नारायण थापा
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दुई तिहाइ कम्युनिष्ट सरकारको गन्तव्य समाजवाद भएको बताउनु भएको छ ।
मदन भण्डारी एसियाली विद्यालयले शुक्रबार खरिपाटीमा सञ्चालन गरेको २१ दिने शैक्षिक तालिमको समापन कार्यक्रममा नेता श्रेष्ठले मार्क्सवाद र समाजवादबाट मात्रै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुने उल्लेख गर्नुभयो ।
‘कम्युनिष्ट नेतृत्वबाटै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकास तिव्रत्तर रुपमा सम्भव हुन्छ’, श्रेष्ठले भन्नुभयो, ‘हरेक क्रान्तिले नयाँ रुपान्तरणको सिर्जना गर्छ ।’ समाजवाद उन्मुख कम्युनिष्ट पार्टीको नेतृत्वले मुलुकको समृद्धि र आर्थिक विकासको जिम्मेबारी लिएको श्रेष्ठको भनाइ थियो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले समृद्ध नेपाल र सुखी नेपाली बनाउँनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनु भयो । वर्तमान सरकारले जनताको मन र भावना बुझेर समृद्ध नेपालको परिकल्पना पुरा गर्ने मन्त्री थापामगरको भनाइ थियो ।
कार्यक्रममा नेकपा नेता बलराम बाँस्कोटा, सोम मिश्रलगायतले मदन भण्डारी एसियाली विद्यालय कम्युनिष्ट नीति, दर्शन र सिद्धान्त पढ्न, बुझ्न र जान्न पाउने अवसरका रुपमा स्थापना भएको बताउनुभयो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुले मदन भण्डारी एसियाली विद्यालयबाट मार्क्सवाद र समाजवादी सिद्धान्तका साथै त्यसको प्रयोगका बारेमा उत्कृष्ट अनुभव र ज्ञान हासिल भएको बताउनु भएको थियो ।
तालिममा ब्राजिल, चीन, मोरक्को, मलेसिया, अर्जेन्टिना, इटली, भेनेजुयला, इन्डोनेसिया, पाकिस्तान, जाम्बिया, नेपाल, श्रीलंका, दक्षिण अफ्रिकालगायत १४ मुलुकका ५० जनाकाे सहभागी रहेको आयोजकले बताएका छन् ।