काठमाडौं । राजधानीबाट सोमबार प्रकाशित विभिन्न अखबारले फरक–फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।
आइतबार जनतासमाचार डटकम मा मिडिया काउन्सिल विधेयक स्वतन्त्रता विरोधी, शिक्षालाई प्राविधिक र सिपमुलक बनाइने, ढोलाहिटी हत्याकाण्ड पछाडिको रहस्य, जुनार जोगाउन ‘फाइटर म्यान’, फिकलमा टेलिकमको सञ्चार सेवा र ‘नर्समाथि शोषण गर्नेलाई कारबाही’ लगायतका राजनीतिक, सामाजिक र आर्थिक सम्बन्धि समाचार प्रकाशित भए ।
कान्तिपुर दैनिक ले संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० मा ५६ जनाले दान गरेको दाङ, देउखुरीस्थित १ हजार ३ सय २६ बिघा ७ धुर जमिन अतिक्रमण भएको तथ्यलाई आफ्नो मुख्य समाचार बनाएको छ । समाचार अनुसार सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काएर विस्थापित गराएपछि गुमेको जग्गा अहिलेसम्म फिर्ता भएको छैन् । यसैगरि मिडिया काउन्सिल विधेयकबारेको समाचारलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा समेटेको छ ।
नयाँ पत्रिका ले प्रदेश सरकारले गरेको पहिलो निर्णय अलपत्र शीर्षाकमा समाचार छापेको छ । समाचार अनुसार सबैजसो प्रदेश सरकारका पहिलो निर्णय अलपत्र परेका पाइएको छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट तीन सयभित्र परेको र बेलायतको दी टाइम्स हाइअर एजुकेसन म्यागजिनले त्रिविलाई उत्कृष्ट ३ सयको सूचीमा सूचीकृत गरेको समाचार प्रथम पृष्ठमै प्रकाशित छ ।
राजधानी दैनिक ले सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार हनन गर्नेलाई कालोसूचीमा राख्ने मानवअधिकार आयोगको प्रक्रियाबारे आयोगकै सदस्यबीचको मतभेदले दोषीको नाम सार्वजनिकमा ढिलाइ भएको समाचारलाई मुख्य समाचार कनाएको छ ।
गोरखापत्र दैनिक मा भियतनाम पुगेर प्रधानमन्त्री केपी ओलीले लुम्बिनी भ्रमण गर्न गरेको आह्वान लाई मुख्य समाचार बनाइएको छ । त्यस्तै, पे्रसलाई व्यावसायिक बनाउन नयाँ कानुन बनाइने सञ्चारमन्त्रीको भनाइसहितको समाचार र ठूला योजनामा बजेट कन्द्रित गर्न सुझाव शीर्षकका समाचार पनि मुल पृष्ठमै प्रकाशित छन् ।
कारोबार दैनिक ले मा न्यूनतम पारिश्रमिक नदिने अस्पताल कारबाहीमा परेको खबर सहित ‘आर्थिक वर्षको आन्तरिक ऋण’ र ‘सेनाको विस्फोटक पदाथले सुरुङको लागत सात गुणाले बढी’ लाई प्रमुख समाचारका रुपमा प्काशित गरेको छ ।