Nic

‘सेनाले भारतीयको हुनसक्ने भनेको शव त मदन भण्डारीको रहेछ’

–हेमबहादुर थापा मगर
(मदन भण्डारीको शव भेट्टाउने पहिलो व्यक्ति)

२०५० जेठ ४ गते । चितवनको चर्को घाम । बिहानको करिब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपर्थ्यमे । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ ।

जाल हान्दै जति अघिअघि जान्थेँ त्यति नै धेरै काभ्रे माछा पर्दैथियो । मेरा आँखा दुई चट्टानका बीचमा एउटा मुढाजस्तो देखिने बस्तुमा प¥यो । मलाइ शव हो कि भन्ने लाग्यो ।

साथीलाई शव देखेको खबर गरेँ । शवको नजिकै पुगेँ । घोप्टो अवस्थामा लाश अड्किएर बसेको पाएँ । पानीमाथिको सतहभन्दा आधा फिटमा शव डुबेको थियो । अनि साथीहरु र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौँ ।

लासलाई ओल्टाइपोल्टाइ हे¥यौँ । आँखाको नानीमा बाहेक अन्य ठाउँमा चोट थिएन । शव हेर्दा लाग्थ्यो, उठेर बोल्छ जस्तो । एकदमै फ्रेस । शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, पाइण्ट भने थिएन । दुवै खुट्टामा मोजा थिए ।

शव पाए पनि मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन । त्यही बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चार जना नेपाली सेना आइपुगे । उनीहरुले शव हेरे ।

सेनाहरुलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ । हेरेपछि सेनाहरुले कालो छ, कुनै भारतीय हुन सक्छ भने । शव बगाउन लागे । हामीले बगाउन दिएनौँ ।

जेठ ४ गते शव नदी किनारमै छाडेर घर फर्कियौँ । घरमा बाजेलाई शव भेट्टाएको बताएँ । बाजेले शायद मदन भण्डारीको शव होला भन्नुभयो । उहाँले पुलिसलाई खबर गर्न भन्नुभयो तर पुलिसलाई खबर गर्ने आँट गरिनँ ।

जेठ ५ गते कुलो खन्दै थिएँ । दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइपुगेछ । टोलीसँग मेरो बुबाको भेट भएछ । बुबाले हाम्रा छोराहरुले शव भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ । लगत्तै टोलीसँग हामी काठेडुङ्गा लिएर शव भएको ठाउँ पुग्यौँ । नभन्दै त्यो लाश नेता मदन भण्डारीको रहेछ ।

डुङ्गामा शव हालेर वारी आयौँ जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ । फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन् । ठूलो मेला लागेको जस्तो भीड । अनि पत्रकारले मलाई सोधी खोजी गर्न लागे । जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोध्न लागे । धेरै दिनसम्म मलाई र मेरा अरु तीन जना साथीलाई घटनाबारे मान्छेहरुले सोधिरहे ।

ठूलो मान्छेको लास भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुवै ठान्छु । अहिले पनि ती घटनाक्रम आँखा अगाडि घुमिरहन्छ । अठार वर्षको हँदा लास भेटेको थिएँ । अहिले ४३–४४ वर्ष पुगेँ । त्यति ठूलो नेताको शव भेटाउँदा मलाई पक्कै सरकारले नेपाली सेनामा जागीर दिन्छ कि भन्ने लाग्यो ।

त्यस समयमा शव भेटाउने मान्छेले नेपाली सेनामा जागीर खान पाउँथे । कुरा पनि चलाएँ तर भएन । अनि म वैदेशिक रोजगारीका लागि साउदी अरब लागेँ । बाह्र वर्ष साउदी बसेर नेपाल फर्किएँ ।

अहिले विदेशबाट फर्किएको ११ वर्ष भयो । एउटा ट्रयाक्टर किनेको छु । आर्थिक अवस्था कमजोर नै छ । मसँगै शव भेटाएका किसान ठकुरी नेपालमै छन् । श्यामबहादुर थापा मगर साउदी र टेकबहादुर आलेचाहिँ मलेसियामा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजनासहित डेलिगेसनमा काठमाडौँ जाँदा भेट भयो । मलाई अरुले शव भेटाउने मान्छे यही हो भनेर चिनाइदिए । म विदेश भएको समयमा मेरो प्रशंसापत्र बुवालाई प्रदान गरिएको रहेछ । अहिले त्यो प्रशंसापत्र जतन गरेर राखेको छु ।

मेरो इच्छा भनेको सरकारले गाँजीपुरलाई नमूना बस्तीका रुपमा विकास गरोस् भन्ने छ । अनि अहिले नेकपाकै सरकार छ, स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी देशको राष्ट्रपति हुनुहुन्छ । मलाई नभए पनि मेरा छोराछोरीलाई अवसर दिए हुन्थो भन्ने लाग्छ ।

(रासस समाचारदाता सुरेन कुँवरसँगको कुराकानी)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मासबार बस्ने २४ वर्षीय सागर रानाभाट पेन गनसहित पक्राउ परेका हुन् ।