काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न अखबारले फरक फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।
बिहिबार जनतासमाचार डटकम मा संघीय निजामति सेवा गठनबारे छलफल, डेढ किलो सुनसहित पक्राउ, ‘अपराधका घटनाको सफल अनुसन्धान’ ,कपडाको अवैध व्यापार रोक्न माग, ‘कर्णाली’ का लागि विशेष योजना, आइआइटी क्याम्पसको परीक्षामा प्रश्न, ‘टस जितेमा धोनीले के रोज्नुपर्ला ?’ र मिस नेपाल २०१९ प्रतिष्पर्धा जारी लगायतका राजनीतिक, सामाजिक, आर्थिक, मनोरञ्जन र खेल सम्बन्धि समाचार प्रकाशित भए ।
नयाँ पत्रिका दैनिकले ‘बुढीगण्डकीमा माफियाको चलखेल’ भएको समाचारलाई आफ्नो मुख्य समाचार बनाएको छ । समाचार अनुसार राजनीतिक शक्तिका आडमा मन्त्री र सचिव हेरफेर गर्ने हैसियत राख्ने सुशील भट्ट र दिपक भट्ट दाजुभाइले बुढीगण्डकीमा हात हालेर अलपत्र पार्न खोजेको उल्लेख गरिएको छ । राजनीतिक पहुँचका आधारमा देश र जनतालाई प्रत्यक्ष प्रभाव पार्ने यस्तो ठुला योजना अलपत्र पार्न खोजिएको छ । यस्तै ‘निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की कारागारभित्रैबाट’ शिर्षकको समाचार पनि पहिलो पृष्ठमै समेटिएको छ ।
नागरिक दैनिक ले कमलपोखरीमा छाया सेन्टर निर्माण भएको प्रसंगलाई उदृत गर्दै ‘महानगर र पुरातत्वकै स्वीकृति’ शीर्षकमा प्रमुख समाचार प्रकाशित गरेको छ । समाचार अनुसार ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स (छाया सेन्टर) निर्माणका लागि महानगरपालिकाले नै भवन निर्माणका लागि नक्सा पास गरिदिएर सहज पारिदिएको हो । यसैगरि उच्चपदस्थको यात्राले जनतालाई सास्ती शीर्षकमा अर्को मुख्य समाचार पनि छापिएको छ ।
कान्तिपुर दैनिक ले ‘गिट्ठाका भरमा चिया मजदुर’ शीर्षकमा प्रमुख समाचार छाप्दै बिर्तामोडको चिया बगानका मजदुर ४० दिनदेखि आन्दोलनमा रहेको समाचारलाई प्राथमिकतामा राखेको छ । ऐन र नियमावलीअनुसार सुविधा माग गर्दै आफैंले थालेको अनिश्चतकालिन आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक समस्यामा पर्न थालेका छन् । यस्तै, पत्रिकाले ‘नियन्त्रित मिडिया काउन्सिलको तयारी’ र अदालतकै जग्गा कब्जा शिर्षकका अन्य दुई मुख्य समाचार पनि प्रकाशित गरेको छ ।
‘गैरकानुनी आर्जनविरुद्ध आक्रामक कारबाही थालिदैँ’ शीर्षकमा राजधानी दैनिक ले प्रमुख समाचार छापेको छ । समाचार अनुसार राज्यलाई ठगी गर्दै अवैधानीक रुपमा अकुत सम्पत्ति कमाएकामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । यसैगरि लोकसेवा खुल्ने निश्चित, पे्रसलाई अंकुश लगाइने कानुन ल्याइँदै र सिटी एजुकेसन फाउन्डेसनमाथि छानबिन शीर्षकका समाचार पनि प्रथम पृष्ठमा प्रकाशित छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकले ‘किरिया नगर्दा गाउँनिकाला’ शीर्षकमा बुबाको काजकिरिया नगरेको भन्दै गाउँलेले एक परिवारलाई विस्थापित बनाइदिएको समाचार मुख्य समाचार बनाएको छ । यसरी विस्थापित हुनेमा बारा धरमपुरको परिवार रहेको छ । यसैगरि, महसुल नतिरे सुविधाको लाइन काटिने र अनुष्का मिस नेपाल शीर्षकका समाचार पनि प्रथम पृष्ठमा छापिएका छन् ।