काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।
मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक वर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिने प्रयास भइरहेको बताउनुभएको हो । उहाँले विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्धन्द्ध मच्चाउन खोज्ने प्रयास भइरहेको दाबी गर्नुभयो । सरकारको विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक र असभ्य बनाउने प्रयास गहिरो गरी भइरहेको भन्दै त्यसतर्फ सरकार सजग रहेकाले प्रतिक्रियावादी सफल नहुने दाबी गर्नुभयो ।
राष्ट्रपतिले विश्वभर नै मेरो सरकार भनेर नै सम्बोधन गर्ने गरेको भन्दै उहाँले राष्ट्रपतिको सम्बोधनलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले स्याल हुईयाँ मच्चाउने काम गरेको दाबी गर्नुभयो । मेरो सरकारको विषय उचालेर नेपाली कांग्रेसले राष्ट्रपतिको भन्दा गणतन्त्रतात्मक प्रणाली र पद्धतिको विरोध गरेको टिप्पणी उहाँले गर्नुभयो ।
जनताको पक्षमा काम गर्ने पार्टी भएकाले आगामी निर्वाचनमा पार्टीले स्पष्ट दुई तिहाई मत प्राप्त गर्ने दाबी उहाँले गर्नुभयो । ‘अहिले हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन’ उहाँले भन्नुभयो, ‘अहिले हामीसँग अलिकति दुई तिहाई छैन । नपचेर के गर्ने अर्को पटक दुई तिहाईको हुन्छ । यो सरकार ।’
प्रतिक्रियावादी, नेपालविरोधी, जनविरोधी शक्तिका दुराकांक्षा विपरित पार्टी एकतालाई मजबुत बनाउदै पूर्णता दिने काम भएको र जनवर्गिय संगठनहरुको एकीकरण गरि नेतृत्वको टुंगो लगाइएको बताउनुभयो ।
छुटेकाहरु बांकी संगठनमा समेटिदै जाने भन्दै उहाँले एकता र एकिकरणको भावनालाई ध्यानमा राखेर मन फराकिलो बनाउदै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । ‘फराकिलो ढंगले पार्टी एकताको पक्षमा हामी छौ’ उहाँले त्यसैले यतिबेला चित्त सानो पार्ने होइन , यतिबेला मन दुखाउने होइन । यतिबेला फराकिलो पन र फराकिलो मनका साथ एकता र एकीरणको भावनालाई ध्यानमा राख्दै हामी दुईवटा पार्टी मिलाएर , दुईवटा वैचारिक धारहरुलाई मिलाएर एउटा ठाउँमा ल्याउदै छौ । एउटा पार्टी बनाएका छौ । र त्यसलाई नछुटिने गरि अन्तरघुलित गर्दैछौ । यस कुरालाई बुझेर नै साथीहरुले नेतृत्व गर्नुहुनेछ भन्ने मैले बुझेको छु ।’
एकता र एकीरणको सवालमा केही काम बाँकी रहेको भएपनि ती काम पनि केही दिनभित्र नै पूरा हुने विश्वास दिलाउनुभयो । उहाँले पराजित प्रतिक्रियावादी शक्तिले सहजै पराजय स्वीकार्न नसक्ने र उनीहरु सधै जनताको खुशीलाई भत्काउन लागि पर्ने गरेकाले सरकारका आगाडि चुनौती रहेको टिप्पणी गर्नुभयो ।
उहाँले पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण, उद्योग पर्यटन र सेवा क्षेत्रको विकास, रोजगारीको अवसर श्रृजना गरि मुलुकमा सवल अर्थतन्त्र बनाउने काममा सरकार लागेकाले निरपेक्ष गरिबीको रेखामुनि भन्ने कुरा लामोसमय नरहेने दाबी गर्नुभयो । उहाँले बालुवाटारको जग्गा, सुनकाण्ड, भ्रष्टाचार लगायतमा छानविन शुरू गरेको सरकारविरुद्ध नै हमला भइरहेको गुनासो गर्नुभयो ।उहाँले आफ्नो ध्यान भ्रष्टाचार नगर्ने र गर्न नदिनेमा रहेको दोहोर्याउनुभयो ।