‘युवा संगठन २ दिनभित्रै एकीकरण हुन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका युवा संगठनको एकीकरण दुई दिनभित्र टुंगो लगाइने घोषणा गर्नुभएको छ ।
अध्यक्ष दाहालले जनवर्गीय संगठनको एकीकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको स्पष्ट पार्नु भयो । उहाँले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनको एकीकरणको काम सम्पन्न हुने गरी भोलि बिहान पार्टीको सचिबालयको बैठक बोलाइएको जानकारी दिनुभयो । युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनको एकीकरण भने हुने घोषणा गर्नुभयो ।
अन्य संगठनको एकीकरणको काममा केही ढिलाई हुन सक्ने अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले अध्यक्ष केपी ओली र वरिष्ठ नेताद्वय माधव नेपाल तथा झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण गराउनु भयो । उहाँले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । तर उहाँले के गर्न खोजेको हो ? भन्ने चाँहि स्पष्ट पार्नु भएन । अध्यक्ष दाहालले जनता र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको स्पष्ट पार्नुभयो ।