काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग र नेपाल भाषा परिषदद्वारा संयुक्त रूपमा नेपाल भाषाका कविताबारे बहस भएकाे छ।
प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा आयोजित ‘नेपाल भाषाका कविता यात्रा’ विषयक विचार गोष्ठीमा बहस गरिएको हो ।
कार्यक्रमका सभापति एवम् प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपतिको जिम्मेवारी सम्हालिरहनुभएका उपकुलपति डा. जगमान गुरुङले पहिचान बोलीमा मात्रै नभएर व्यवहारमै उतार्नु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'नेपाल भाषाका कविताबारे गोष्ठी सञ्चालन भइरहेको छ तर सम्बन्धित कसैले पनि आफ्नो परम्परागत पोसाक लगाएको देखिएन । आफ्नो पहिचानलाई जोगाउने हो भने संस्कार र संस्कृतिको संरक्षण गर्नुको विकल्प छैन ।'
उपकुलपतिले नेवारी संस्कृति लोपोन्मुख अवस्था पुगिसकेको भन्दै यसको संरक्षणका लागि अध्ययन–अनुसन्धानका साथै संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । नेपाल भाषाको साहित्यले नेपाली साहित्यलाई उल्लेखनीय योगदान दिएको उहाँको दाबी थियो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले सानोतिनो मिहिनेतले अध्ययन–अनुसन्धान पूर्ण नहुने बताउनुभयो । नेपाल भाषाका कविता यात्राबारे बुझ्न विचार गोष्ठीले मद्दत पुर्याएको धारणा व्यक्त गर्दै सम्बन्धित विषयमा गहन अध्ययन–अनुसन्धान गरिनुपर्नेमा जोड दिनुभयो ।
साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीले मातृभाषाका साहित्यको प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठानले महत्वकासाथ काम गरिरहेको बताउँदै गोष्ठीले सार्थक उपलब्धि हासिल गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुुभयो ।
नेपाल भाषा परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्यले नेपाल भाषाका कविता यात्राबारे गहिराइमा पुगेर निष्कर्ष निकाल्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा राजेन मानन्धरले ‘नेपाल भाषाका कविता यात्रा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल भाषाको कविता लेखन यात्रा ४ सय ६८ वर्ष पुरानो रहेको बताउनुभयो । मानन्धरले कार्यपत्रमा यति लामो बोकेर आएता पनि नेपाल भाषाका कविता अपेक्षाकृतरूपमा समृद्ध भने हुन नसकेको विचार व्यक्त गर्नुभयो । मानन्धरको कार्यपत्रमाथि पूर्ण ताम्रकारले परिपूरक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवम् भाषा परिषद्का सचिव ध्रुव मधिकर्मी कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
कार्यपत्रमाथि सहभागी विभिन्न स्रष्टाहरूले छलफल गर्नुभएको थियो ।