दुई ठूला कम्युनिष्ट घटक मिलेर बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकता पूर्ण रुपमा टुंग्याउने चरणमा छ । दुई पार्टी एकतालाई अहिलेको अवस्थासम्म ल्याउन वरिष्ठ नेता झलनाथ खनालको उल्लेखनीय योगदान छ । उहाँ नेता तथा कार्यकर्तालाई सांगठनिक मात्र होइन, विचार र मनोविज्ञानको सुत्रमा समेत बाँध्नुपर्ने जटिलता रहेको बताउनुहुन्छ । एकताकै क्रममा शीर्ष नेतृत्वबीच केही असहमति र असन्तुष्टि समेत देखिएको थियो । तर अहिले भने त्यो क्रमिक रुपमा साम्य हुँदै गएको छ । नेकपाले एकता पूर्णतापछि पार्टीको सिद्धान्त कार्यान्वयनमा जोड दिने योजना बनाएको छ । वरिष्ठ नेता खनालले यही पेरिफेरिमा नरेश न्यौपानेसँग गर्नुभएको विशेष कुराकानी :
केही नेताले जनवर्गीय संगठनको नेतृत्व तोकिएसँगै एकताको काम सकियो भन्ने तर्क गरिरहेका छन, यहाँलाई के लाग्छ ?
हो, पार्टीका जिल्ला कमिटी, जनसंगठनको नेतृत्व चयन भएर अब तल तल एकता सम्पन्न गर्ने बाटो खुलेको छ । सबै जिल्लामा कमिटी एकाकार हुने स्थिति सिर्जना भएको छ । जनवर्गीय संगठनको एकतामा ढिलाई भइरहेको थियो । जेठ ३ गतेसम्म आइपुग्दा यसमा ढिलाई गर्न नहुने निष्कर्शमा पुगेपछि जनसंगठनको नेतृत्व टुंगो लगाइएको छ । पार्टी एकताका लागि यो नयाँ स्टेप हो र अग्रगामी छ । अब पार्टी पूर्ण रुपमा एकतावद्ध हुने आधार तयार भएको छ । यद्यपि हामीले तोकेको कमिटीको संख्या र संरचना कस्तो बनाउने ? भन्ने बारे प्रक्रिया निर्माण र त्यो टुंगो लगाउने निकायको गठन गर्ने काम बाँकी छ ।
तोकिएका संयोजक र सहसंयोजकले मात्रै सम्पूर्ण कमिटीको टुंगो लगाउन मिल्छ कि मिल्दैन ? प्रश्न उठेको छ
यहाँले जनसंगठनको एकतालाई अग्रगामी स्टेप भन्नुभयो तर केही नेता तथा कार्यकर्ताले विधिसम्मत नभएको भन्ने गुनासो गरेको सुनिन्छ नि ?
कार्यकर्तामा रहेको गुनासो जायज छ । हामीले कार्यकर्तालाई दिने भनेको पनि विधि नै हो । विधिसँग सम्बन्धित निर्णय भइसकेको छैन । उदाहरणको लागि हामीले अनेरास्ववियुको २ सय ५१ सदस्यीय कमिटी बनाइने निर्णय गरेका छौं तर त्यो कुन निकायले बनाउने भनेर विधि बनाइसकेका छैनौं । तोकिएका संयोजक र सहसंयोजकले मात्रै सम्पूर्ण कमिटीको टुंगो लगाउन मिल्छ कि मिल्दैन ? प्रश्न उठेको छ । त्यसैले कमिटी पूर्णताका लागि हामीले कुनै संस्थागत संरचना निर्माण गर्ने सोच बनाएका छौं । यसका लागि कस्तो विधि बनाउने ? भनेर छलफल हुन बाँकी छ । अब बस्ने सचिवालय बैठकमा त्यो बारे निर्णय हुन्छ ।
सचिवालयले गरेका निर्णय बाहिर आएपछि विवाद हुने गरेको छ, यस्तो किन हुन्छ ?
विभिन्न पृष्ठभूमिबाट आएका फरक फरक मनोविज्ञानका मानिस त्यहाँ छौं । त्यहाँ आ–आफ्ना लिगेसी अहिले पनि कायम नै छन् भन्ने हामीले बिर्सनुहुँदैन । यही विविधताभित्र हामीले सकेसम्म एउटा ‘कमन ग्राउण्ड’ बनाउने कोशिस गरिरहेका छौं । निर्णय गर्दा अलिअलि विगतका लिगेसीको पनि भूमिका देखिने गर्छ । त्यसैले नेताहरुका अभिव्यक्तिमा पनि केही तलमाथि हुने गरेको छ ।
सचिवालय पनि समूहबन्दी भएको देखिन्छ , के पुराना लिगेसीकै कारण त्यस्तो भएको हो ?
पार्टी जतिजति एकीकृत हुँदै जाँदैछ त्यति त्यति एकीकरणको सवालमा पार्टीको नीति, सिद्धान्त र कार्यदिशामा पुनगर्ठित गरेर जाने अवस्था सिर्जना हुँदैछ । पार्टीमा हिजाको समिकरण बदलिँदै पनि छ । अलगअलग पार्टी रहेको बेलाका समिकरण करिब करिब टुटिसकेका छन् । नयाँ पार्टी निर्माणका क्रममा हिजोका समिकरण रहन्छन् कि रहँदैनन् भन्ने जुन प्रश्न छ, मेरो विचारमा अब ती समिकरण रहँदैनन् । या त नयाँ समिकरण बन्छन् या पार्टी विल्कुल वैचारिक र संगठनात्मक ढंगले एकीकृत रुपमा अगाडि बढ्छ ।
अब पार्टीको वैचारिक लाइन के हुन्छ ? अध्यक्ष प्रचण्ड र सचिवालयका सदस्य ईश्वर पोखरेलबीच सार्वजनिक मञ्चमै घोचपेच चलेको देखियो । नेकपामा वैचारिक बहस शुरु भएको हो ?
हामीले अब पार्टीको एकता महाधिवेशन अर्थात् दशौं महाधिवेशन गर्नुपर्नेछ । एकताको महाधिवेशन अघि स्वभावैले गम्भीर बहस र छलफल हुन्छन् नै । यो सहमतिको महाधिवेशन पनि हुन्छ । एकातिर गम्भीर बहस गर्नुपर्नेछ भने अर्कोतिर सहमतिका साथ पार्टीलाई गति दिनुपर्नेछ । यी दुई विपरित विषय पनि हुन् । बहस र विवाद हुँदै गएपनि प्रतिस्पर्धा चर्किएर जान पनि सक्छ । तर प्रतिस्पर्धा चर्कियो भने सहमति नहुन पनि सक्छ । प्रतिस्पर्धा र सहमतिसँगै पार्टीलाई अघि बढाउनुपर्छ । बहसलाई खुल्ला पनि गर्दै जाने र सहमति पनि कायम गर्दै जाने गर्नुपर्छ ।
पुच्छरै बन्नुपर्छ भने विचार, दर्शन, नीति, सिद्धान्त र कार्यदिशाको बनौं । पार्टी एकीकरणको कार्यदिशा आठौं महाधिवेशनले नै पारित गरेको हो
अब वैचारिक रुपमा नेकपाले कस्तो बाटो तय गर्ला ?
मुलुकमा नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको छ । अब हामी समाजवादी रुपान्तरणको बाटोतर्फ अग्रसर हुन्छौं । अहिले हामीले समृद्ध नेपाल, सुखी नेपाली भनिरहेका छौं, त्यो भनेको समाजवादी नेपाल बनाउने भनेको हो । मुलुकलाई समाजवादी बनाउन सक्यौं भने देश समृद्ध बन्छ र जनता सुखी हुन्छन् । यसकारण अब हामीले बिल्कुल नयाँ बाटो हिँड्ने हो । ५६ वर्षसम्म एउटा बाटो हिँड्यौं । त्यसपछिको १० वर्ष एउटा बाटो हिँडेर आयौं र जुन संक्रमणकाल जस्तो पनि रह्यो । त्यसैले अब हामी हिँड्ने भनेको नेपाली समाजका यथार्थताका आधारमा माक्र्सवाद र लेनिनवादका आधारभुत सिद्धान्तलाई सिर्जनात्मक ढंगले परिमार्जन गर्दै अघि बढ्ने हो । समाजवादी रुपान्तरणका कार्यदिशा, नीति र विचारलाई हामीले नयाँ ढंगले विकास गर्नुपर्नेछ । यो विल्कुल नयाँ चउर हो । यो चउर खनेर हामी अगाडि बढ्नुपर्छ । कतैको बनिबनाउ भन्दा पनि नेपाली समाजवाद निर्माण गर्ने बाटो हामी आफैले तय गर्नुपर्छ ।
त्यसो भए पार्टी एकताको रफ्तार बढेसँगै नेताहरुबीच घोचपेच शुरु हुनु स्वभाविकै हो ?
नेपालको लोकतान्त्रिक र सिंगो कम्युनिष्ट आन्दोलनलाई तत्कालीन नेकपा एमालेको आठौं महाधिवेशनको धाराले नै गाइड गरिरहेको छ । समाजवादतर्पm जानुपर्छ भन्ने आजको विचारलाई त्यही धाराले मार्गदर्शन गरिरहेको छ । त्यो लाइनको पक्षधर संख्या बढिरहेको छ । फेरि पनि हामी कोही व्यक्तिको पछाडि लाग्नेभन्दा पनि विचारमै एकतावद्ध हुनुपर्छ । व्यक्तिको पुच्छर बन्नुहुँदैन, म झलनाथ खनालको पछाडि भन्दा पनि विचारको पछि लाग्न सबैलाई अनुरोध गर्छु । पुच्छरै बन्नुपर्छ भने विचार, दर्शन, नीति, सिद्धान्त र कार्यदिशाको बनौं । पार्टी एकीकरणको कार्यदिशा पनि आठौं महाधिवेशनले नै पारित गरेको विषय हो । पार्टीको आगामी पुस्ता मानिने युवाविद्यार्थीले पनि यो विषयमा ध्यान दिनुपर्छ ।
आठौं महाधिवेशनको धाराले उठाएका खास विषय के थिए ?
पहिलो कुरा, आठौं महाधिवेशनले नेपाली क्रान्ति २०६२, ०६३ को जनआन्दोलनसँगै पूरा भयो र त्यो जनवादी क्रान्ति थियो भनेको थियो । र अब हामी समाजवाद निर्माणको दिशातिर जानुपर्छ भनेर स्पष्ट गरेको थियो । दोस्रो, महाधिवेशनले नेपालमा अब सामन्तवाद वर्गीय रुपमा रहेन । सामन्तवाद उन्मुलन भयो भनेर उद्घोष पनि गर्यो । जमिन्दार वर्ग उन्मुलन भयो । हामीले अब यहाँ प्रारम्भिक किसिमको पुंजीवाद बाँकी छ भन्यौं । त्यस्तै यस्तो खाले पुंजीवादी समाजमा गरिने क्रान्ति भनेको समाजवादी क्रान्ति हो भनेर हामीले दस्तावेज लेख्यौं । समाजवादी क्रान्ति सँगसँगै विकास निर्माणको बाटोमा जानुपर्छ भनेर निष्कर्ष निकालियो । नवौं महाधिवेशनमा त्यही विचार र कार्यदिशाको थप विस्तार गरियो । नवौं महाधिवेशनको दस्तावेज पनि म आफैंले लेखेको हुँ । आठौं महाधिवेशनका विचार नवौंमा झन् व्यवस्थित गरिए ।