नारायण थापा
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) मा नर्स अनशनमा बस्दा बिरामी मर्कामा परेका छन् ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रकी स्टाफ नर्स डिकी शेर्पा एक सातादेखि अनशनमा बसेकी हुन् ।
काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्ने जस्ता माग राखेर केन्द्रका नर्सहरू एकसातादेखि आन्दोलनमा छन् ।
आन्दोलनमा रहेका नर्सहरुलाई साथ दिन डिकी शेर्पा एकसातादेखि अनशनमा बसेको बताउँछिन् । नेपाल नर्सिङ संघकी आजीवन सदस्यसमेत रहेकी उनी स्वतन्त्र नर्स हुन् । यसरी अन्यायमा परेका नर्सहरुको मागलाई समर्थन गर्न आफूले साथ दिएको उनको भनाइ छ ।
आन्दोलनरत् नर्सहरुले बिहीबार शहीद धर्मभक्त राष्ट्रिय मिर्गाैला प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई नेपाल नर्सिङ सघंका अध्यक्ष तारा नेपालले परीक्षा स्थगित गर्ने लगायतका जायज मागको सम्बोधन गर्नका लागि ज्ञापन पत्र समेत बुझाएका छन् ।
डायलोसिस्का बिरामी मर्कामा
रुपन्देहीको कन्चनमा बस्ने १४ वर्षीय खेमराज बसौलाको दुबै मिर्गौला फेल भएर गत ०७३ देखि डायलोसिस् गराइरहेका छन् । नर्सको आन्दोलनले गर्दा समयमा नै डायलोसिस् गर्न नपाएर छटपटिएर मर्नु पर्ने अवस्था भएको पीडितका हजुरबुबा तुल्सीराम भण्डारी बताउँनु हुन्छ ।
दोलखा तामाकोशीकी पूर्णमाया आमगाँइ समयमा डायलोसिस् नभएर रातभरी पीडा भएको बताउनुहुन्छ ।
अर्घखाँचीकी सीता श्रेष्ठ, गोरखाका लरेन्द्र गुरुङ, सिन्धुपाल्चोकका मिलन श्रेष्ठ लगायतले एकसाथ भने अस्पतालको लापरवाही र नर्सका आन्दोलनले बिरामीको ज्यानै जान पनि सक्छ ।
‘नर्सले अस्पताल जस्तो संवेदनशील ठाउँमा आन्दोलन गर्न हुँदैन’, मिर्गौला पीडित सरोकार नेपाल समाजका अध्यक्ष बलाराम सुबेदी भन्नुहुन्छ, ‘अस्पताल र बिरामीलाई कुनै असर नपुग्ने गरी आफ्ना माग राखनु पर्छ ।’
नर्सको आन्दोलन र अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान जाने खतरा बढेको बिरामीका आफन्त बताउँछन् ।