काठमाडौं । राजधानीबाट सोमबार प्रकाशित विभिन्न अखबारले फरक–फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।
आइतबार जनतासमाचार डटकम मा अब मोटरसाइकल र स्कुटरमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने, ‘संसदमा पहिलो पाइला’ विमोचित, वैज्ञानिक व्यवस्थापनमा सामुदायिक वन, नेपाल पत्रकार महासंघद्वारा सशक्त आन्दोलनको घोषणा, उल्टोतिर मुटु, झस्किए डाक्टर र सामाजिक सञ्जाल दुरुपयोगबाट हिंसा वृद्धि लगायतका राजनीतिक, सामाजिक, खेलकुद र आर्थिक सम्बन्धि समाचार प्रकाशित भए ।
१८ हजार रोपनी जग्गा भएको आनाकै लाखौं पर्ने पशुपतिनाथको १७ हजार रोपनीको आम्दानी जम्मा ७४ लाख मात्र भएको उल्लेख गर्दै अन्नपूर्ण पोष्ट् दैनिकले ‘अन्यायमा पशुपतिनाथ’ शीर्षकमा प्रमुख समाचार छापेको छ । समाचारअनुसार १ हजार १ सय २६ रोपनी जग्गा उपभोग गर्ने त्रिभुवन विमानस्थलले भने वर्षको १ करोड तिर्दै आएको छ । नेपालको अध्यागमन सुरक्षामा अमेरिकी चासो देखिएको र छुट्टाछुट्टै दुर्घटनामा १५ को मृत्यु जस्ता समाचार पनि पत्रिकाले समेटेको छ ।
गोरखापत्र दैनिक ले ‘आजबाट अप्टिकल फाइबर बिछ्याइँदै’ शीर्षकमा प्रमुख समाचार प्रकाशन गर्दै प्रधानमन्त्री केपी ओलीले धादिङको गल्छि गाउँपालिकास्थित मासटारबाट सोमबार अप्टिकल फाइबरको औपचारिक सुरुवात गर्ने उल्लेख गरेकाे छ । ३२ जिल्लामा २ वर्षभित्र अप्टिकल सञ्जाल विस्तार गरेर डिजिटल नेपालको आधार बन्ने अपेक्षा गरिएको छ । यसैगरी ‘मिडिया काउन्सिल विधेयक समयानुकुल रहेको पत्रकारीता क्षेत्रका विज्ञ तथा नेतृत्वकर्ताहरुले बताएको र लापरबाही गर्दा रेबिजले ज्यान लिने समाचार प्रथम पृष्ठमै समेटिएका छन् ।
‘त्रिदेशीय सीमाक्षेत्र व्याँस राज्य संयन्त्रबाहिर’ शीर्षकमा नागरिक दैनिक ले सुरक्षा पोष्ट स्थापनासम्बन्धी विषयलाई मुख्य समाचार बनाएको छ । सत्तारुढ नेकपाको एकता : एकता की गठबन्धन शीर्षकमा आइतबार नागरिक दैनिकले आफ्नो सम्पादकिय नै पहिलो पृष्ठमा छापेको छ । यसैगरी मिडिया काउन्सील संशोधन गर्न दबाब र सडक दुर्घटनामा १८ जनाको मृत्यु जस्ता समाचारहरु पनि पत्रिकाको प्रथम पृष्ठमा समेटिएका छन् ।
नेपाल बाल संगठनको मालीगाउँस्थित पक्की भवनमा प्रहरी कार्यालय सार्ने तयारी गरिएको प्रसंगलाई उठाउँदै नयाँ पत्रिका ले ‘बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी’ शीर्षकमा मुख्य समाचार छापेको छ । शिक्षाका लागि खाद्यान्न कार्यक्रम सञ्चालित मालीगाउँको भवनमा कमलपोखरी प्रहरी वृत्त सार्न लागिएको छ । यसैगरी, नारायणहिटी हत्याकाण्डमा राजा वीरेन्द्रका एडिसी सुन्दरप्रताप रानाले जे देखे....भन्ने विषयमा उनले लेखेको दरबारको दुखान्त पुस्तकबारेको समाचार पनि पहिलो पृष्ठमै छापिएको छ ।
विश्व मौरी दिवसको अवसरमा ‘विश्व बचाउन मौरी संरक्षण’ र प्रदेश ३ मा राजस्व संकलन नाजुक लगायतका समाचारलाई कारोबार दैनिक ले मुख्य समाचारको रुपमा प्रकाशन गरेको छ ।