रोजन तामाङ
काभ्रे । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो हुलिया काभ्रेली जनताले बनाइदिएको बताउनु भएको छ ।
‘केही बौद्धिक र सम्मानित नागरिकले मेरो हुलिया खोज्दै हुनुहुन्छ’, बास्कोटाले भन्नुभयो, ‘गरिब र सर्वहारा भूमिहिनको समृद्धिका लागि यो ज्यानको हुलिया निर्वाचनमा काभ्रेली जनताले देशभरकै दोस्रो मत दिएर बनाइदिएको थाहा नभएको हो ?’
बनेपामा आयोजित डाडापारी सन्देश साप्ताहिकको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मिडिया काउन्सिल विधेयकका प्रसंगमा समाचार लेखेकै कारण पत्रकारलाई अप्ठ्यारो नपर्ने प्रष्ट पार्नु भयो ।
‘विज्ञसँग छलफल र परामर्स गरेर आम सञ्चार ऐन पनि ल्याउने तयारी भएको छ’, बास्कोटाले भन्नुभयो, ‘ठूला मिडिया र साना मिडिया सँगै बाँच्न पाउनु पर्ने भएकाले समानुपातिक विज्ञापन प्रणालीका लागि कदम उठाएको हुँ ।’ जनतालाई भ्रममा राखेर शब्दमा उचालिने काम भइरहेको भन्दै बास्कोटाले न्युनतम पारिश्रमिक कायम गरौं भन्दा हुँदैन भनेर वकालत र वहस गर्नेहरूले कुन मानवअधिकार, लोकतन्त्र र गणतन्त्रको कुरा गरेका होलान् भन्ने प्रश्न गर्नु भयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य गंगाबहादुर दोङ, पूर्व ऊर्जा राज्यमन्त्री सूर्यमान दोङ, प्रदेश सभा सदस्य चन्द्रबहादुर लामा, रत्न ढकाल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस युनियनका अध्यक्ष कपिल कोइराला लागयतले सञ्चार क्षेत्रले विकास निर्माणमा पुर्याउने योगदान बारे चर्चा गरेका थिए ।