रोजन तामाङ
काभ्रे । पनौती नगरपालिका कृषि तथा पशुपंक्षी शाखाले कृषक समूहलाई उन्नत जातको बोका वितरण गरेको छ ।
पहिलो चरणमा नगरपालिकाले केही वडालाई प्रतिनिधिमुलक बोयर क्रस जातको बोका वितरण गरिएको पशुपंक्षी शाखाले जनाएको छ ।
प्युठानबाट नगरपालिकाले खरिद गरेर ल्याएका बोका बिहीबार किसान समूहलाई नगर प्रमुख भिम न्यौपानेले वितरण गर्नुभयाे। नगरभित्र वडा नं १,२,६,९ र १२ का किसान समूहलाई बोका वितरण गरिएकाे नगरपालिकाले जानकारी दिएकाे छ । नगरपालिकाले बाख्रा पालक किसानको उत्पादनमा वृद्धि गर्नका लागि यस्तो योजना ल्याएको मेयर भिम न्यौपानेले बताउनुभयो ।
'वितरण गरिएको बोकामा नगरपालिकाले ७५ प्रतिशत अनुदान दिएको छ', मेयर न्यौपानेले भन्नुभयाे, 'बाँकी २५ प्रतिशत किसान समूहले तिर्नु पर्छ ।' नगरपालिकाकाे पहलमा प्राविधिककाे टाेली प्युठानसम्म पुगेर बाेयर जातकाे बाेका खरिद गरी कृषक समूहलाई वितरण गरिएकाे नगरपालिकाले जानकारी दिएकाे छ ।
नगरकाे कृषि तथा पशुपंक्षी शाखाले गोठ सुधार, टाट्नो सुधार, घाँस स्रोत केन्द्र, च्याफ कटर, बंगुर प्रवर्द्धन, मासु पसल सुधार, डेरी पसल सुधार आदिमा अनुदान दिन थालेको मेयरले बताउनुभयो ।
यस्तै प्लास्टिक हाउस (तरकारी र च्याउ), क्रेट, इलेक्ट्रिकल स्प्रेयर, मौरी घार, मेटल बिनमा पनि अनुदान दिन थालेकाे नगरपालिका कृषि शाखाले जनाएको छ ।