मोहनप्रसाद मैनाली
संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा नेपालमै छ । सगरमाथाको काखमा रहेको सानो देश प्राकृतिक छटाले सुन्दर छ । उत्तर र दक्षिणमा विशाल देश चीन र भारत छन् ।
इतिहास साक्षी छ कि भारत युगौँसम्म अरुको अधीनमा थियो । चीन पनि अधिनस्थ नभएको होइन तर नेपाल कहिल्यै कसैको गुलामीमा बस्नु परेन । विश्वको सबैभन्दा पुरानो र कसैको अधीनमा नपरेको देश नेपाल हो भनेर चर्चा हुने गर्छ ।
नेपाल विभिन्न कारणले विश्वमा चर्चित भए पनि पर्यटनको दृष्टिबाट नेपालले खासै लाभ लिनसकेको छैन । यसको कारण प्राकृतिक सौंन्दर्यको मात्र भर पर्नु हो । आजको विश्व साँघुरो भइसकेको छ । थोरै समयमा धेरै कुराको लाभ लिने बानी मानवमा परेको छ ।
टोनी हेगन जस्ता विश्वप्रख्यात लेखक वर्षौं नेपाल बसेर, कुनाकुनामा पैदल पुगेर बस्तुस्थितिबारे पुस्तक नै लेखेका छन् । हेगनको पुस्तक पढेर नेपाल घुम्न आउने पर्यटक पनि लाखौँ पुगिसकेका छन् । तर नेपालमा आउने पर्यटकबाट हामीले आर्थिक लाभ भने जति लिनु पर्ने हो, त्यति लिन सकिरहेका छैनौँ । यो पुस्तकले नेपालको भौगोलिक अवस्था र यहाँको मानिसका संस्कृति, संस्कारबारे विदेशमा राम्रो प्रचारप्रसार गरेको छ ।
विश्वको नक्सा पल्टाउँदा नेपाल सानो धर्सो मात्र देखिन्छ । तर नेपालमा सबै देशमा पाइने धेरैजस्ता कुरा पाइन्छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा छ । हिमालयपर्वत पनि नेपालमै छन् । सम्म परेका फाँट भएको तराइको मैदानी भाग पनि नेपालमा छ । जलस्रोतको धनी पनि ब्राजिलपछि नेपाल दोस्रोमा पर्छ भनिन्छ । अपार जलस्रोतको धनी भएर पनि यसको सही प्रयोग भइरहेको छैन । यसको प्रयोग आउने पुस्ताले त अवश्य गर्ने नै छन् । पुराना मठमन्दिरले आदिमकालका सभ्यता र संस्कारलाई जीवन्तता प्रदान गरिरहेका छन् । पहाडका वन पैदावरमा जडिबुटी औषधिको भण्डार अपार छन् । यस्ता कुनै कुराबाट पनि हामीले थोरै मात्र लाभ लिइरहेका छौँ ।
एसियाको ज्योतिको उपनामले चिनिने गौतम बुद्धको जन्म नेपालमै भएको हो । राजा जनक र सीता पनि नेपालमा जन्मिएका हुन् । बौद्ध धर्मको जग नेपालबाट नै शुरुवात भएको हो । संसारबाट लोप हुँदै गएको एक सिंगे गैंडालगायत जनावर नेपालमा संरक्षित छन् । सयौँ प्रकारका चरा पनि यहाँ पाइन्छन् । धेरै कुराको विविधता भएको देशमा विकास निर्माणमा पछि पर्नु पक्कै पनि राम्रो होइन ।
प्रकृतिले दिएको संरचना ख्याल गर्दै आधुनिक विकास निर्माण गर्ने हो भने नेपाल संसारकै एक सुन्दर देश बन्न सक्नेछ, जहाँ विश्वका मानिस पर्यटक भएर मात्र होइन कि यहाँ स्थायी बसोबास गर्ने मनसायले पनि आउन सक्छन् । विकसित देश अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान जस्ता विकसित देशमा बस्न जाने नेपालमा बस्न लालायित हुन सक्नेछन् । प्रकृतिले सुन्दर बनाएको देशलाई हामी मानिसले भौतिक रुपमा अझ सुन्दर बनाउन सक्नु पर्दछ ।
प्रकृतिले दिएको सौंन्दर्यको झल्को दिने गरी नेपालको मुख्य स्थानमा ‘मिनी नेपाल’ बनाउने हो भने पर्यटनका विविध क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको समथर भूभागलाई प्रयोग गरी केही स्थानमा मिनी नेपाल बनाउनु पर्छ, जहाँ सम्पूर्ण नेपालको झल्को दिन सकियोस् ।
उदाहरणका लागि चितवनमा मिनी नेपाल बनाउने हो भने त्यहाँ नेपालको मुख्य धार्मिक तथा प्राकृतिक सम्पदाको भौतिक निर्माण आवश्यक हुन्छ । पशुतिनाथ, जानकी, मुक्तिनाथ, स्वयम्भूनाथ लगायत मुख्य धार्मिक मठमन्दिर तथा गोसाइँकुण्ड, राराताल, फेवाताल, माछापुच्छ्रे लगायतका प्राकृतिक सम्पदाको भौतिक निर्माण गरिनु पर्छ । जसबाट त्यहाँ पुग्ने पर्यटकलाई नेपालको मुख्य धार्मिक तीर्थस्थलको दर्शन तथा प्राकृतिक सम्पदा भ्रमण गरेको अनुभव प्राप्त गर्न सकुन् । मिनी नेपाल बनाउँदा विश्वका सुविधासम्पन्न तारे होटलदेखि साधारण घरबास (होम स्टे) सम्मका भौतिक निर्माण आवश्यक हुन्छ ताकि सबै आर्थिकस्तरका पर्यटक आफ्नै तरिकाको सुविधा लिएर बस्न सकुन् ।
नेपाल बहुजाति र बहुभाषिक नागरिकको बसोबास भएकाले संस्कार र संस्कृति तथा प्राकृतिक छटाको संयोजन गरेर निर्माण गरिएको मिनी नेपालबाट त्यस्ता पर्यटकले बढी लाभ लिन सक्नेछन्, जोसँग पैसा धेरै छ, तर नेपाल बसाइको ‘प्याकेज’ को समय छोटो छ । छोटो प्याकेज लिएर आएका पर्यटक नेपालको सबै भाग घुम्न नसक्ने हुँदा मिनी नेपाल भ्रमणबाट पूरै नेपाल घुमेको अनुभव लिन सक्नेछन् ।
नेपालमा पर्यटन विकासका लागि ढिलोचाँडो गर्नै पर्ने अर्को मुख्य काम भनेको पूर्व–पश्चिम सडकमार्ग जस्तै पूर्व–पश्चिम जलमार्गको निमार्ण पनि हो । अहिलेको नेपालको आर्थिक अवस्थाले काम गर्न नसक्ला तर कुनै कालखण्डमा यो अवश्य निर्माण हुन्छ । जलस्रोतमा विश्वकै दोस्रो धनी देश भनेर हामीलाई सानैदेखि पढाइयो । पूर्वदेखि पश्चिमसम्म उत्तरी क्षेत्रमा फैलिएका हिमशृङ्खलाबाट निरन्तर बग्ने पानी सदुपयोग गरेर पूर्व–पश्चिम जलमार्ग किन नबनाउने ? सरकारले जलमार्गको अवधारणा ल्याए स्वदेश तथा विदेशमा बस्ने नेपालीबाट ठूलो लगानी आउने सम्भावना रहन्छ ।
नेपालको पूर्व पश्चिमको १ हजार २८ किलोमिटर भूभाग पश्चिमबाट पूर्वतिर केही होचो हुँदै फैलिएको छ, जहाँबाट ठूला नदी बगेर भारततिर गइरहेका छन् । ती नदीलाई केही भौतिक संरचना विकास गरी व्यवस्थापन गर्दै पूर्वपश्चिम जलमार्गका रुपमा विकास गर्न सकिन्छ ।
नेपालको अहिलेको आर्थिक अवस्थाका कारण यस्तो योजना हावादारी परिकल्पना जस्तो लाग्न सक्छ । तर दुईसय वर्ष लगाएर चीनले बनाइएको ग्रेटवाल तथा हालैमात्र ब्रह्मपुत्र नदीको सयौँ किलोमिटर मार्ग परिवर्तन गरी पठार क्षेत्रमा गरिएको सिँचाइबाट गरे के हुँदैन र भन्ने जीवन्त उदाहरणका रुपमा लिन सकिदैन र ?
राज्यका योजना निर्माण गर्ने योजनाविद्ले इच्छाशक्ति बलियो बनाएर आँट मात्रै गर्ने हो भने दुईतीन पञ्चवर्षीय योजनामा यसलाई साकार रुप दिन सकिन्छ ।
पूर्व पश्चिम तराईमा एकहजार किलोमिटर लामो जलमार्ग निर्माण गरी यसमा पानीजहाज चलाउन सकियो भने भूपरिवेष्टित देशका लागि विश्वमै यो अनुकरणीय त हुन्छ नै अवलोकन गर्न आउने पर्यटकका कारण अर्थतन्त्र पनि छोटो अवधिमै विकसित र धनी देशको तुलनामा पुर्याउन सकिनेछ ।
नेपालको पर्यटन क्षेत्रमा जे जति उपलब्धी हासिल गरिरहेको छ, त्यो ९० प्रतिशत भन्दा बढी निजीक्षेत्रबाट नै भइरहेको देखिन्छ । तर निजी पर्यटन व्यवसायी राजधानी वा सुगम स्थानमा मात्र सीमित भइरहेको विषय नजरअन्दाज गर्न सकिँदैन । यसबाट दीर्घकालीन फाइदा कमै हुन्छ । यो अल्पकालीन वा पर्यटनको सिजनका लागि मात्रै हुन्छ ।
पर्यटन व्यवसायी मिलेर मिनी नेपाल अवधारणा अगाडि ल्याएर पर्यटन विकास गर्ने हो भने त्यस्तो स्थानमा आउने पर्यटनको कुनै सिजन हुँदैन । हरेक समय महत्वपूर्ण र मूल्यवान हुन्छ । सबै दिन पर्यटकले भरिएका हुन्छन् ।
यसका लागि पर्यटन व्यवसायीले सुगमको साँघुरो घेरा छिचोलेर टाढाबाट हेर्दा सानो धर्सो तर नेपालबाट हेर्दा विशाल देखिने गरी नेपालभर छरिएर पर्यटनको नयाँ अवधारणा विकास गरी पर्यटन व्यवसाय आवश्यक छ, जसबाट सरकार, पर्यटन व्यवसायी र सर्वसाधारणले दीर्घकालीन आर्थिक फाइदा लिई आर्थिकरुपमा सम्पन्न बन्न मुख्य भूमिका खेल्न सक्नेछ ।
००००