ? न रामको १४ वर्ष बनबास जाने त्रेता युग हो यो ? तै पनि नेताहरु वैराग्य व्यक्त गर्दा उल्टो अर्थ लाग्ने वाणी ल्याउँछन् । ‘कार्यकारी राष्ट्रपति’ बाहेक दाहालका कुन रहर पूरा भएका छैनन् र अब ? धेरैले अनुमान गरेका छन्, महासचिव पौडेलको राजीनामा हुनुपथ्र्यो । हो, यो सत्ययुग मात्र होइन, २०१५ सालतिरको बिपी युग मात्रै भए पनि राजीनामा हुन्थ्यो, समय ६० वर्ष पछाडि छ । ३५ वर्षसम्म कुरेर सत्तामा पुगेकाहरुले राजीनामा दिने कुरा आउँछ ? अथवा यो पनि भनौँ, अरु कति यस्ता प्रकरण आउलान्, पटाक्षेप हुनै बाँकी छ, अहिले नै त्यो ‘एकथान राजीनामा’ दिए पछि के दिने ? सबैजना पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीजस्तो देशै छाडेर भाग्ने कुरा पनि त आएन । यो एकथान मनका भावना हो, पढेपछि कस्तो पूर्वाग्रही भनेर झनक्क रिसाउने, सामाजिक सञ्जालमा गाली गर्ने तपाईंको सर्वाधिकार सुरक्षित छ । नपढी र विषयबस्तु भन्दा बाहिर प्रतिक्रिया दिन चैँ मनाही ल ! यो पनि भनाइ छ, कहिलेकहीँ बदमासलाई जेल हाल्दा ऊ त जेलरलाई नै जेल बिक्री गरेर पैसा लिएर भाग्न सफल हुन्छन् रे !’ अर्काथरि भन्छन्, ‘हैट, उडाउनुको पनि हद हुन्छ नि, तरिका हो यो ?’
यो पनि पढ्नुहोस्
‘बालुवाटार जग्गामा दोषी देखिए कारबाही भोग्न तयार छु’