भारत विहारकोे बेगुसराय क्षेत्रबाट भारतीय कम्युनिष्ट पार्टीको उम्मेद्वार बनी खडा भएका छन् कन्हैया कुमार । हाम्रो पुस्ताको युवा त्यहाँका शक्तिशाली प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीका विचारका खिलाफमा जसरी लडिरहेको छन्, त्यसलाई सामाजिक सञ्जालमा पछ्याएर मात्र हैन ग्राउण्ड जिरोमै गएर अध्ययन अवलोकन गर्ने चाह भयो । कन्हैयाको चुनावी मैदानमा क्रियाशील साथी सुशिल कुमारमार्फत उनीसँग भेटघाट हुने निधो साथी करुणाले मिलाइन् ।
त्यसपछि उनीसहित क्यामेराम्यान विष्णु थापा, साथी सरोज यादव, अफरोज अर्पण र म लाग्यौँ रक्सौल, मुजफ्फरपुर हुँदै बेगुसराय । करिब ३० घण्टा बेगुसरायमा अध्ययन गर्ने अवसर मिल्यो । हामी रातमा पुग्यौँ बरौनी स्टेशन । त्यहाँबाट केही किलोमिटर पर बेगुसराय जिरो किलोको एउटा होटेलमा केही छिन आराम गर्यौँ । कहिले बिहान होला र कन्हैया चुनावि अभियान हेर्न पाइएला भन्ने मनमा थियो । बिहान सबेरै सात बज्नु अघि हामी पुग्यौँ विहाटस्थित कन्हैयाको घर ।
नेता नहि बेटा
कन्हैया चुनावमा स्थानीय बेगुसराय निकै चलेको नारा हो ‘नेता नही बेटा’ । यसपटकको चुनावमा हजारौँ आश्वासन दिएर केही पुरा नगर्ने नेता हैन बेगुसरायको धर्ती बुझेको बेटा अर्थात कन्हैया कुमारलाई भोट गर्न कन्हैया कुमारका अभियान्ताहरु लागि परेका छन् ।
केन्द्र सरकार र त्यसका प्रधानमन्त्री मोदीले कन्हैया कुमारलाई झुटो आरोपमा पक्राउ गरेर बेगुसरायकै अपमान गरेको भन्दै उनीहरुले त्यसको बदलास्वरुप पनि बेगुसरायबाट कन्हैयालाई जिताएर आफ्नो सन्देश दिन मतदातालाई आह्वान गरिरहेका छन् ।
हम लेके रहेंगे आजादी
त्यहाँ चलेको नारा छ हम लेके रहेंगे आजादी । अर्थात् स्वतन्त्रता लिएरै छाड्छौँ । बेरोजगारी, गरीबी, अशिक्षा र पुँजीवादबाट मुक्ति भारतले चाहेको र भारतको सत्ताधारी दल ठुलाठुला कर्पोरेट स्वार्थको प्रतिनिधि भएकोले गरीब जनताको प्रतिनिधीस्वरुप कन्हैयालाई जिताउनुपर्ने उनीहरुको अपिल छ ।
जातिवाद र सामाजिक फासिवादविरुद्ध लडाइँ
भाजपा र त्यसको मातृसंस्था आरएसएसले आफूविरोधी जति सबैलाई अराष्ट्रिय भन्ने गरेकोमा कन्हैया र उनका समर्थकको रोष छ । हिन्दुत्वको आवरणमा हिन्दु मुसलमानबीच सद्भाव भड्काउने, जातिवाद चर्काउने र समाजलाई विखण्डन गर्ने मोदीको एजेण्डाका विपक्षमा हिन्दु मुस्लिम शिख इसाइ हिन्दुस्तानका चार सिपाही भन्ने पक्षमा सबै बेगुसरायबासीले मत दिन उनीहरुको अपिल छ । आफुबाहेक सबैलाई अराष्ट्रिय देख्ने र बैचारिक मतभिन्नतालाई इन्कार गर्ने मोदी सत्ता सामाजिक फासिवादी भएको भन्दै त्यसविरुद्ध कन्हैयाको उम्मेद्वारी भएको उनीहरुको भनाइ छ ।
अभियन्ता मजबुत, जनतामा अलमल र डर
अभियान्ताहरु जुन विश्वास र मजबुतीका साथ आफ्ना भनाइ राख्छन् जनता भने अलमलमा देखिन्छन् । हामीले प्रयोग गरेका अधिकांश स्थानीय अटो चालकहरुले मोदी र उनका प्रतिनिधिले चुनाव जित्ने बताए । एक अटोवालाले करिब एक किलोमिटरकाे यात्रामा त्यहाँका भाजपा उम्मेद्वार गिरिराज सिंहले जित्ने बताए । जब हामी ओर्लियौँ, उनलाई के लाग्यो कुन्नी, कन्हैयाको समर्थनमा चलिरहेको र्याली देखाउँदै भने, ‘ये लड्का जो बतारहा है , वो सही है । लेकिन आजकल सही बात बताना मुश्किल है हिन्दुस्तानमे । कोही उनकाे (आरएसएस कार्यकर्तालाई संकेत गर्दै) केहदिया तो हमे भि मुश्किल हो सकता है ।’ हामीलाई लाग्यो अटोवालाहरुलाई सत्ताधारीको प्रचार गर्न केही कुछ गरिएको छ र उनीहरु मनको कुरा गर्न डराइरहेका छन् ।
अरु क्षेत्रबाट कन्हैयाको समर्थनमा आएकाको पनि मनमा डर उत्तिकै रहेको पाइन्थ्यो । भारत पुर्णियाबाट त्यहाँ पुगेका केही युवाले हामीलाई उनीहरु लालु यादवको पार्टीको समर्थक भएता पनि कन्हैयाका लागि भोट माग्न आएको बताए । तर उनीहरुले यो काम बचेर गर्नुपर्ने उनीहरुको मनोविज्ञान बुझिन्थ्यो ।
अभियानमा व्यापक समर्थन र उत्तिकै विरोध
निकै जोशका साथ अभियानहरु चलेका छन् । युवाहरु व्यापक नारा लगाउँछन् ‘देशकी जनता करे पुकार, कन्हैया कुमार कन्हैया कुमार’ । उता सार्वजनिक छलफलका मञ्चमा भाजपा समर्थकको नारा लाग्छ ‘लालगुलामी छोडके बोलो बन्दे मातरम् ।’ यता कन्हैयाका समर्थक भन्छन् ‘नहीँ चलेगा भँडुवावाद, केहना होगा लालसलाम ।’ भाजपा अभियानका सबैले आफुलाई मै भि चौकिदार भन्दै कन्हैयालाई देशद्रोही भन्ने, अभियानका क्रममा कालो झण्डा देखाउने समेत गर्छन् । उता कन्हैयाका अभियान्ता निसंकोच भनिरहेका हुन्छन्, ‘चौकीदार चोर है, कन्हैयाकि जीत स्योर है ’ । समर्थन र विरोधका नाराहरुबीचमा कन्हैया आफै पनि विरोधीहरुसँग सम्वाद गर्छन् । उनको चुनावी अभियानमा प्रचार गर्न स्थानीय सिपीआइका नेता, जेएनयु र अन्य विश्वविद्यालयका विद्यार्थी नेताहरु मात्र हैन भारतका सबै बामदल, स्वयम् सिपिआइएमका महासचिव सितराम यचुरी, राष्ट्रिय कलाकार स्वरा भाष्कर, जावेद अख्तर , साबाना आजमी, प्रकाश राजहरु पनि बेगुसराय पुगेका छन् ।
क्राउड फण्डिङ
उम्मेद्वार भएलगतै कन्हैयाले जनसहयोगको अपिल गर्दै एकएक थोपाले माटो घैटो भरिन्छ तसर्थ मेरो चुनावी कोषमा एक रुपैया सहयोग गर्नुस् भन्दै सार्वजनिक आह्वान गरेका थिए । यसै अन्तर्गत अनलाइन क्राउड फण्ड मार्फत उनले ५,५०० भन्दा बढी व्यक्तिहरूकाे सहयोगले ७० लाख उठाएका छन् । कुनै ठूलो पुँजीपतिको हैन जनताको पैसाको सहयोगमा चुनाव लड्दा मात्र जनताप्रति उत्तरदायी भइन्छ भन्ने उनको भनाइ छ ।
घरमा र पार्टी कार्यालयमा सादा मेस
सहयोगीहरुलाई कन्हैयाकुमारको घरमा र भाकपाको जिल्ला पार्टी कार्यालयमा अत्यन्त सादा खाना नास्तासहितको मेस चलाइएको छ । भड्किलो चुनाव शैलीले मुल मुद्दाबाट पनि अलग हुने खतरा रहेको उनीहरुले बताए ।
रहरलाग्दो खटाइ
कन्हैयाको चुनावि खटाइ रहरलाग्दो देखिन्थ्यो । बिहान ६ बजेबाट रातको २ बजेसम्म हामी उनको दैनिकी पछ्याउँदा उनको उत्साह उत्तिकै थियो । समर्थकहरुको टोलि पनि उत्तिकै कटिबद्ध पाइन्थ्यो । विरोधको सामना गर्नुपर्दा समेत अनावश्यक उत्तेजनालाई उनीहरु नियन्त्रण गरिरहेका हुन्थे । दिउँसो सडकयात्रा गर्दा कतै स्नेहका माला त कतै गाली दुवै सुन्नु पथ्र्यो । गाली र तनावपुर्ण अवरोधलाई पनि झडपमा परिणत नहोस् भनी कन्हैया र उनका साथी निकै सचेत रहेको पाइन्थ्यो ।
देश जोड्ने भाषण
रातको १२ बजे एउटा गोप्य भेलामा कन्हैया कुमारले सम्वोधन गर्ने कार्यक्रम थियो । उनी भन्दै थिए, 'यो देश मुसलमान मोहम्मद रफीले गाएको भजन हिन्दुको मन्दिरमा बजाइने देश हो । हामी हुर्कँदा ‘हिन्दु बनेगा ना मुसलमान बनेगा, इन्सानका औलाद है इन्सान बनेगा’ भन्ने गित सुन्दै हुर्केको । हाम्रा चाडबाडमा हेरौँ, मुसलमानको रामाजानमा राम छ, हिन्दुको दिवालीमा अलि छ ।' यसरी उनी जातीय सद्भावको पक्षमा कुरा गरिरहेका थिए । बेगुसरायको जनसंख्या र चुनावमा त्रिपक्षीय लडाइँ भनेर मिडियाले बताइरहेको तर यहाँको जनताले शिक्षा, स्वास्थ्य, गरिबी, बेरोजगारीको विषयमा सोच्नुपर्ने उनले जोड दिन्थे । मिठो शैलीमा प्रधानमन्त्री मोदीको आलोचना गर्दै उनी भन्दै थिए, मोदी जी १८ घण्टा काम गर्छु भन्दैछन्, तर यो चुनावमा म पनि १८ घण्टा काम गर्दै छु । म डढेर कालो कालो भैुसकेँ तर उनी किन रातो र उज्यालो छन् ? १८ घण्टा काम गर्ने कसरी उज्यालो हुन्छ ? रातको एक बजे जनता चुँ नबोली उनको कुरा बेलाबेला ताली ठाेक्दै सुनिरहेका थिए ।
उनले बेगुसरायका मतदातालाई आफू मोदीको गलत नीतिका खिलाफ लडिरहेको र महागठबन्धका उम्मेद्वार तनवीर हसनभन्दा यो लडाइँका लागि आफु उपयुक्त भएकाले सबै भाजपा विरोधिले आफूलाई भोट हाल्न आस्वस्त पारिरहेका थिए ।
कन्हैया प्रधानमन्त्री, तेजस्वी मुख्यमन्त्री
रातमा भएको त्यो ठाउँ लालु यादवको पार्टी आरजेडीको पकड क्षेत्र रहेछ । त्यहाँका आरजेडीकै एक अगुवाले आफ्नो मन्तव्यमा भन्दै थिए, केन्द्रसँगको लडाइँमा डा. कन्हैया कुमार जो एकदिन भारतको प्रधानमन्त्री बन्छ बेगुसरायबाट र यहाँ विधान सभाको निर्वाचनमा भने तेजश्वी यादव (जो लालु यादवका छोरा हुन्) लाई मुख्यमन्त्री हुन सघाउनुपर्ने भन्दै थिए । कन्हैयालाई महागठबन्धनबाट उम्मेदवारी लालुका छाेरा तेजश्वी यादवकाे भविष्य संकटमा नपराेस् भनी बच्नका लागि नदिइएकाे समेत त्यहाँ चर्चा थियाे ।
पैसा भर्सेस जनता
जिल्ला पार्टी कार्यालयमा भने निर्वाचन परिचालन गरेर बसेका एस एन आजाद लगायतका नेताहरु यो चुनाव जनता र पैसाबीचको लडाइँ भएको बताउँथे । हामीसँग सम्वाद गर्दा त जनताको जीत नै कन्हैयाको जीत हुने बताए पनि भाजपाले करोडौँ खर्च गर्दा त्यो सँग जितिन्छ नै भनेर यकिन चाँही देखिँदैन थ्यो ।
आखिर जीत कसको हुन्छ ?
यो चुनावमा भाजपाका गिरिराज सिँह, महागठबन्धनका तनवीर हसन र भाकपाका कन्हैया कुमार कसले जित्ला त ? यस विषयमा बेगुसरायका जनताको फैसला निर्वाचन मसिनमा गत अप्रिल २९ मै कैद भैसकेको छ । यसको गणनामा सत्ताको दुरुपयोग होला कि नहोला । त्यो कति निष्पक्ष होला, कन्हैया र उनका साथीको मिहिनेत के भयो त्यो त थाहा हुँदै जाला । तर कन्हैयाले उठाइरहेका मुद्दा न्यायप्रेमी एवं श्रमजीवि जनताको आवाजको रुपमा खुला छन् । कन्हैयाकै शब्दमा भन्दा यो चुनाबी परिणामले उनलाई धेरै अर्थ राख्दैन तर जसरी उनले उठाएको एजेण्डामा जनताको समर्थन, समग्र देश र अन्तराष्ट्रिय क्षेत्रको जुन ध्यान खिचेको छ, त्यसले उनको जीत भैसकेको छ ।
कन्हैयाप्रति कुनै शंका छैन त ?
कन्हैयाले जुन अपार समर्थन र समग्र बामहरुको ध्यान प्राप्त गरेका छन् त्यत्तिकै उनीप्रति संशय पनि छ । एक उनले उठाइरहेको प्रमुख मुद्दा अहिले भारतको संविधानको कार्यान्वयनको मुद्दा छ । यो मुद्दा आफैँमा क्रान्तिकारी मुद्दा त्यहाँका सबै वाम दलले मानेका छैनन् । दुइ, उनले यो विषय जसरी उठाइरहेका छन् त्यसले मात्र सामाजिक फासिवादका विरुद्ध र समाजवादका पक्षमा निर्णायक पहलकदमी हुन सक्दैन । तीन, उनले संगठन र पार्टी आन्दोलनमा भने आफुलाई कसरी होम्छन् ? यस विषयमा स्वयम् भाकपाका कतिपय पार्टी नेता पनि ढुक्क छैनन् ।
कतिमा यो भर्खरको युवा मेडियाको बलमा नेता भयो भन्ने कुण्ठा छ, कतिमा आन्दोलनमा सँधै समर्पित होला नहोला भन्ने अन्योल छ । यसरी कन्हैयाप्रति केही शंकाहरु पनि छन् । उनले भारतीय परिवेशमा माक्र्स, अम्बेडकर र गान्धीलाई गाँस्नुपर्ने बताएका छन् । यही मुद्दामा पनि सैद्धान्तिक अस्पष्टता रहेको सीपीआई र अन्य बाम कार्यकर्ताको बुझाइ छ । यी शंकाहरु भविष्यमा निवारण हुँदै जालान् तर आज यो लोकसभा चुनावमा विना शर्त कन्हैयालाई सघाउन प्रायः सबै वाम नेता तथा कार्यकर्ताहरू तयार देखिन्छन् ।