Nic

मोदीले खनेको पतनको पाताल

जनसंख्याको दृष्टिकोणबाट संसारकै सवैभन्दा ठूलो र अर्थतन्त्रको हिसावले छैठौं लोकतान्त्रिक मुलुक मानिने भारतमा अहिले लोकसभाको निर्वाचन भइरहेको छ । संसदको ५४३ सिट मध्ये ४८४ को निर्वाचन विभिन्न चरणमा सम्पन्न भइसकेको छ । अब ५९ सिटको मतदान हुन बाँकी छ , जुन साताैं चरण अन्तरगत १९ मे मा हुँदैछ ।

निर्वाचन नसकिदै नरेन्द्र मोदी युगको पतन भइसकेको भन्दै बुद्धिजीवीहरुले मुख फोर्न थालेका छन् । भारतमा निर्वाचन प्रकृया र जनभावनाको शुक्ष्म अनुगमन र अध्ययन गर्नेहरु गाउँ बस्तीबाट फर्केर मिडियामार्फत निश्कर्ष पस्किन थालेका छन् । मतगणना २३ मेबाट शुरु हुनेछ । अन्तिम परिणाम आउन २६ मेसम्म कुर्नु पर्नेछ । तर अधिकांश बुद्धिजीवीको भनाई छ,‘ भारतीय समाजमा भूमिगत करेन्ट महशुस गरियो ।’ मोदी शासनमा गरिएको डरको खेतीविरुद्ध जनमत लुँडिएर सत्ता परिवर्तनको पक्षमा ओइरिएका छन् ।

अर्जुन थपलिया

छैठौं चरणको मतदान हुनु एकदिन अघि अमेरिकी पत्रिका टाइम म्यागजिनले मोदीलाई ‘डिभाइडर इन चिफ’को उपमा दिएर कभर स्टोरी छापेको छ । टाइम म्यागजिनको कभर पातोमा मोदीको तस्बिर छ र दुई शब्द ‘डिभाइडर इन चिफ’ लेखिएको छ । ‘डिभाइडर इन चिफ’ उपमाले मोदीको ५ वर्षे शासनलाई मात्र इंगिध गरेको छैन, छद्म राष्ट्रवाद र उग्र हिन्दूत्वको रणनीतिक पाइन चढाएर आरएसएस (राष्ट्रिय स्वयम् सेवक संघ) मार्फत गरिएको राजनीतिको पनि भण्डाफोर गरिएको छ ।

टाइम म्यागजिनमा प्रकाशित आतिस तासिरको आलेखमा अर्को ५ वर्षका लागि मोदीको शासन भारतले थेग्न नसक्ने र भारतीय सामाजिक मूल्य मान्यता तथा सामुदायिक सहिष्णुताको कोमल तन्तु क्षतविक्षत हुने डरलाग्दो स्थितितर्फ संकेत गरिएको छ । मोदी शासनमा आक्रमक हिन्दूत्वका लागि आरएसएसको परिचालनलाई संविधानको धर्मनिरपेक्षतावादी सिद्धान्तमाथि प्रहार गर्ने छुद्र अभियान भनिएको छ ।

सन् २००२ मा गुजरातमा भएको नरसंहारकारी जातीय दंगामा मोदीको संदिग्ध संलग्नताको मुद्दामा फेरि एक पटक बहस शुरु

मोदी पुन सत्तामा आए भारतमा उपद्रो वृद्धि हुने र भारत खण्डित हुने स्थितिमा पुग्ने कलमकार तासिरले आलेखमा उल्लेख गरेका छन् । टाइमको आलेखमा सन् २००२ मा गुजरातमा भएको नरसंहारकारी जातीय दंगामा मोदीको संदिग्ध संलग्नताको मुद्दामा फेरि एक पटक बहस शुरु भएको छ ।

पत्रकार दिपक चौरसियालाई दिएको अन्तर्वार्तामा मोदीले पाकिस्तानमाथि गरिएको एयरस्ट्राइकको बेला कमाण्ड आफूले सम्हालेको बताए । वायुसेनाका पाइलटहरुले बादल लागेको र वर्षा भइरहेको बताएपछि मोदीले पाकिस्तानी रडारबाट हाम्रा विमानहरु छलिन झन् सजिलो हुने भन्दै उडान भर्न आदेश दिएको उल्लेख गरेका छन् । त्यो अन्तर्वार्ताकै कारण भारतमा उनको आलोचना भइरहेको छ । सातौं चरणको निर्वाचन नजिकिँदै गर्दा अमेरिकी दैनिक टेलिग्राफले नरेन्द्र मोदीलाई ‘रडारेन्द्र मोदी’ भनेर कभर स्टोरी छापेको छ ।

विज्ञान र प्रविधिको ज्ञानै नभई हौसिएर अन्तर्वार्तामा टिप्पणी गरे अनुरुप रडारलाई बादल र वर्षाले प्रभावित नपार्ने विज्ञहरुले बताएका छन् । ठूल्ठूला वचनवद्धता गर्ने तर पूरा नगर्ने मोदी चरित्रलाई भारतमा ‘फेकू’ उपमा पनि दिइएको छ । निर्वाचनमा हरेक चरणको मतदान हुनुअघि मोदीले वाक्यवाण छोड्ने गरेको र उनी आफ्नै अभिव्यक्तिका कारण अत्यधिक आलोच्य पात्र बन्दै गएका छन् । पाँचौ चरणको मतदानअघि मोदीले आतंकवादी आक्रमणमा सन् १९९१ मा मारिएका पूर्व प्रधानमन्त्री राजीव गान्धीमाथि भ्रष्टचारीको आरोप लगाए । भारतीय विद्वत् वर्गले मोदीलाई हतास मानसिकताको संज्ञा दिए । सन् २०१४ को निर्वाचन ताका भारतीय जनता पार्टीका नेता मोदीले आफ्नो सरकार बनेपछि ‘अच्छे दिन आएंगे’ (राम्रा दिन आउने छ) भन्ने नारा दिएका थिए ।

मोदीले हरेकको खातामा १५ लाख सरकारको तर्फबाट दिने, किसानको कर्जा मिनहा र बाली बीमाको सुविधा उपलब्ध गराउने, प्रत्येक वर्ष २ करोड युवालाई रोजगारी दिने, कालो धन विदेशी बैंकबाट फिर्ता ल्याउने र भ्रष्टाचार अन्त्य गर्ने जस्ता वचनवद्धता प्रकट गरेका थिए । मोदीको ५ वर्षे शासनलाई निराशाजनक बताउँदै भारतीय जनमत उनको विपक्षमा उभिएको छ । खोई अच्छे दिन ? भन्दै मतदाताले प्रश्न गरिरहेको बग्रेल्ती सुनिन्छ । सन् २०१४ मा प्रधानमन्त्री भएपछि मोदीले आफूलाई प्रधानसेवक भने । २०१९ को निर्वाचनमा मोदीले आफू देशको चौकिदार भएको घोषणा गरे । तर प्रतिपक्षी कांग्रेस आईका नेता राहुल गान्धीले ‘चौकिदार चोर हो’भन्दै मोदीको उछितो काढे ।

भारतीय बैंकबाट १० देखि २६ हजार करोडसम्मको ऋण लिएर विदेश पलायन भएका निरब मोदी र विजय माल्या जस्ता दर्जनौ माफिया पूँजीपतिहरु र फ्रान्ससँग खरिद गर्न लागिएको लडाकु विमानको सौदावाजी (रफायल डील) मा नियम मिचेर मुकेश अब्बानीलाई दिएकाे १६ सय करोड रुपैयाँको ठेक्का प्रकरणमा राहुल गान्धीले मोदीलाई भ्रष्टाचारी बताइरहेका छन् । मोदी शासनमा गरिएको नोटबन्दी र जिएसटी (कर प्रणाली) लागू गरिएकोले भारतीय अर्थ व्यवस्था धाराशायी भएको र मध्यमवर्गीय व्यापारीको धर्नासोमाथि प्रहार भएको आरोप विपक्षीहरुले लगाउँदै आएका छन् ।

सेनाको शहादत र सौर्यलाई आधार बनाएर भोट मागेकोमा पनि मोदीको आलोचना भएको छ

५ वर्षे शासनमा युवा वेरोजगारीमा अत्यासलाग्दो वृद्धि पनि मोदीमाथि प्रहार गर्न विपक्षीले अचुक अस्त्र फेला पारेका छन् । निर्वाचन घोषणाको मुखैमा कश्मिरको पुलवामा भएको आतंकी हमलामा भारतीय सीमा सुरक्षा बल (सिआरपिएफ) का ४० जवान मारिएका थिए । त्यसपछि मोदीले आतंकवादीलाई संरक्षण दिएको आरोपमा पाकिस्तानमाथि सर्जिकल एयरस्ट्राइक गर्न वायु सेनालाई निर्देशन दिएका थिए । नरेन्द्र मोदीले पाकिस्तानसँग टक्कर लिने र देशको सुरक्षा गर्ने क्षमता आफूसँग भएको भन्दै जनतासँग मत मागिरहेका छन् । सेनाको शहादत र सौर्यलाई आधार बनाएर भोट मागेकोमा पनि मोदीको आलोचना भएको छ । सञ्चार र प्रविधिको उपयोगिताबारे जानिफकार प्रधानमन्त्री मोदीले ठूला ठूला कर्पोरेट मिडिया हाउसलाई आफ्नो प्रभावमा राखे ।

भारतीय मूलधारका टेलिभिजन र अखवारलाई निरन्तर आफ्नो पक्षमा लेख्न मात्र लगाएनन् मोदीको विरोधमा लेख्नुलाई देशद्रोही भन्ने अभियान चलाइयो । तर विपक्षी धारका मिडिया र ठूलो संख्यामा रहेका भारतीय कवि तथा गद्य व्यङ्गकारले नयाँ जार्गन कथे । ‘मोदी मिडिया–गोदी मिडिया’ । भारतीय संविधान र लोकतन्त्रको रक्षा गर्न छोडेर सत्ताबाट अनुचित लाभ लिएर भारतीय मिडिया मोदीको स्तुतिगानमा उत्रिएको कवि र व्यङ्गकारले रचनावली तयार पारे, सुनाए । भारतमा सञ्चारमाध्यम जत्तिकै शक्तिशाली र प्रभावशाली मञ्च मानिन्छ कवि समेलन र मुसायरालाई । भूमिका बिर्सिएको भन्दै भारतीय मूलधारका सञ्चारमाध्यमको कवि , शायर र व्यङ्गकारले खुव आलोचना गरेका छन् ।

पत्रकार रविश कुमारले मोदी र आरएसएसको छद्म राष्ट्रवाद, समाजलाई त्रासमा राख्ने राणनीति, आक्रमक हिन्दूत्व र मुस्लिम समुदायको बहिष्करणबारे मिडिया र मञ्चमा भण्डाफोर अभियानको अगुवाई नै गरे ।सन् २०१९ को निर्वाचन घोषणा भएपछि पार्टीलाई गौण बनाइयो । प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘आइकन’ बनाएर निर्वाचन अभियानमा होमिएको भारतीय जनता पार्टीले मोदीको नामको पछाडि एउटा जनलहर रहेको आकलन गरेको थियो । तर यो अनुमान गलत सावित भएको छ ।

मोदी भारतीय जनता पार्टीका लागि वरदान होइन कुलंघार सावित हुने निश्चित भएकाे भारतीय बुद्धिजिबीहकाे दाबी छ । सन् २०१४ को निर्वाचनमा भारतीय जनता पार्टीले गठबन्धन बाहेक एक्लै २८९ सिट जितेर सुविधाजनक बहुमत ल्याएको थियो । प्रतिपक्षी कांग्रेस आई मात्र ४० सिटमा सीमित भएको थियो । तर २०१९ को निर्वाचन परिणाम उल्टो हुने अनुमान गरिँदैछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।