काठमाडाै । नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य संख्यामा बृद्धि भएको देखाएको छ ।
राजधानी काठमाडौंमा आइतबार आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्तरक्रियामा महानगरीय प्रहरी परिसर काठमाडाैका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले यस्तो बताउनुभएको हो ।
‘गाँजा चरेस सेवन लगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोग लगायत कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको छ’, सुवेदीले भन्नुभयो, ‘हत्या, हिंसा र बलात्कारका घटना गत सालको भन्दा दोब्बर बृद्धि भएको देखिन्छ ।’
निर्मला पन्त प्रकरण पछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भएपनि त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतीको विषय बनेको बताउनुभयो ।
पछिल्लो समय पेशेवर अपराधीबाट हुने अपराध भन्दा सामाजिक विकृतिको कारणले सिर्जित अपराध बढेको बताउँदै सुवेदीले भन्नुभयो, ‘पाँच सय हत्याका घटनामा गरेको विश्लेषणमा १ सय ५३ घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र तीस घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएको छ ।’ सामाजिक सञ्जालको दुरुपयोगले पनि हत्या हिंसाका घटना बढाएको तथा चालिस प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण हुने गरेको सुवेदीको भनाइ थियो ।
पछिल्लो समय बलात्कारजन्य घटनामा ६४ प्रतिशत पीडित १८ बर्ष भन्दा मुनिका बालिका भएको र उनीहरु घरपरिवार, नातागोता, छिमेकी, सहकर्मी, शिक्षक लगायतबाट नै बलात्कृत हुने गरेको सुवेदीको भनाइ छ ।
शान्ति सुरक्षा स्थापनाका लागि प्रहरी एक्लैले मात्रै केही गर्न नसक्ने भएकाले अपराधको प्रकृति र प्रवृत्ति हेरेर समुदायमा आधारित कार्यक्रम मार्फत जनचेतना फैलाउने काममा सहयोग गर्न सबै वर्ग र समुदायलाई आव्हान गर्नुभयो ।