काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले भारतीय लोकसभा निर्वाचन, मुलुकको राजनीति, अर्थ, समाज र अपराध लगायतका बिषलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन् । सांसदहरुमा पढ्ने बानी नभएको समाचार पनि प्राथमिकता पाएको छ । पत्रपत्रिकाले अन्य फरक फरक विषय पनि समेत समेटेका छन् ।
शुक्रबार जनता समाचार डटकममा सगरमाथाको उचाइ मापन पूरा, राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषदमा, ४ करोड भारतीय नोटसहित युनुस अन्सारी पक्राउ, अन्तर्राष्ट्रिय कराते प्रतियोगिता, अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा श्रृंखला, तनावग्रस्त डोकेबजार सामान्य बन्दै, दुई वर्षमा ३७ कानुन निर्माण र जेसीबीले ढालेको रुखले लागेर बालकको मृत्यु लगायतका राजनीतिक, सामाजिक, आर्थिक र खेलकुद सम्बन्धी समाचार प्रकाशित भएको छ ।
नयाँ पत्रिका दैनिकले संसदमा लाइब्रेरी रहेको तर सांसदहरुले पठनपाठनमा खास्सै चासो लिने नगरेको समाचार प्रकाशित गरेको छ । संसद लाइब्रेरीमा ४० हजार पुस्तक तर, छिर्दैनन् सांसद शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचार अनुसार, सांसद्का लागि राजनीति, साहित्य, इतिहास, कूटनीति, कानूनलगायतका ४० हजार पुस्तक संसद् पुस्तकालयमा राखिएका छन् । तर अध्ययनका लागि पुस्तकालय छिर्ने सांसदको संख्या अत्यन्तै कम रहेको पाइएको छ ।
कान्तिपुर दैनिकले देशको बढ्दो व्यापार घाटाबारे शीर्ष समाचार छापेको छ । समाचारमा १० महिना अवधिमा ११ खर्ब घाटा भएको खुलाएको छ । समाचारमा विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरता मुलुकको व्यापार घाटा वृद्धिको मुख्य कारण रहेको उल्लेख गरिएको छ । पत्रिकाले भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भयो । त्यसमा आयात ११ खर्ब ७८ अर्ब १३ करोड र निर्यात ७८ अर्ब ५३ करोड रुपैयाँको भएको छ । जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको छ । यसैगरी नेपाली नाम जुराउनै गाह्रो शीर्षकको शीर्ष समाचार पनि प्रथम पृष्ठमै प्रकाशित गरिएको छ ।
नागरिक दैनिकले २ खर्बको सरकारी सम्पत्ति गुम्ने खतरा शीर्षकमा मुख्य समाचार छापेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले ०७५ वैशाख १९ गते गरेको फैसला नसच्चिए करिब १२ सय ९८ रोपनी सरकारी जग्गा गुम्ने खतरा बढेको समाचारमा उल्लेख छ । त्यस्तै पत्रिकाले आफन्तै हिंस्रक शीर्षकमा सामाजिक अपराधको प्रवृत्ति बढिरहेको विषय पहिलो पृष्ठमै प्रकाशित गरेको छ ।
गोरखापत्र दैनिकले ओझेलमा शहरी गरिबी समाचार शीर्षकमा समाचार छापेको छ । गरिबी बढेको र त्यसले विभिन्न झैझगडालगायतका समस्या सिर्जना हुन थालेको विषय उठाइएको छ । यसैगरी, नेपालका विदेश मामिला विज्ञहरुले भारतमा मोदीको पुनरागमनसँगै कुटनीतिमा फेरबदल नहुने विश्वास गरेको विषय पनि समाचारमा समेटिएको छ ।