काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न अखबारले फरक–फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।
बुधबार जनतासमाचार डटकम मा उपराष्ट्रपति गभर्नर शिष्टाचार भेट, संघीयता अनुकूल बजेट ल्याउन सुझाव, खाजा खाँदा सात बिरामी, दुई सिकिस्त, प्रधानमन्त्री कप क्रिकेटको मिति सर्यो, कर्मचारीबीच मन्त्रालयमै कुटाकुट, सलमानले सन्तानका लागि कोख भाडामा लिने र प्रशासन कार्यालयमा आकर्षक बगैँचा र गोलघर लगायतका राजनीतिक, सामाजिक। खेलकुद र आर्थिक सम्बन्धि समाचार प्रकाशित भए ।
नागरिक दैनिक ले ‘आफैलाई जित्दै कामिकारिता’ शीर्षकमा सगरमाथाको शिखरमा आरोही कामिकारिता शेर्पा २३ औं पटक पुगेको समाचारलाई मुख्य समाचार बनाएको छ । कामिकारिताले २२ औं पटक सगरमाथा चढेको आफ्नै रेकर्ड तोड्दै बुधबार बिहान ७ बजेर ५० मिनेटमा २३ औं पटक सर्वोच्च शिखर चुम्नुभएको हो । धेरैपटक सगरमाथा चढ्ने प्रतिस्पर्धाबाट अगाडि बढेका कामिकारिता यसपटक आफैंसँगको प्रतिस्पर्धामा विजयी बनेका हुन् । यसैगरी, युएसएआइडीको कोष पदाधिकारीले दुरुपयोग गरेको र एसियाली आदानप्रदानमा चिनियाँ जोड शीर्षकका समाचार पत्रिकाले प्राथमिकताका साथ प्रथम पृष्ठमा समेटेको छ ।
कान्तिपुर दैनिक ले नेकपामा वैचारिक कार्यदिशाको विवाद , घेचपेचमै उत्रिए दाहाल र पोखरेल शीर्षकमा मुख्य समाचार प्रकाशन गरेको छ । समाचार अनुसार एक कार्यक्रममा सचवालय सदस्य ईश्वर पोखरेलले वैचारिक रुपमा स्पष्ट भइएन भने न हाँस न कुखुराको चाल हुन्छ भनेपछि अध्यक्ष प्रचण्डले विचार भनेर धेरै माथापच्ची गरेको भए एकता नहुने बताउनुभएको थियो । यस्तै, त्रिवी कर्मचारी परीक्षामा अनियमितता र मन्त्रीले कर्मचारीलाई थर्काए, थुन्दिम ? शीर्षकका समाचार पनि प्रथम पृष्ठमा समेटिएका छन् ।
गोरखापत्र दैनिक ले प्रधानमन्त्री केपी ओलीको भियतनाम र कम्बोडिया भ्रमण सफल रहेको समाचार लाई आफ्नो मूख्य समाचार बनाएको छ । यसैगरि नेकपाको एकता पक्रिया टुंगिने, संसद भवनको डिजाइन अन्तिम चरणमा र पूर्वआयुक्त पाठक ७८ लाख धरौटीमा रिहा लगायतका समाचार पनि प्राथमिकताका साथ छापिएका छन् ।
नयाँ पत्रिका दैनिकले ‘१३ अर्बको बजेट विकासमा जम्मा एक खर्ब खर्च’ शीर्षकमा समृद्धिको नारा घन्काइरहेको सरकारले चालु आर्थिक वर्षमा अघिल्लो वर्षजति पनि खर्च गर्न नसकेको समाचार प्राथमिकताका साथ छापेको छ । गत वर्ष वैशाखसम्म पुँजीगत खर्च ४० प्रतिशत थियो भने यसपालि ३८ प्रतिशत मात्र पुगेको छ । यसैगरी प्रधानमन्त्री आउँदा आकाश ठप्प र नेकपामा पोलिटब्युरो सदस्यको नाम तयार जस्ता समाचारलाई प्रमुख समाचार बनाइएको छ ।