लामो समयपछि उसँग जम्काभेट भयो । बाल्यकालदेखिकै खुब मिल्ने साथी थियो ऊ । तर, उसको परिवार अलि सम्पन्न हुनाले उनीहरू धेरै वर्षअघि नै गाउँ छोडेर शहर झरेका थिए । त्यसपछि हाम्रो भेट भएको थिएन । कयौँ वर्षपछिको त्यो भेटले ऊ पनि चकित पर्याे अनि म पनि सशंकित भए । ऊ त्यही अविनाश हो र ? जोसँग मैले बाल्यकालका अविस्मरणीय क्षण बिताएको थिएँ । हामी भाँडाकुटी खेल्थ्याै। लुकामारी, गट्टा, पिङमा रमाउथ्यौ । नक्कली बिहे समेत गर्थ्याै । नक्कली घर र छोराछोरी समेत बनाएर ऊ र म बावुआमा बन्थ्यौं ।
धेरै वर्ष अन्तरालमा अकल्पनीय भेट हुँदा झल्यास्स बाल्यकाल सम्झिएँ । अतीत दिमागभरी ठोक्किए । ऊ पहिलाको भन्दा निकै दुब्लाएछ । जिङरिङ्ग कपाल, भुस्स दाह्री । निकै ख्याउटे भएछ ऊ । जम्काभेट हुना साथ सोधेँ– निकै दुब्लाएछौ ! कस्तो चल्दैछ जिन्दगी ? उसले भावुक हुँदै भन्यो– जिन्दगी त के मेरा सारा सपना चिहान बन्यो !
उसको शब्द मानसपटलमा रिगीरह्यो । बालसखा छँदा ऊ निकै हाँसीमजाक गर्थ्याै। त्यही सम्झिएँ, अनि भनेँ– ठट्टा गर्ने तिम्रो बानी अझै हराएनछ । अविनाश खिस्स हाँस्यो । फेरि भावुक हुँदै भन्यो– मैले त्यो दिनदेखि मजाक गर्न छोडेँ । शायद अब मजाक कहिल्यै गर्ने छैन् । मेरो खुशी यो दुनियाँबाट हराइसकेको छ । दिनसफा थियो । आकाशमा सूर्य चम्किरहेको थियो तर त्यो भनाईसँगै उसको मुहारमा अकस्मात् बादल लाग्यो । अनुहार मलीन देखियो । मलाई झन् खुल्दुली भयो ।
अस्पताल नपुगी उहाँले संसार छोड्नु भो । हत्यारा अहिलेसम्म पत्ता लागेको छैन
सोँधे– हँ के भयो त्यस्तो ? मेरो जिज्ञाषाले उसको आँखा रसायो । गहभरी आँशु पार्दै भन्यो– बुबा बित्नु भयो । म असमञ्जमा परें । अविनाश के भन्दैछौ तिमी अंकल बित्नु भो ! उसले सुनायो– काठमाडौं आएको १ वर्षसम्म त सबै ठिक थियो । बाबा जागिरमा जानुहुथ्यो । मम्मी पसल । बहिनी र म स्कुल । हाम्रो परिवार सुखी थियो । अर्काे वर्ष काठमाडौं घर बनाउने योजना थियो । ‘राम्रो रिजल्ट आए तिमीलाई डाक्टर पढाउँछु’ भन्नुहुन्थ्यो । मैले त्यही अठोट लिएर पढिरहेको थिएँ । बहिनी पनि राम्रोसँग पढ्दै थिइन् । तर अघिल्लो बैशाखमा हाम्रो परिवारमा ठूलो बज्रपात भयो । तिमीलाई थाहै होला त्यो बेला हाम्रो बाबाको सरूवा काठमाडौं भएको थियो । प्रहरीको जागिर सहज त थिएन । तैपनि उहाँ हाम्रा लागि दौडधुप गर्नुहुन्थ्यो । फेरि बाबा एकदमै निडर । राति पनि एक्लै अपराधी खोज्न दौडनुहुन्थ्यो । कति लालच र डर देखाउँदा पनि बाबा कसैसँग डगमग हुनुहुन्थेन । त्यही निडरपनकै कारण बाबामाथि प्रहार भयो । अपरिचित व्यक्तिले हानेको गोली बाबाको छातीमा लागेछ । अस्पताल नपुगी उहाँले संसार छोड्नु भो । हत्यारा अहिलेसम्म पत्ता लागेको छैन ।
उसले धाराप्रवाह सुनाउँदै गयो– रातिको ८ बज्न लागेको थियो । बहिनी र म त सधैं खाना खाएर बाबा नआइकनै सुत्थ्यौँ । ममी भने खाना खान सधैं बाबालाई कुरेर बस्नु हुन्थ्यो । ममी कहिलेकाँही बाबालाई कुर्दाकुर्दै निदाउनुहुन्थ्यो । त्यो दिनपनि कुर्दाकुर्दै ११ बज्यो तर बाबा आउनु भएन । त्यसअघि उहाँको केही खबर पनि आएन । अरूबेला ढिला आउनेभए बाबाले सधैं ममीलाई खबर गर्नुहुन्थ्यो । तर त्यसदिन केही भन्नु भएको थिएन । ममी कुर्दाकुर्दै निदाउनुभयो तर बाबा आउनुभएन । बाबाले बिहानसम्म पनि केही खबर गर्नुभएन । ममी निकै चिन्तित देखिनु हुन्थ्यो । तर हामीलाई दूध र बिस्कुट दिनुभयो । आफूले भने चिया पनि खानुभएन । बहिनी र मैले खादैँथियौँ ।
बाहिर कसैले ढोका ढक्क्यायो । ममी खुसी हुदैँ बाबा आउनुभयो होला भनेर हतारमा ढोका खोल्नुभयो । ढोका खोल्नासाथ प्रहरीको पोशाक देखियो । तर प्रहरी पोशाकमा आएको बाबा होइन अर्कै प्रहरी थियो । प्रहरीले ममीलाई बाहिर लानुभयो । उहाँले ममीसँग ५ मिनेट जति कुन्नि के के भन्नुभयो ? हामीले केही थाहा पाएनौ । त्यसपछि ममी हतारमाभित्र आएर दराजबाट के कागज जस्तो झिकेर हामीलाई बस्दै गर म आउँछु भन्दै दौडनुभयो । हामी अक्कनबक्क भयौँ । बहिनीले सोधी–दादा ममी कहाँ जानुभयो ? मैले भने एकछिनमा आउनुहुन्छ । हामी दिनभरि बस्यौ न बाबा आउनुभयो न ममी । घरमा छिमेकी जम्मा भए । साँझ पर्न थाल्यो । घरमा मानिस एकपछि अर्कोै गर्दै थपिन थाले । घरमा बाबाममी नदेख्दा खुब डर लाग्यो । म रून थाले । म रोएपछि बहिनी पनि रून थाली । नजिकै उभिनुभएकी छिमेकी अन्टीले बहिनी मलाई अंगालो हाली नरोउ नरोउ भन्दै सम्झाउन थाल्नु भयो ।
त्यो दिन राति ९ बज्न लागेको थियो । एउटा भ्यान हुइकिँदै आयो र हाम्रो घरअगाडि रोक्यो । सबैको ध्यान भ्यानतिर मोडियो । म र बहिनी पनि उतैतिर हेर्नथाल्यौ । केहीबेरमा सेतो कपडा ओडाएको बस्तु ल्याएर भुइँमा राखे । म झसङ्ग भएँ, डराए । अनि आन्टीलाई सोधे– आन्टी के हो त्यो ? आन्टीले हिँड भनेर बहिनी र मलाई घरभित्र लानुभयो । हामी डरले कापिरहेका थियौँ । मैले आन्टीलाई जोडसँग समाउदैँ सोधेँ आन्टी मेरो बाबाममी खोइ ? आन्टीले हात समाउदैँ लगेर ओछ्यानमा राख्नुभयो । मेरो र बहिनीको कपाल मुसार्दै रून थाल्नुभयो । हामी अक्क न बक्क भयौ । मैले भने– के भयो आन्टीलाई ? आन्टी किन रूनुभाको । बहिनीले आन्टीको आशुँ पुछी । अनि ऊ पनि रोइ । खुइय गर्दै आन्टीले भन्नुभयो, कति अभागी रहेछौँ तिमीहरू । बहिनीले तोते बोलीमा सोधी, आन्ती अभागी भन्या के हाे ? अन्टीले बहिनीलाई अंकमाल गर्नुभयो खै के भनौ नानी । मैले सोधेँ– हाम्रो बाबा कहिले आउनुहुन्छ आन्टी ? उनले भनिन्, अब बाबा कहिल्यैँ आउनुहुन्न् । तिम्रो बाबा भगवानको घर जानुभयो ।
म बेस्सरी चिच्याएँ होइन मेरो बाबा आउनुहुन्छ ममीले भन्नुभाको । आन्टीको हात फुकाएर म बाहिर दगुरेँ त्यो सेतो कपडाले छोपेको वस्तु हेर्न । हतारमा गएर त्यो सेतो कपडा उघारेँ त्यहाँ बाबा हुनुहुँदो रहेछ । मुटु फुल्यो । बाबालाई उठाउन खोजे तर उहाँ उठ्नु भएन । बाबाको अनुहारमा रगत पोतिएको थियो । मुख खुल्ला थियो । म घरभित्र दगुरेँ । गिलासमा पानी ल्याएँ बाबाको मुखमा हालिदिए । मानिसहरू मलाई तान्न खोज्दैथिए । म जबर्जस्ती बाबालाई पानी खुवाउदैँ थिए । नाइ छोड छोड मेरो बाबालाई । बाबालाई तिर्खा लागेको छ म पानी दिन्छु । सबै मेरो क्रियाकलाप देखेर रून थाले बहिनी पनि चिच्याउदैँ बाहिर आई । म भक्कानिएर रोएँ । बाबा उठ्नु न ममीले बनाएको रोटी छ खानू भने तर बाबा उठ्नु भएन ।
हरेक दिन थुप्रै सपना बन्छन् । तर ती पूरा हुदैँनन्, मनभित्रै मर्छन् । हरेक याेजना चिहान बन्छ
मैले रोटी मुखमै लगेर खुवाउन खोजे तर उहाँले खानु भएन । मलाई अरुले भित्र लान खोजे । तर मैले उनीहरुलाई ‘म तिमीहरूलाई बाबाले किन्दिनुभाको बन्दुकले हान्दिन्छु बन्दुक लिएर आए । उनीहरुलाई बन्दुक ताक्दै कराएँ, उफ्रिएँ । तर बाबा उठ्नु भएन । केहीबेरपछि छिमेकीले ममीलाई लिएर आए । ममीलाई देख्नेबित्तिकै सोधैँ– ममी ममी हाम्रो बाबा भगवानको घर जानुभाको हो अब कहिले आउनुहुन्न हाे ? उहाँ रूँदै मलाई अंकमाल गर्नुभयो तर केही बोल्नुभएन ।
केहीबेरमा बाबालाई जलाउन लाने तरखर भयो । शंख बजाउँदै बाबालाई उचाले । म चिच्याएँ । कहाँ लगेको मेरो बाबालाई ....? । मलाई पनि गाडीमा पछाडि हाले । अनि बाबासँगै लिएर गए । ममी पनि मसँगै गाडीमा बस्नुभयो । बहिनी कता गई पत्तो भएन । हामी नबोल्ने हुनुभएको बाबासहित आर्यघाट पुग्यौ । ममी अर्धचेत हुनुहुन्थ्यो । बोलाउदैँ आशु पुछिदिएँ । मैले संसार अन्धकार देखेँ । बाबालाई नदीको छेउमा राखियो । मलाई अल्लि परै राखिएको थियो । अन्तिममा भने नजिकै लगेर हेर्न दिइयो । ममी बेस्सरी रून भयो । त्यसपछि मानिसहरुले बाबामाथि दाउरा चाङ्न थाले । ‘अब दागबत्ती दिने’ भन्न थाले । केहीबेरमै बाबालाई आगोले झोसियो । म अत्तालिए किन आगोले किन झोसेको मेरो बाबालाई ? पोल्छ भन्दै लडबढी गर्न थालेँ । तर उनीहरुले बाबामाथि लगाइएको आगो निभाएनन् । आगो झन् दन्किन थाल्यो । म रोइरहेँ । बाबा जलिरहनु भयो ।
बाबा बित्नुभएको १५ वर्ष भइसक्यो । उहाँको अभावमा हामी तड्पिरहेका छौँ । बाबा बितेपछिका हामीले धेरै दुःख पायौ बाल्यकालका रहर सदाका लागि बिलायो । अहिले भने म अलिअलि कमाउने भएको छु । बहिनी पढ्दैछिन् । ममी सानो पसल गर्नुहुन्छ । तर हरेक दिन थुप्रै सपना बन्छन् । तर ती पूरा हुदैँनन्, मनभित्रै मर्छन् । हरेक सपना चिहान बन्छ । बाबाको निधनले हाम्रो सपना चकनाचुर भयो । योजना, सपना अधुरै रह्यो ।
उसको वर्णनले नरमाइलो अनुभूति भयो । लाग्यो– जीवनका योजना, सपना चिहान रहेछ । कहिल्यै नभेटिने अनन्त गहिरो खाडलभित्रको.....।