काठमाडौं । प्रतिनिधिसभामा आइतबार भइरहेको प्रि- बजेटको छलफलका क्रममा सासंदहरुले बजेट नारामा सिमित नहोस भन्दै आ आफ्ना धारणाहरु राखेका छन् । बैठकमा सांसदहरुले जनताको जिवनस्तर उकास्ने खालको बजेट ल्याइनुपर्ने, कृर्षिको विकासलाई प्राथमिकतामा राख्नुपर्ने र युवाहरुलाई स्वरोजगार बनाउनुपर्ने लगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । यहाँ केही सांसदका भनाइको सम्पादित अंश राखिएको छ ।
ज्ञानेन्द्र बहादुर कार्की , नेपाली कांग्रेस
नारा भन्दा व्यवहारमा सरकारले ध्यान दिनुपर्छ । कनिका छरेजस्तो गरेर बजेट ल्याएर भोटको राजनीति गरिरहेको छ । राष्ट्रिय पुँजी निर्माण गर्ने दाबी खाक्रो नहोस् । स्थानीय निकायलाई दामासाही बजेट बाँड्नु गलत छ । सरकार मितव्ययी नभई राजस्वलाई लगानीमैत्री बनाउन सकिदैन । निर्यात प्रर्वद्धनलाई बजेटमा समावेश गरिएको छैन । हिजोभन्दा आज जनताको जिवनस्तरमा कुनै परिवर्तन नभएको विषयमा बजेट संवेदनशील हुनुपर्छ ।
राजेन्द्र श्रेष्ठ, समाजवादी पार्टी नेपाल
आजको हाम्रो आवश्यकता तिव्र आर्थिक विकाश हो । जलमा उर्जा, जंगलमा जडिबुटी र जमिनमा सिंचाइलाई बजेटले ध्यान दिनुपर्छ । प्रविधिमैत्री कृर्षिमा ध्यान दिनुपर्छ । उत्पादक शक्तिको हातमा उत्पादनका साधनसँग जोड्नुुपर्छ । सोभियत पुँजिवादको मोडेलबाट नभई नयाँ ढंगको जनताका भावनाहरु समेट्ने समाजवादी मोडेलबाट बजेट आउनुपर्छ । रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई सुधार गरेर स्वरोजगार बढाउने गरि अर्थतन्त्रमा सुधार गर्नुपर्छ ।
दुर्गा पौडेल, राष्ट्रिय जनमोर्चा
प्रि बजेटको मुल मान्यता समाजवादउन्मुख संविधानको कार्यान्वयन भएपनि कार्यान्वयन पक्षमा मौनता देखिन्छ । बजेटले जमिनको सामान्य मुआब्जाको पनि विषय सम्वोधन गर्न सकेको छैन । किसानका उत्पादनलाई बजारको व्यवस्था गर्नुपर्छ । चिनसँग भएका सम्झौता ठिक छन् तर कार्यान्वयनमा ध्यान दिनुपर्छ । विदेशी प्रभावबाट जोगिनुपर्छ । प्लटीङको कारण कृर्षि जमिन नासिँदै गइरहेको छ । सरकारले कर्मचारी समायोजना गर्न नसक्नाले समस्या बढाएको छ । दुई नम्बर प्रदेशले देशको संवैधानिक व्यवस्था मिचेर बनाएका कानुनले संघीयतालाई अफ्ठ्यारो पार्ने देखिन्छ ।
हृदेश त्रिपाठी, सांसद
कृर्षि उत्पादन बढाउन कृषिमा आधारित उद्योगहरुको विकासमा जोड दिइनुपर्छ । केही उखुसँग जोडिएको चिनि, टमाटरसँग जोडिएको सस र चामल तथा सिमेन्ट जस्ता उद्योगहरुलाई दलाल अर्थतन्त्रले विकास गर्न रोकेको छ । बजारले उत्पादनको मुल्य निर्धारण गर्ने भएपछि किसान निरास छन् । हाम्रो राज्यका संरचना अत्यन्तै कमजोर छन् ।
सुजाता कोइराला,नेपाली कांग्रेस
सहमति, सहकार्य र मेलमिलापलाई ध्यान नदिएको हुनाले बहुमत भएपनि सरकारले राम्ररी काम गर्न सकिरहेको छैन् । कृर्षि उत्पादन बढाउने हो भने बाढी नियन्त्रणमा ध्यान दिनुपर्छ । गुणस्तरिय शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ र यवाहरुको रोजगारीमा मुख्य जोड दिनुपर्छ ।