काठमाडौँ । सभासद तथा पुर्व सांसद अनारकली मियाको संसदमा पहिलो पाइला पुस्तक शनिबार काठमाडौँमा विमोचन गरिएको छ ।
रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, पुर्व मन्त्री शान्ता मानवी, ठाकुर चापागाई, लेखिका मिया लगायतले पुस्तकको संयुक्त विमोचन गरेका थिए ।
बिएन पुस्तक संसारका कार्यकारी प्रमुख सूर्य बीसीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै युवराज ज्ञवालीले भने –अनारकलीको जोडीले समाजका थोत्रा मूल्य मान्यताका विरुद्ध उदाहरणीय काम गरेका रहेछन् । समाज बदल्न चाहनेले सबैभन्दा पहिले आफू बदलिनु जरुरी छ । पुस्तक युवापुस्ताका लागि निकै नै प्ररणादायी देखिन्छ ।
मन्तव्यकै क्रममा ज्ञवालीले ‘पुस्तकको निकै राम्रो सम्पादन भएको’ भनी पुस्तक सम्पादक सूर्य बीसीको प्रशंसा समेत गरेका थिए ।
प्रमुख अतिथि पुर्व प्रधानमन्त्री माधव नेपालले संसदमा पहिलो पाइला पुस्तकमा अनारकली मियाले समाजसँग गरेको बिद्रोहदेखि सभासदसम्मका मिठा अनुभव रहेको बताए । साथै नेता नेपालले अझै पनि समाजमा अन्तर्जातिय बिबाहमाथि बन्देज कायम रहेको र यस्तो विडम्बना अन्त्य हुन जरुरी रहेको धारणा राखे ।
लेखिका अनारकली मियाले पुस्तक लेखनबारे आफ्ना अनुभव सुनाएकी थिइन् । कार्यक्रममा शान्ता मानवी, ठाकुर गैरे लगाएतले शुभकामना मन्तव्य राखेका थिए । बिएन पुस्तक संसारका अध्यक्ष ठाकुर चापागाईको सभापतित्वमा सञ्चालित कार्यक्रम पत्रकार आस्था केसीले सञ्चालन गरेकी थिइन् ।
बिएन पुस्तक संसारले बजारमा ल्याएको पुस्तकको बजार मूल्य २ सय ७५ रुपैँया रहेकोछ ।