पुष्पराज अधिकारी
हेटौंडा । प्रदेश नम्बर ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाबाट आजबाट सवारी चालक अनुमति पत्रको नवीकरण सेवा शुरु भएको छ ।
हेटौंडा ११ थानाभर्याङमा रहेको कार्यालयबाट सवारी चालक अनुमतीपत्र नवीकरण गराउन थालिएको हो । यसअघि बिरगञ्ज र काठमाडौं धाउँदै आएका मकवानपुर र चितवन जिल्लाका मानिसहरुले अब प्रदेश राजधानी हेटौंडाबाटै नवीकरण गर्न पाउने भएका छन् ।
यातायात व्यवस्था सेवा कार्यालयले आज २६ जनालाई स्मार्ट कार्डको सवारी चालक अनुमति पत्रको नबिकरण गरेर वितरण गरेको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री डोरमणि पौडेलले आज सेवाग्राहीका रुपमा माधब अधिकारी, रमेश कुमार उप्रेती, ऋषिराम घिमिरे लगायतकालाई सवारी चालकको नबिकरण पत्र हस्तान्तरण गर्नुभयो ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रमा कसैले पनि औला नठड्याउने गरी काम गर्न प्रदेश सरकारले सुरु गरेको बताउनुभएको छ । उहाँले यातायात व्यवस्था कार्यालयबाट दिनहुँजसो आफूलाई अनियमितताका फोन आउने गरेको भन्दै काठमाण्डौं र बिरगञ्जमा जस्तो अनियमितता हेटौंडाबाट हुन नदिने बताउनुभयो ।
हेटौंडाको कार्यालयबाट नयाँ सवारी दर्ता, कर नवीकरण, सवारी पञ्जिकरण, रुटपरमिट नवीकरण, जाँच पास लगायतका काम सुरु गरिएको कार्यालयका शाखा अधिकृत सुरेशकुमार चपाईले बताउनुभयो । कार्यक्रममा प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झाले काम सुरु गर्नका लागि ठूलो कुरा नभई अब यो सेवाले निरन्तरता पाउनुपर्ने बताउनुभयो ।