काठमाडौं । विश्वकप क्रिकेट नजिक आउँदैछ । यस्तैमा आईआईटी क्याम्पसको प्रश्नपत्रमा पनि क्रिकेटको सर्गर्मीले छोएको देखिन्छ ।
आईआईटी मद्रासको सेमेस्टर परीक्षामा यसपटक क्रिकेटसँग जोडिएको प्रश्न सोधिएको छ । प्रश्न पढेपछि प्रत्येक विद्यार्थीको मुहारमा पक्कै पनि मुस्कान आएको हुनुपर्छ ।
आईआईटीमा सोधिएको प्रश्नमा ‘महेन्द्रसिंह धोनीले मुम्बई इंडियन्सविरुद्धको क्वालिफायर खेलमा टस जितेमा पहिला के रोज्नुपर्छ ?’ भनी सोधिएको छ ।
संस्थानका प्रोफेसर विग्नेशले प्रश्न राख्नुको उदेश्य विषयलाई समय सान्दर्भिक बनाउनु रहेको बताएका छन् । आईसीसीले आफ्नो इंस्टाग्राममा प्रश्नपत्रको स्क्रिन सट राखेर लेखेको छ, ‘के टसको फैसला लिनको लागि धोनीलाई कसैबाट मद्दत मिल्छ ?’
प्रश्पत्रको साथमा केही तथ्याङ्क पनि दिइएको छ । सोधिएको प्रश्नमा भनिएको छ, ‘आईपीएलमा ७ मेमा चेन्नाई सुपरकिंग्सको क्वालिफायर–१ खेल छ । मौसमको पूर्वानुमानको अनुसार, चेन्नाईमा ७० प्रतिशत आद्रता रहने अनुमान गरिएको छ । खेलको शुरुवातको तापक्रम ३९ डिग्री सेल्सियस रहनेछ । दोश्रो पारीको शुरुवातमा मौसम घटेर २७ डिग्रीसम्म झर्न सक्ने अनुमान छ । यसको आधारमा यदि धोनीले टस जिते भने तपाई पहिले ब्याटिङ गर्ने सल्लाह दिनुहुन्छ की बलिङ । तथ्यको आधारमा जवाफ दिनुहोस् ।’
प्राफेसर विग्नेशले भने, ‘दिन–रातको खेलमा शीतको मुख्य भूमिका हुन्छ । फिल्डमा भएको शीतले बललाई भिजाउँछ, जसले स्पीनरहरुलाई बल समात्न र बल घुमाउन अप्ठ्यारो हुन्छ भने फास्ट बलरहरुको लागि पनि सहि लेन्थमा बलिङ गर्न अप्ठ्यारो हुन्छ ।’
आफूले यो प्रश्न साइकोमेट्रिक चार्ट र आद्रताको गणना गर्ने विद्यार्थीहरुको बुझेको छ वा छैन पत्ता लगाउन सकिन्छ भन्ने उदेश्यका साथ प्रश्न समावेश गरेको प्रोफेसर विग्नेशको स्पस्टोक्ति छ । उनका अनुसार यस्ता प्रश्नले विद्यार्थीहरुको रोचकता बढ्नेछ ।
प्रश्नपत्रको एक तस्बिर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आफ्नो सामाजिक सञ्जालमा पनि राखेको छ ।