Nic

तपोवनमा ‘अचम्म जो मैले देखेँ’ (भिडियाेसहित)


अर्जुन थपलिया

काठमाडौं । बोधिसत्वप्राप्त तपस्वी स्वामी आनन्द अरुणद्वारा लिखित पुस्तकको शनिबार तपोवनमा लोकापर्ण गरियो । लोकापर्ण समारोहमा समकालीन नेपाली समाजका मूर्घन्य बिचारक र लेखकहरु वक्ताका रुपमा आमन्त्रित थिए । पुस्तक पुष्पपत्रले थालीमा छोपिएको थियो । विद्वानहरुले पुष्प पन्छाएर पुस्तक लोकापर्ण गरे– ‘अचम्म जो मैले देखेँ’

तपोभूमि तपोवनमा बुद्धत्वप्राप्त ऋषि स्वामी आनन्द अरुणको आध्यात्मिक साहित्य ‘अचम्म जो मैले देखेँ’ को लोकार्पण समारोह निकै ओजपूर्ण थियो । पुस्तकमाथि विचार राख्ने वक्ताले हस्यौली पारामा अलौकिक जगतको बखान गरे । ठट्यौली गर्दै ब्रह्मज्ञानको रहस्य दर्शाए । विज्ञान र आध्यत्मको तादात्मयताबारे तर्कपूर्ण अभिव्यक्ति दिए ।

पुस्तक लोकार्पण समारोहका पहिलो वक्ता हुनुहुन्थ्यो ७९ वर्षीय डा. सुन्दरमणि दीक्षित । दीक्षितले पुस्तकमाथि आफ्नो ज्ञानकोष खोल्नु अगाडि क्रिश्चियानिटीको नेपालमा अनियन्त्रित बिस्तार र धर्म परिवर्तनप्रति कटाक्ष गर्नुभयो । नेपालका जनजाति, गरिब, दलित बस्तीमा क्रिश्चियन समुदायले गराइरहेको धर्म परिवर्तनमाथि बोल्ने बेला भएको भन्दै डा. दीक्षितले भन्नुभयो, ‘ईसाई अभियान अहिलेको जस्तै जारी रहे २० वर्षपछि नेपाल क्रिश्चियनाइज्ड हुनेछ । हिन्दूत्व र बौद्धिस्ट समाप्त हुनेछन् । क्रिश्चियन धर्म परिवर्तनको तीव्र अभियानमाथि कटाक्ष गर्दै उहाँले आशो मार्गलाई हिन्दूत्व र बौद्धिज्म शाखाको उपमा दिनुभयो ।

स्वामी आनन्द अरुणद्वारा लिखत पुस्तक ‘अचम्म जो मैले देखेँ’ लाई डा. दीक्षितले भने गुरु र शिष्यबीचको अनुपम प्रेमको अध्यामिक दस्तावेज भएको उल्लेख गर्नुभयो । ‘अचम्म जो मैले देखेँ’ पुस्तक वास्तवमै अचम्मको छ भन्दै उहाँले थप्नुभयो, ‘भगवान ओशोले स्वामी आनन्द अरुणमार्फत पुस्तक लेख्नु भएको हो, अन्यथा सम्भव थिएन ।’ पुस्तक गुरुभक्ति र शिष्य प्रेमको रसमा डुवाएर निकालिएको जस्तो छ । तर पुस्तकमा सुन्दर तस्बिरको कमी रहेको डा. दीक्षितको टिप्पणी छ ।

डा. दीक्षितले भनाई मैजारो गरेपछि मन्तव्य दिन उभिनु भयो नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल । लुइँटेलले ‘अचम्म जो मैले देखेँ’ पुस्तकको भाषा र शुद्धाशुद्धि पनि उहाँले सम्पादन गर्नुभएको छ । उहाँले पुस्तकमाथि प्रकाश पार्न ‘वाचालम् पंगुम् लंघयते गिरिम्’ श्लोक उद्धरण गर्नुभयो । त्यसको अर्थ हो– ईश्वरीय कृपा भए बक्क लाटो पनि गाउन थाल्छ , खुट्टा नहुनेले पनि शैलको शिखर नाघ्न सक्छ । ‘अचम्म जो मैले देखेँ’ पुस्तकलाई लुइँटेलले ईश्वरीय कृपा र वरदान ठान्नुभयो । स्वामी आनन्द अरुणतर्फ संकेत गर्दै लुइटेलले भन्नुभयो, ‘उहाँ स्वामी जी जस्तो बोल्नु हुन्छ त्यस्तै लेख्नु हुन्छ । यो पुस्तक पढ्दा मलाई स्वामी जीसँग प्रत्यक्ष सम्वाद गरिरहेको अनुभूति भएको छ । पुस्तक प्रेमको दस्तावेज हो यस्तो शुक्ष्मातिशुक्ष्म अनुभव सबैले गर्न सक्दैनन्, यसका लागि विशिष्ठ अन्तरदृष्टि चाहिन्छ ।’

‘झूठो नलेख्नु र लेख्दा नकन्नु’ लेखक खगेन्द्र संग्रौलालाई कुनै विद्वानले दिएको सुझाव उद्धृत गर्दै लुइँटेलले पुस्तक सत्यवचन हो र नकनी लेखिएको बताउनुभयो । लेख्दा सधै एउटै लय समात्नु पर्छ एउटै वचन लेख्ने तर सत्यवचन लेख्ने–लुइँटेलको मान्यता छ । ‘अचम्म जो मैले देखेँ’ यो सुन्दर आध्यात्मिक साहित्यमा स्वामीजीको अन्तरह्दय बोलेको छ । पुस्तकको पानामा स्वामी जीको मुटुको स्वास प्रस्वास उतारिएको छ । लुइँटेलले भनाई बिट मार्नुअघि थप्नुभयो– यो पुस्तक पढेपछि विचलितहरुलाई आराम मिल्छ । आराममा रहेकाहरु विचलित हुन्छन् ।’

त्यसपछि बोल्ने पालो आयो, देव प्रकाश त्रिपाठीको । उहाँले हललाई पटक पटक हसाउनुभयो । उहाँको सरल भनाईले हलमा हाँसोको पर्रा छुट्यो । विद्यार्थीकालको एक अनुभव सुनाउँदै त्रिपाठीले भन्नुभयो, ‘ओशोको साहित्य पढेको थाहा पाएर पार्टीले झण्डै कारबाही गरेको । हलमा हाँसो गुञ्जिएपछि उहाँले मञ्चमा आसिन नेता नारायणकाजी श्रेष्ठलाई साक्षी राख्दै भन्नुभयो–वुर्जुवा पुस्तकहरु नपढ्नू माक्र्स, एंगेल्स र माओको पुस्तकहरु पढ्नू भनेर पार्टीले निर्देशन दिने जमाना थियो ।’

एकपटक मिनभवन क्याम्पसमा महिला मुक्तिको सवालमा सञ्चालित प्रशिक्षण कार्यक्रममा आफूले ओशोको ‘नारी और क्रान्ति पुस्तक’ पढेर सार प्रस्तुत गर्दा परर परर ताली बर्सिएकाे प्रसँग सुनाउदै त्रिपाठीले भन्नुभयो, ‘तर मैले ओशोको नामै नलिई सुनाए नत्र पार्टीले मलाई कारबाही गथ्र्यो । त्रिपाठीको मन्तव्यले नेता श्रेष्ठ पनि मस्किनु भयो हाँसोको खित्काले हल गुन्जियो ।

उहाँले स्वामी आनन्द अरुणको पुस्तक ‘अचम्म जो मैले देखेँ’ माथि प्रकाश पार्नु घि दुई पुस्तकमाथि व्यङ्गवाण प्रहार गर्नुभयो । पृथ्वी घुम्छ भनेर सानैमा पढेको तर कसले कसरी घुमाउँछ भनेर थाहा पाएको थिएन । नेपालमा हालसालै प्रकाशित एउटा पुस्तक पढें । बल्ल थाहा पाए पृथ्वी तिनै लेखकले घुमाउँदा रहेछन् । तर पुस्तक र लेखकको नाम भने त्रिपाठीले खुलाउनु भएन । हलमा फेरि हाँसो पर्रा छुट्यो । सुरक्षा निकायका प्रमुखले लेखेको एउटा पुस्तक पढ्दा ज्ञात भयो –जीवनमा कहिल्यै कुनै गल्ती नगर्ने कोही व्यक्ति संसारमा छन् भने उनी हुन् ।’

त्रिपाठी स्वामीजीद्वारा लिखित पुस्तकमा बल्ल प्रवेश गरे । ‘कप्लना गर्नुस् हिउँले भरिएको हिमालय, कलकल बग्ने नदी, हरियो सुरम्य वन र कलरव गरिरहेका चराहरु’ उहाँले भन्नुभयो, ‘यस्तो दृश्यबाट गुज्रिएको अनुभव भयो यो पुस्तक पढ्दा ।’ त्रिपाठीले थप्नुभयो, ‘ओशो र स्वामी अरुण आनन्दको २२ वर्षे सानिध्यका क्षणहरु पुस्तकमा माला झैं उनिएको छ । गुरुसँग बस्दाको दुखः कष्ट, अभाव तर गुरुप्रतिको अनुराग छ पुस्तकमा । ५० वर्षे आध्यात्मिक साधनाको सविस्तार र सरस तादात्मयता छ ।’

खित्कामाथि खित्का छुटाएर त्रिपाठी बिदा हुनुभयो । उहाँपछि सिनेमा जगतका हस्ति नीर शाह वक्ता बन्नुभयो । उहाँले शुरवात गर्नुभयो, ‘यो पुस्तक हातमा परेपछि म निदाउन सकिन । व्यग्रता बढ्यो र पढि सिध्याए । पुस्तक पढेपछि ज्ञात भयो भौतिक संरचनाको नक्शा कोर्ने इन्जिनियर कसरी अलौकिक संसारमा प्रवेश गर्ने मार्ग निर्माता भए । पुस्तकमा मानवीय रुपान्तरणका अचम्म लाग्दा घटनाक्रमहरु उल्लखित छन् । शिष्यलाई सही मार्गमा लैजान गुरुले गर्नुभएको प्रयत्न, प्रतिपादित सिद्धान्त र अपनाउनुभएको शैली पुस्तकमा भेटिन्छ । स्वामी आनन्द अरुणले चरमचक्षुले देख्नु भएको विशिष्ठ सत्यलाई साक्षात्कार गराउँनु भएको छ ।’

शाह ड्यासमा जानुभयो । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मञ्चमा निम्त्याइयो । जीवनभर भौतिकवादी दर्शनका अध्येता र अनुयायी हुनुभएका श्रेष्ठ अध्यात्मिक सभामा एक अध्यात्मिक साहित्यिक संगालोमाथि बोल्न तयार हुनुभयो । उहाँले शुरुमै भन्नुभयो, ‘म आध्यात्मिक व्यक्ति होइन र धार्मिक त झन् हुँदै होइन । म यहाँ बोल्नका लागि उपयुक्त पात्र पनि होइन । तर स्वामी आनन्द अरुणसँगको सुमधुर सम्बन्धले गर्दा म यहाँ आउन र बोल्न बाध्य भएँ ।

श्रेष्ठले आफूबारे दर्शाउनु भयो, –एक आध्यात्मिक नास्तिक हुँ । म विश्वासी र अविश्वासीको कोटीमा पर्न चाहन्न । विश्वासी र अविश्वासी दार्शनिक रुपमा एउटै सिक्काका दुई पाटा हुन् । मानव समाज, पृथ्वी र समस्त सृष्टीको रचनाकार ईश्वर हुन् र ईश्वरीय विधि विधान धर्म हो भन्ने म मान्दिन । तर म आफूलाई एक ठाउँमा र एक अर्थमा आध्यात्मिक मान्छु । मानवको भित्री हृदयको संसार निरीक्षण गर्ने वैज्ञानिक विधि आध्यात्म हो भने यो विज्ञानलाई म मान्छु । मानिसले आफूलाई सजग निरीक्षण गर्ने, वास्तविक अस्तित्व पहिचान गर्ने, सत्यमा कटिवद्ध रहन स्थिर अभ्यासको साधना गर्ने अर्थमा यो एउटा विज्ञान नै हो । त्यसकारण म आफूलाई एक आध्यात्मिक नास्तिक भन्न रुचाउँछु ।’

नेता श्रेष्ठले पार्टी सचिवालयभित्रको भेद समेत खुलाउँदै भन्नुभयो, – मैले पार्टी सचिवालयभित्र यही कुरा भन्दा कमरेड प्रचण्डले भन्नुभयो, ‘ तपाईं त योगी भएर वन पस्नु हुन्छ कि भनेर शंका लाग्छ ।’ त्यसपछि मैले भने, – हामी योगी र सन्यासी नै हुँ । किनकी कम्युनिष्ट व्यक्तिगत सम्पत्ति संग्रहको मोहबाट मुक्त र कम्युनमा बस्न राजी हुनैपर्छ । यहाँनेर तपोवनबासी र मबीच कमन प्वाइन्ट छ । एकात्मक हुने स्थान छ । अहिलेसम्म म भौतिकवादमै अडिग छु पछि के हुन्छ थाहा छैन ।’
श्रेष्ठले यतिभन्दा सबैले ताली पिटे । हलमा गलल्ल हाँसो गुञ्जियो । श्रेष्ठले ‘अचम्म जो मैले देखेँ’ माथि टिप्पणी गर्दै भन्नुभयो, ‘पुस्तकमा गहन जीवन्तता, स्वच्छतारसत्प्रयाश झल्किन्छ । पुस्तक सत्यको सागर हो र लेखक स्वामी जीको मुक्ति यात्राको वृतान्त छ ।’

उहाँले रुपचन्द्र विष्टलाई उद्धृत गर्दै थप्नुभयो, ‘मानिस मुक्ति यात्रामा सिधै बुद्ध बन्न चहान्छन् तर सिद्धार्थ गौतम हुन चहादैनन् । सिद्धार्थ गौतम जस्तै मिसनप्रतिको अनुराग चाहिन्छ ।’ श्रेष्ठले बोल्दै गर्दा ड्यासमा आसिन अर्का प्रखर नेता प्रदिप गिरिलाई पनि साक्षी राख्न भुल्नु भएन् । पार्टी फरक भएपनि दुई समाजवादी नेताबीचको सुमधुर समबन्ध रहेको सभामा सबैले अनुभूति गर्न भ्याए ।

नेता गिरि मञ्चमा उभिनासाथ हस्यौली र ठट्यौलीले सीमा नाघ्यो । गिरिले तपोवनमा बोलाइएपछि ‘म नआउने र नबोल्ने कुरै हुँदैन किनकी म तपोवनको पुरानो भतुवा हुँ’ भन्दा हलमा हाँसो थामी नसक्नु भयो । उहाँले २५ वर्षदेखि आश्रमको निशुल्क भात खाएको बताउनुभयो । कमरेड प्रकाश बोल्दै गर्दा समय सीमा तर्फ उद्घोषकले संकेत गरेकोप्रति गिरीले ठट्यौली पारामा भन्नुभयो, ‘आशोले त भन्थे म समयको अस्तित्वलाई मान्दिन । तपाईहरुको ओशोप्रतिको निष्ठा र जानकारी संदिग्ध लाग्यो मलाई ।’ हलमा फेरि हाँसो गुञ्जियो ।

गिरिले पूर्ववक्ता डा. दीक्षितलाई उद्धृत गर्दै भन्नुभयो, – ब्रह्माण्डको विशालता र अज्ञेयता खोतली नसक्नु छ । साहारा मरुभूमिमा रहेको बालुवाको एक कण बरावर पनि ब्रह्माण्डमा मनुष्यको अस्तित्व छैन । तर मुनुष्यलाई भ्रम र अहंकार छ कि म नै जगतको केन्द्रविन्दु हुँ । सिंगो आध्यात्म मनुष्यको यही अहंकार र भ्रम तोड्ने शास्त्रको नाम हो । आध्यात्म मनुष्यको अहंकारविरुद्ध उभिने प्रयास हो ।’

गिरिले पुस्तकभित्रको प्रसंग कोट्याउनु भयो, स्वामी जीले शुरु मै लेखिदिनुभएको छ –विज्ञान र तर्कको आधारमा मेरो पुस्तकलाई बुझ्न खोज्नेहरुले बुझुन् यो पुस्तक लौकिक होइन अलौकिक हो ।’ अब यो पुस्तकको के आलोचना गर्नु ? गिरिले भन्नुभयो,नारायणकाजीजीको विस्तारित भनाइको संक्षेप के हो भने आध्यात्मको महानता पनि अलौकिकता हो र कमजोरी पनि अलौकिकता हो ।’

गिरिले पूर्वजन्म र पुनर्जन्ममा आफूलाई विश्वास नभएपनि भारतमा रहेका साधु सन्तको प्राय सबै आश्रम चहारेको छु । कोही पकौडा र कोही खिचडी खाएर मुक्त हुने बाबा भेटिन्छन् भनेपछि हल फेरि गुन्जियो । हाँसोको बीच उहाँले हरिवंश राय बच्चनको कविता मधुशालाको चार पंक्ति उद्धृत गर्दै श्रेष्ठतर्फ लक्षित गर्नुभयो– ‘अलग अलग राह पकडकर चलाचल मधुशाला । पुग्ने ठाउँ एउटै हो ।’
गिरिले समाजवादी नेताको प्रशंसा भने प्रचण्ड बेलाबेलामा जोगी भएर जंगल जाने कुरा गर्छन् । नारायणकाजीजी कै तर्क सनेर हो की जस्तो लाग्छ । उहाँको नामै प्रकाश र कामै प्रकाश । राप र ताप प्रचण्डसँग भए पनि ।’

लेखक स्वामी आनन्द अरुणले समापन मन्तव्य दिनुभयो । ‘कम्युन सफल हुनलाई धर्मको आधार चाहिन्छ’ उहाँले भन्नुभयो, –साम्यवाद फेल भएको पनि धर्मको आधार नभएर भन्दै माक्र्सले पश्चिमी धर्म संस्कृतिको कठोरता मात्र देखँे । पूर्वीय हिन्दू र बौद्ध धर्म र ताओ दर्शनको कामेलता देख्न पाएनन् । अन्यथा उनले धर्मलाई अफिम भन्ने थिएनन् ।’ स्वामी अरुणले तपोवनबासी वास्तविक साम्यवादी भएको जिकिर गर्दै यहाँ व्यक्तिगत सम्पति नभएको दाबी गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।